विश्व

एनआरएनएको युवा संयोजक उम्मेदवार अधिकारी भन्‍छन् : नयाँ पुस्तालाई व्यापक सहभागिता बढाउन पहल गर्नेछु

इकागज |
असोज २८, २०८० आइतबार १८:८ बजे

काठमाडौँ- वैदेशिक रोजगारीमा जान चाहने नेपालीलाई तालिम केन्द्र सञ्चालन गरिने एनआरएनएको आइसीसी युवा संयोजक रविन अधिकारीले बताएका छन् । सम्बन्धित देशका एनआरएनए एनसीसीहरूसँग समन्वय गरी दक्षता हासिल गरेको क्षेत्रमा रोजगारका लागि पहल गर्ने उनले बताए ।

‘सबल एनआरएनए आजको आवश्यकता, युवा र नयाँ पुस्ताको वृहत् सहभागिता’ भन्ने मुल भावनालाई समेटेर अगाडि बढ्ने उनको भनाइ छ ।  संघमा युवा र नयाँ पुस्तालाई व्यापक सहभागिता बढाउने विशेष योजना ल्याइ कार्यान्वयन गराउने प्रतिबद्धता जनाए ।


प्रवासमा रहेका युवाहरूलाई खेलकुदको माध्यमबाट जोड्न एनआरएनए युवा खेलकुद कोष स्थापना गर्ने उनले जानकारी दिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली खेलाडीहरूलाई प्रोत्साहित गर्दै सहयोग पुर्याउने योजना ल्याइ कार्यान्वयन गराउन पहल गर्ने उनले बताए ।

‘विदेश आएका कतिपय नेपाली युवाहरू आज विभिन्न खालको कुलत र समस्या पनि फसिरहेका छन्,’ उनले भने, 'उनीहरूलाई खेल लगायत विभिन्न सांस्कृतिक मनोरञ्जन कार्यक्रमबाट सकारात्मक सोच वृद्धि गराउनु र सही मार्गमा हिँडाउनु आज हामी सबैको लागि चुनौती र दायित्व पनि हो । यसमा मेरो जोडदार प्रयास रहनेछ ।‘

आइसीसी र एनसिसी बीचका युवाहरूलाई संयोजन गरी आपसी सहयोग अभिवृद्धि गर्ने अधिकारीले बताए । विभिन्न समस्या समाधानका लागि आइसिसीको तर्फबाट एनसिसीका युवा संयोजकहरूलाई समेटी एक संयन्त्र गठन गर्न प्रयत्न गर्ने उनले उल्लेख  गरे । एनसिसीका युवाहरूको भावनालाई आइसीसीसम्म पुर्याउन प्रयत्न गर्ने उद्घोष गरे ।

‘विदेशमा रहेको दोश्रो वा तेश्रो पुस्ताका युवा वर्गलाई नेपालको भाषा, संस्कार, संस्कृति, नेपालीपन र नेपाली माटोसंग भौतिक र भावनात्मक रूपमा जोड्न भाषा, संस्कृति प्रवर्द्धन र जगेर्नाका लागि विभिन्न कार्यक्रमहरू संचालन गर्नेछु,’ अधिकारी भन्छन् ।

‘नेपालीका लागि नेपाली र एकपटकको नेपाली सधैंको नेपाली' भन्ने संघको मूल नाराको भावना बमोजिम सधैं क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।


Author

थप समाचार
x