विश्व

के हो भारत र क्यानडाबीचको विवादको चुरो ?

सञ्जीव शाह |
असोज २, २०८० मंगलबार १५:५१ बजे

काठमाडौँ- खालिस्तान टाइगर फोर्सका प्रमुख हरदीप सिंह निज्जरको क्यानडामा भएको हत्यामा भारत सरकारको हात रहेको क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आरोप लगाएपछि क्यानडा र भारतबीचको तनाव विस्तारै उत्कर्षमा पुगेको छ ।

हरदीपको गत १८ जुनमा क्यानडाको एक गुरुद्वारा बाहिर गोली हानी हत्या गरिएको थियो । हरदीपको हत्या भएको महिनौंपछि क्यानडाका प्रधानमन्त्री जस्टिनले उक्त घटनामा भारत सरकारको हात रहेको आरोप लगाएका हुन् ।


ओटावाको हाउस अफ कमन्समा बोल्दै जस्टिनले उक्त आरोप लगाएको द गार्जियनले जनाएको छ ।

जस्टिनले जनाएअनुसार क्यानडाको सुरक्षा एजेन्सीहरुले क्यानेडियन नागरिक हरदीपको हत्यामा भारतीय सरकारी एजेन्टहरुको हात रहेको तथ्यसहित अनुसन्धान गरिरहेका छन् ।

२०२२ मा पञ्जाबको जालन्धरको भारसिंहपुर गाउँमा एक हिन्दू पुजारीको हत्या गरेको आरोप लागेपछि भारतको नेसनल इन्भेस्टिगेसन एजेन्सी (एनआईए) ले हरदीपको बारेमा जानकारी दिनेलाई १० लाख रुपैयाँ पुरस्कार घोषणा गरेको थियो। त्यसैगरी, एनआईएले हरदीपमाथि भारतविरुद्ध आतंकवादी गतिविधि गर्ने षड्यन्त्र गरेको आरोपमा मुद्दा दायर गरेको थियो । यसैलाई लिएर भारत र क्यानाडाबीचको सम्बन्ध पछिल्लो समय चिसिएको छ ।

मंगलबार नै भारतीय सरकारको प्रवक्ताले क्यानडाका प्रधानमन्त्री जस्टिनले लगाएको आरोप निराधार र अरुबाट उत्प्रेरित रहेको आरोप लगाए ।

को हुन् हरदीप सिंह निज्जर ?

हरदीपसिंह भारतको पञ्जाब राज्यलाई छुट्याएर खालिस्तान नामक देश बनाउने अभियान चलाएका थिए । त्यसपछि उनलाई भारतको सर्वाधिक खोजीको सूचीमा राखिनुका साथै सन् २०२० को जुलाईमा आतंकवादी घोषणा गरियो ।

क्यानडाको वर्ल्ड सिख अर्गनाइजेसन अफ क्यानडाले जनाएअनुसार क्यानडाको एक गुप्तचर एजेन्सीले हरदीपको हत्या हुन सक्ने चेतावनी दिएका थिए ।

भारतको पञ्जाब राज्यमा करिब ५८ प्रतिशत शिख तथा ३९ प्रतिशत हिन्दुको बसोबास छ र सन् १९८० र १९९० को दशकमा खालिस्तान देशको माग गर्दै दंगा भएको थियो । उक्त दंगामा हजारौंको ज्यान गएको थियो ।

अहिले विदेशमा बस्ने शिख समुदायले खालिस्तानको माग गरिरहेका छन् ।

 

क्यानडाको शिख समुदायमाथि भारतको चासो किन बढी ?

क्यानाडामा भारतीय मूलका मानिसको जनसंख्या ठूलो छ । चार करोड जनसंख्या मध्ये भारतीय मूलका मानिसको संख्या क्यानाडामा १४ लाख रहेको तथ्यांक छ । सन् २०२१ को जनगणनाअनुसार ती मध्ये ७ लाख ७० हजार शिख समुदायका रहेका छन् ।

भारतको पञ्जाबबाहेक सबैभन्दा बढी शिख समुदायका मानिस क्यानाडामा बस्ने गरेका छन् ।

भारतले समय-समयमा क्यानडामा भारतविरोधी क्रियाकलाप भइरहेको भन्दै क्यानडाको सरकारसमक्ष गुनासो गर्दै आएको छ ।

सन् १९८४ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको आफ्नै अंगरक्षकबाट भएको हत्यालाई लिएर क्यानडामा प्यारेड गरिएको भन्दै गत जुनमा भारतीय विदेश मन्त्रीले क्यानडा सरकारको आलोचना गरेका थिए ।

सन् २०१८ मै क्यानडाका प्रधानमन्त्री जस्टिनले क्यानडाले भारतमा कुनै आन्दोलनको सुरुवातका लागि सघाउने नगरेको भन्दै क्यानडाले व्यक्तिको वाक स्वतन्त्रताको सम्मान गर्ने बताएका थिए ।

यसले भारत र क्यानाडाको सम्बन्धमा पारेको प्रभाव यस वर्षको सुरुवातमा क्यानडा र भारतले दुई देशबीचको व्यापारका लागि तयार पारिएको खाकामा सहमति भएपनि अहिले त्यो अन्यौलमा परेको छ । यो सम्बन्ध कतिसम्म चिसिएको छ भने अहिले दुवै देश एक अर्काका कूटनीतिज्ञलाई देश निकाला गर्ने दौडमा लागेका छन् । यो क्रमको सुरुवात गर्दै क्यानडाले भारतको खुफिया एजेन्सी रिसर्च एन्ड एनालिसिस विङ (आरएडब्ल्यू–रअ)का अधिकारी पवनकुमार राईलाई निष्कासन गरिएको थियो । भारतले पनि मंगलबार क्यानडाका वरिष्ठ कूटनीतिज्ञलाई देश निकाला गरेको छ । यही प्रकरणले भारत र क्यानडाबीचको सम्बन्ध थप चिसिएको छ ।

एजेन्सीको सहयोगमा


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x