रीतिरिवाज

राजदेवीमा १५ हजार बोका बलि

सुभाष कर्ण |
असोज १८, २०७९ मंगलबार ९:५८ बजे

जनकपुरधाम - जनकपुरधामको प्रसिद्ध शक्तिपीठ माता राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलिप्रदान सम्पन्न भएको छ । सोमबार राति ८ बजेर ४१  मिनेटदेखि बिहान ३:४० बजेसम्म १४ हजार ९ सय ४१ बोकाको बलि प्रदान भएको पूजा व्यवस्थापक महावीर युवा कमिटीले जनाएको छ ।

निशा पूजा सम्पन्न भएलगत्तै बोका बलिका लागि यसपालि ४ वटा अस्थायी ठेहा राखिएको थियो । प्रत्येक ठेहामा १० जनाको समूहमा स्वयंसेवक परिचालनगरी प्रतिमिनेट ४० को संख्यामा बलिप्रदान गरिएको कमिटीका अध्यक्ष बलराम साहले जानकारी दिए । 


उनका अनुसार बलिप्रदानका लागि हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरू लाइन लागेका थिए । बलिप्रदान कार्यक्रमलाई व्यवस्थित बनाउन आयोजक महावीर युवा कमिटीले ५ सयको संख्यामा स्वयंसेवक परिचालन गरेको थियो ।

गत वर्ष राजदेवी मन्दिरमा १४ हजार ७ सय बलिप्रदान भएको थियो । त्यसको अघिल्लो वर्ष कोरोना महामारीका कारण
८ हजार ९ सय ६८ मात्र बलि दिइएको थियो ।

यसैबीच महाअष्टमीका दिन जनकपुरधामस्थित विभिन्न शक्तिपीठहरूमा प्रसाद चढाउनका लागि करिब ३५ हजार किलो लड्डु बिक्री भएको अनुमान गरिएको छ ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले लड्डु बिक्रीबाट करिब २ करोडको आर्थिक कारोबार भएको बताए । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x