पर्यटन

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु, पर्यटन व्यवसायी उत्साहित

कृष्ण दवाडी |
असोज २८, २०८० आइतबार १९:४५ बजे

फाइल तस्बिर

कास्की- पोखरामा प्याराग्लाइडिङको उडान आजदेखि पुनः थालिएको छ । पोखरा महानगरपालिका—१८ सराङकोटको तोरीपानीबाट उडान सुरु गरिएको हो । 

पोखरा घुम्न आउने अधिकांश पर्यटकको रोजाइमा पर्ने साहसिक प्याराग्लाइडिङ गत पुस १७ गतेदेखि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै हवाई सुरक्षाको कारण देखाउँदै सराङकोटबाट बन्द गरिएको थियो । विमानस्थल सञ्चालनपछि यसको भविष्यलाई लिएर पर्यटन क्षेत्रमा चिन्ता व्यक्त हुँदै आएको थियो । त्यसपछि तत्कालका लागि पोखरा–२४ मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङ उडान थालिएको थियो । सराङकोट र तोरीपानीबाट बन्द भएको उडान नौ महिनापछि पुनःतोरीपानीबाट थालिएकामा यहाँका व्यवसायी उत्साहित बनेका छन् ।  


मान्द्रेढुङ्गा दुरीका हिसाबले पनि टाढा रहेको र उचाइमा मौसमका कारणले यहाँ प्याराग्लाइडिङ स्थापित हुन सकेको थिएन । तोरीपानी क्षेत्रबाट पुनः उडान सुरु भएसँगै स्थानीयवासी खुसी भएका छन् । पहिलो दिन उडानमा जाने पर्यटकलाई स्थानीयले माला र टीका लगाएर स्वागत गरे ।

नेपाल हवाई खेलकुद संस्थाले नेपाल नागरिक उड्डयन प्राधिकरणको सहयोगमा मान्द्रेढुँगाबाट हुँदै आएको प्याराग्लाइडिङ क्षेत्र विस्तार गरी वाहाकोटको तोरीपानीबाट उडान गरी पामे क्षेत्रमा ‘ल्यान्डिङ’ सुरु गरेको हो । हवाई क्षेत्रको नियमनकारी निकाय रहेको प्राधिकरणको लामो समयको अध्ययनपछि तोरीपानी क्षेत्रबाट प्याराग्लाइडिङ उडान गर्दा हवाई सुरक्षामा जोखिम नपर्ने प्रतिवेदनपछि यसलाई पूर्ववत् स्थानमा फर्काइएको हो । 

पर्यटन व्यवसायीले भने सराङकोटसम्म प्याराग्लाइडिङ क्षेत्र विस्तारको माग गरेका छन् । सराङकोटका विषयमा अझै अध्ययनको प्रक्रियामा नै रहेको छ । नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष सुनिलबहादुर भट्टराईले पोखराको प्याराग्लाइडिङका सम्बन्धमा तयार गरिएको अध्ययन प्रतिवेदनपछि नागरिक उड्डयन प्राधिकरणले पुरानै स्थानबाट ‘टेकअफ’ को अनुमति प्रदान गरेको बताए । प्राधिकरणको एटिएम विभागले ‘सेफ्टी रिक्स एसिस्मेन्ट’ गरी तोरीपानीबाट उड्न स्वीकृति दिएको हो । ‘टेकअफ’ का लागि पूर्ववत् स्थान प्राप्त भए पनि अवतरणका लागि भने पामे बजार नजिकको स्थानमा नै गर्नुपर्नेछ । 

अध्यक्ष भट्टराईले भने, 'पोखराको पहिचान बनेको प्याराग्लाइडिङको भविष्यलाई लिएर धेरै चिन्तित थियौँ । सबैको सहयोगबाट नौ महिनापछि पहिलाकै स्थानमा क्यानबाट टेकअफ अनुमति पाएका छौँ । यसबाट पुरानै  लयमा प्याग्लाइडिङ फर्केनमा आशावादी छौँ ।'

मान्द्रेढुङ्गा अहिलेको स्थानबाट दुरीका हिसाबले दुई किमी टाढा पर्छ । उडान स्थानसम्म पुग्न सडकको असुविधासँगै छिनछिनमा परिवर्तन हुने मौसमले प्याराग्लाइडिङले गति लिन सकेको थिएन । प्याराग्लाइडिङ गर्नेको सङ्ख्या न्यून थियो । मान्द्रेढुङ्गामा लामो समय कुहिरो लाग्ने, हावाको गति तलमाथि भइरहने र बिहानमा लामो समय हुस्सुका कारण समयै पुगेका पर्यटकलाई उडाउन अप्ठ्यारो हुने गरेको प्याराग्लाइडिङ पाइलट विजय गौतमले बताए ।

'तोरीपानीभन्दा मान्द्रेढुङ्गा डेढ सय मिटर उचाइमा रहेकाले लामो समय हुस्सु लाग्थ्यो, सडकको अवस्था राम्रो थिएन,' गौतमले भने, 'त्यसैले त्यहाँ स्थापित हुनै सकेनौँ, पर्यटकलाई बानी पार्नै सकिएन । अहिले पहिलाकै स्थानमा फर्किएका छौँ, यो ठाउँ सबै हिसाबले उपयुक्त छ, हामी सबै उत्साहित भएका छौँ ।'

पोखरा आउने अधिकांश पर्यटकको रोजाइमा प्याराग्लाइडिङ पर्ने गरेको छ । यसअघि सराङकोटबाट उडान हुँदा पर्यटकीय क्षेत्र लेकसाइड र बजार क्षेत्रबाट चरासरी उडेको दृश्यले सबैको ध्यान तानेको थियो । मान्द्रेढुङ्गाबाट उडान हुँदा प्याराग्लाइडिङको दृश्य पर्यटकले बजारबाट देख्न पाएका थिएनन् । ‘ना’का महासचिव खेमराज आचार्यले तोरीपानीबाट उडान सुरु भएपछि यसले पहिलाकै लय समात्ने विश्वास रहेको बताए ।

नाले व्यावसायिक उडान तोरीपानीबाट भए पनि सोलो (एकल) उड्नलाई मान्द्रेढुङ्गा विकास गर्ने योजना बनाएको छ । यससँगै तोरीपानीमा पर्यटकको चाप बढेको खण्डमा मान्द्रेढुुङ्गालाई उपयोगमा ल्याउन सकिन्छ । पोखराको आकासमा अहिले सोलो उडान बन्द छ । नवौँ राष्ट्रिय खेलकुदका दौरानमा दुर्घटना भएपछि सोलो उडान बन्द हुँदै आएको छ ।

विसं २०७३ वैशाख १ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शिलान्याससँगै पोखराको प्याराग्लाइडिङको भविष्यलाई लिएर चासो र चिन्ता व्यक्त हुँदै आएको थियो । नागरिक उड्डयन प्राधिकरणले विभिन्न समयमा विभिन्न अध्ययन गर्दै आएको थियो । प्रतिवेदनहरूमा पोखराको पर्यटनको मुख्य गन्तव्य बनेकाले यसलाई विस्थापित नगरी अन्यत्र कतै स्थापित गर्नुपर्नेमा जोड दिइएको थियो । विमानस्थल उद्घाटनसँगै नागरिक उड्डयन प्राधिकरणले विभिन्न सर्तसहित १५ दिनका लागि मान्द्रेढुङ्गाबाट उडानको अनुमति दिएको थियो ।

पोखरा प्याराग्लाइडिङ उडानका लागि उत्कृष्ट, प्राकृतिक हिसाबले मनमोहक र हावापानीका हिसाबले वर्षभरि उड्न मिल्ने हुँदा स्वदेशी एवं विदेशी पर्यटकहरूको रोजाइको विधा बन्दै आएको छ । पोखरामा दुई दशकअघिदेखि प्याराग्लाइडिङ सञ्चालन हुँदै आएको छ । पर्यटकीय सहरमा सञ्चालन भएको प्याराग्लाइडिङमा साहसिक पर्यटक आकर्षित हुँदै आएका छन् । पोखरा आउने विदेशी तथा स्वदेशी पर्यटक साहसिक गतिविधि प्याराग्लाइडिङमा रमाउने गर्दछन् । हवाई खेलकुदको माध्यमबाट नेपालको पर्यटन विकास र विस्तारमा सहयोग गर्ने उद्देश्यसहित २०५९ सालमा नेपाल हवाई खेलकुद संस्था (ना) को स्थापना गरिएको थियो । सुरुवातमा सात वटा प्याराग्लाइडिङ व्यावसायिक कम्पनीबाट संस्था सुरु गरिएकामा हाल ६२ वटा व्यावसायिक कम्पनीहरू रहेका छन् ।

त्यसैगरी कम्पनीअन्तर्गत तीन सय ९९ प्याराग्लाइडिङ पाइलट क्रियाशील रहेको ‘ना’ का निवर्तमान अध्यक्ष एवं पोखरा पर्यटन परिषद्का उपाध्यक्ष कृष्ण भण्डारीले जानकारी दिनुभयो । उहाँले स्थानीय, प्रदेश, सङ्घ सरकारबाट सकारात्मक सहयोग प्राप्त भएको बताए । प्याराग्लाइडिङ उडान सुरक्षित बनाउनका लागि पछिल्लो समय जिपिएस, लाइभ ट्याकर, रेडियो रिपिटर टावरसहित दुईतर्फी रेडियो सञ्चार तथा हटलाइन सेवा सञ्चालनमा ल्याइएको छ । रासस


Author

थप समाचार
x