पर्यटन

कार्गाे भवन प्रवेशका लागि 'फ्ल्याप गेट' सञ्चालनमा

इकागज |
असोज २४, २०८० बुधबार १८:२१ बजे

काठमाडौँ- त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आजदेखि कार्गाे भवनमा प्रवेशका लागि ‘फ्ल्याप गेट’ सञ्चालनमा ल्याएको छ । अनाधिकृत व्यक्तिको प्रवेश र गलत क्रियाकलाप रोक्ने उद्देश्यले यो गेट सञ्चालनमा ल्याइएको भन्सार कार्यालयले जनाएको छ ।    
    
प्रहरी प्रतिवेदन र भन्सार कार्यालयको सिफारिसपछि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट वितरण हुने वाइपास बाहकले मात्र यो गेट पार गर्न सक्नेछन् । गत साउन ३ गते कार्गाे भवनबाट गाडीको ब्रेकसुभित्र लुकाइछुपाइ ल्याइएको सुन बाहिरिएपछि विमानस्थल भन्सार कार्यालयले भन्सार यार्ड प्रवेशमा कडाइ गरेको छ । उक्त घटनामा अनधिकृत व्यक्तिको प्रवेश देखिएपछि सो गेट सञ्चालनमा ल्याइएको हो ।    
    
नयाँ व्यवस्थाअनुसार त्रिभुवन विमानस्थल प्रवेशका लागि अङ्ग्रेजी अल्फावेट ‘ए’ देखि ‘एल’सम्मको पास उपलब्ध गराइन्छ भने कार्गाे भवन प्रवेशका लागि अङ्ग्रेजी अल्फावेट ‘वाई’ पास उपलब्ध गराइन्छ । सर्वसाधारणले आफ्नो मालवस्तु छुटाउन भन्सार क्षेत्रमा प्रवेश गर्नुपरेमा आगन्तुक अनुमतिपत्र (पास) लिई प्रवेश गर्न पाउने व्यवस्था गरिएको छ । हाल भन्सारका कर्मचारी, भन्सार एजेन्ट र सामान लोड र अनलोड गर्ने श्रमिकलाई मात्र फोटोसहितको पास उपलब्ध गराइएको भन्सार प्रमुख डा टोकराज पाण्डेले बताए।    
    
उनले यसबाट अनधिकृत व्यक्तिको प्रवेश र अवैध सामान आयात अन्त्य हुने अपेक्षाका साथ मापदण्ड तयार पारी पास वितरणलाई व्यवस्थित गरिएको बताए । भन्सार कार्यालयले यसअघि विमानस्थलको यात्रु आवागमनतर्फ बहुमूल्य सामान र विदेशी मुद्राको स्वघोषणा कक्ष सञ्चालनमा ल्याएको थियो ।    



Author

थप समाचार
x