पर्यटन

त्याे गुलजार लालीखर्क, बिस्तारै सम्झनामा सीमित बन्दै

इकागज |
जेठ २३, २०८० मंगलबार १४:५९ बजे

फुङ्लिङ- विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमशङ्खला जाने पदमार्गमा पर्दछ लाली खर्क । ताप्लेजुङको सुकेटर विमान थलबाट करिब सात किमीमा पर्ने लालीखर्क ट्रेकिङ क्याम्प पनि हो । पर्यटकलाई सेवा दिन धनबहादुर विष्टले २०४० सालमा लालीखर्कमा पर्यटन आवास सञ्चालन गरे । लालीखर्कमा पहिलो घर बनाउने नै विष्ट हुन् ।    
    
कञ्चनजङ्घा हिमाल जाने पदमार्ग भएकाले विगतमा लाली खर्क पर्यटकहरुको भरिभराउ हुन्थ्यो । लालीखर्कमा पर्यटन व्यवसायबाट आम्दानी पनि राम्रो हुन्थ्यो । पर्यटन व्यवसायबाट जोहो गरेको आम्दानीले विष्टले छोराछोरी राम्रो पढाए ।    
    
विगतका वर्षहरुमा काठमाडौँदेखि सुकेटारसम्म हवाई मार्ग एकमात्र विकल्प रहेकामा अहिले कतिपय पर्यटक गाडीबाट सदरमुकाम फुङ्लिङ पुग्थे । सुकेटारदेखि लालीखर्क एक क्याम्प हो । स्थलमार्ग हुँदै आएका पर्यटक र हवाई मार्ग हुँदै आउने पयटक ताप्लेजुङदेखि पहिलो क्याम्प हो लाली खर्क । २०४० सालमा विष्टले घर बनाई बस्न थालेपछि बिस्तारै पर्यटकको चहलपहल बढ्न थाल्यो । पछिल्लो समय लालीखर्कमा घडेरी खरिद गरेर पर्यटन आवासका लागि ठूला होटलहरु सञ्चालनमा आएका थिए ।    
    
लालीखर्कमा पर्यटकहरुको बाक्लो चहलपहल हुन थालेसँगै शुक्रराज लिम्बूले पनि पर्यटन व्यवसायले मन तान्यो । लालीखर्कमा पर्यटकलाई लक्षित गरेर होटल सञ्चालन गरे । टेन्ट टाँगेर बस्न चाहनेका लागि पनि उनले व्यवस्था मिलाए । चौरमा टेन्ट टाँगेर बस्ने पर्यटकहरुको भरीभराउ हुने गर्थ्यो ।    
    
स्थानीय उत्पादनले पनि राम्रो बजार पाउने गरेको थियो । तर अहिले क्याम्पका लागि बनाएको चौर त्यतिकै मिल्किएको छ । लाखौँ रुपैयाँ लगानी गरी निर्माण गरिएका पूर्वाधारहरु प्रयोगविहीन बनेका छन् । सडक विस्तारले पदमार्ग मासिदै गयो । सडक लालीखर्क हुँदै कञ्चनजङ्घा क्षेत्रमा पर्ने सिरिजङ्घा गाउँपालिका—७ याम्फुदीनसम्म पुगेको छ । सडक विस्तरसँगै पर्यटकहरु सदरमुकाम फुङ्लिङबाट गाडी चढेर लालीखर्क हुँदै हुइँकिन्छन् कञ्चनजङ्घाका हिमालतिर । गाडीमा हुइँकिएका पर्यटहरु हेर्दै अनि बस्नु परेको छ लालीखर्कका पर्यटन व्यवसायीहरु ।    
    
हिजो पर्यटन व्यवसायबाट राम्रै आम्दानी गरेका लालीखर्कका पर्यटन व्यवसायीहरुलाई अहिले जीविकोपार्जन गर्न नै धौधौ हुन थालेपछि बिस्तारै अन्यन्त्र बसाइँ सर्न थालेका छन् । सानाठूला दर्जनभन्दा बढी होटल सञ्चालनमा आएको यस ठाउँमा अहिले होटल वा किराना पसलसमेत भेटिँदैन । स्थानीय किराना व्यापारी शुक्रराज लिम्बूले भने, “पसल राखेर के गर्नु ? किन्ने मान्छे नै हुँदैन । स्वदेशी वा विदेशी पर्यटकहरु यही बाटो भएर गाडीमा जाने गर्दछन् ।”    
    
 पर्यटनका लागि निर्माण गरिएको आवासहरु जीर्ण बन्दै गएका छन् । अहिले तीन घरपरिवारको मात्र बसोबास रहेकामा छिट्टै दुई घर बसाइँ सार्ने योजनामा रहेको धनबहादुर विष्टले बताए । उनले भने, “बसाइँ सर्नका लागि गाई, भैँसी बेची सके । घर पनि बेच्न खोज्दा किन्ने कोही छैन ।” लालीखर्कमा पदमार्ग सञ्चालन हुँदा धेरैले जग्गा किनेर घर बनाएका थिए ।    
    
केही वर्षअगाडि पर्यटकको खचाखच हुने ताप्लेजुङका विभिन्न पदमार्गहरुमा अहिले सडक सञ्जालले जोडिएसँगै पदमार्ग मासिन थालेको छ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–११, लालीखर्कका राजकुमार विष्ट भन्छन्, “होटल व्यवसाय मेरा बाबु, बाजेले गर्दै आएको पेसा हो । यसैबाट हाम्रो परिवारको जीविकोपार्जन हुन्थ्यो तर अहिले अर्को विकल्पमा लाग्नुपर्ने अवस्था आयो ।’’ उनको परिवारले यस क्षेत्रमा पर्यटकको सेवामा लगभग ४० वर्षसम्म गुजारिसकेको छ ।    
अहिले उनका बुबाआमा उमेरले पाका भइसकेका छन् । अबको होटलको जिम्मेवारी राजकुमारको काँधमा आएको छ । उनले पनि पाँच/सात वर्ष अगाडिसम्म राम्रै आम्दानी गरिरहेका थिए । होटल व्यवसाय राम्रै चल्थ्यो तर अहिले दोधारमा छन् उनी । विष्टलाई अहिले कसरी जीविका चलाउने भन्ने चिन्ताले सताइरहेको छ।

समुन्द्री सतहबाट दुई हजार दुई सय मिटरको उचाइमा अवस्थित यो स्थान सुकेटार विमानस्थलबाट मात्रै करिब तीन घन्टाको पैदल दूरीमा रहेको छ । नेपाल सरकारले तोकेको कञ्चनजङ्घा साउथ बेसक्याम्पको बाटोअन्तर्गतको पहिलो क्याम्पका रुपमा रहेको यो स्थानमा केही वर्ष अघिसम्म विदेशी पर्यटकको ओइरो लाग्ने गर्दथ्यो । पर्यटक बास बस्न नपाएर नजिकैको बारीमा टेन्ट टाँगेर बस्नुपर्ने अवस्था हुन्थ्यो । स्थानीय रुपमा उत्पादन भएका खाद्यवस्तु र अन्य सामानहरुले राम्रो मूल्य पाएका थिए । नियमितरुपमा आन्तरिक तथा बाह्य पर्यटकको आवतजावत भएपछि त्यस क्षेत्रको चेतनास्तरमा समेत विकास भएको थियो ।    
    
कञ्चनजङ्घा संरक्षण क्षेत्रको तथ्याङ्कमा यस क्षेत्रमा पाँच वर्षअघि औसतमा वार्षिक सात सय पर्यटक आउने गर्दथे भने अधिकांशले कञ्चनजङ्घाको दुवैतर्फबाट पदयात्रा गरेर मात्रै फर्कन्थे । यो हिसाबमा लालीखर्कको रुट भएर जाने पर्यटक तमोरखोलातर्फबाट फर्कन्थे भने तमोरखोलातर्फबाट जाने पर्यटक यहीँ फिर्ता हुन्थे।    
    
प्रायः सुरुदेखि यस स्थानमा व्यवसाय गर्ने मानिसले अहिले लालीखर्क छाडिसकेका छन् । धेरैले व्यवसाय बदलेका छन् भने कतिपय वैदेशिक रोजगारीतर्फ पलायन भएका छन् । पुख्र्यौली घरलाई अझै कुरेर बसेका राजकुमार एक व्यक्ति छन् । धेरै चिसो, कृषि उत्पादनको सम्भावना न्यून, आयआर्जनको बाटो कम र विभिन्न सेवासुविधा पनि कम हुन थालेपछि यो स्थान अहिले रित्तो र सुनसानजस्तो बनेको छ ।    
    
जिल्लाको एकमात्र सुकेटार विमानस्थल र मोटर बाटोबाट सदरमुकाम फुङ्लिङ भएर उत्तरी र दक्षिणीतर्फको कञ्चनजङ्घा हिमाललाई अवलोकनको पदयात्रा र हिमाल आरोहणका लागि आउने पर्यटक दुई फरक बाटो भएर जाने गर्दछन् । यहाँका कुनाकन्दरामा सडक यातायात पुग्न थालेपछि यो पदमार्गमा हिँड्ने विदेशी पर्यटकको सङ्ख्या ह्वात्तै घट्न पुगेको स्थानीय होटल तथा घरबास व्यवसायीहरु बताउँछन् ।    
    
सदरमुकामबाट दक्षिणतर्फको बाटोमा सुकेटारबाट लालीखर्क, सिञ्चेपु भञ्ज्याङ, फुम्पेडाँडा, याम्फुदिन हँुदै लासे, तोरोङ्देन, चेराम, राम्जेर र ओक्ताङ बेसक्याम्पसम्म रहेकामा हाल याम्फुदिनसम्म सडक सञ्जाल पुगिसकेको छ भने उत्तर बेसक्याम्पतर्फको बाटो सुकेटार वा सदरमुकामबाट मित्लुङ, छिरुवा, सेकाथुम, अम्जिलेसा, ग्याब्ला, घुन्सा, खम्बाचेन, लोनाक र पाङ्पेमा बेसक्याम्पको बाटोमा हाल सेकाथुम नजिकसम्म सडक सञ्जाल पुगिसकेको छ ।
    
लालीखर्क मात्रै होइन, अहिले सिरिजङ्घा–३ र ४ को सिमानामा अवस्थित सुन्दर बस्ती काँडेभञ्ज्याङ पनि सुनसान बनेको छ । त्यहाँ सञ्चालन भएको पाँच होटल स्थानीयस्तरका पदयात्रीलाई सामान्य सेवा दिएर दिन काटिरहेका छन् । विगत ४० वर्षभन्दा अगाडिदेखि होटल र साना पसल व्यवसाय गरेर बसिरहेका स्थानीय सुवास बस्नेत भन्छन्, “विगतमा यहाँ पर्यटकको आवागमन राम्रो थियो । हामीले पनि त्यो समयमा सकेसम्म राम्रो सेवा दिएका थियौँ तर अहिले विदेशी पर्यटक देख्न नै मुस्किल छ ।”    
    
सिरिजङ्घा–६ को फुम्पेडाँडाका पुराना होटल व्यवसायी गोपी भट्टराई र मामाङ्खेका विशाल मावो पनि अब यो व्यवसायबाट केही गर्छु भन्ने आश नरहेको गुनासो गर्छन् । मावो भन्छन्, “अहिले पर्यटक अर्को सडकको बाटो भएर सिधै याम्फुनी पुग्छन् । सडक अझ राम्रो भएपछि त झन् पदयात्रा गर्ने पर्यटक नहुने भएकाले अहिले नै वैकल्पिक व्यवसाय सुरु गर्नुपर्ने अवस्था छ ।” स्थानीयवासीको पनि कम आवतजावत हुने यस स्थानमा होटल व्यवसाय नै गरेर बस्ने अवस्था नहेको भट्टराईको भनाइ छ । सुकेटारबाट याम्फुदिनसम्मको चार दिनको पैदल यात्रा अचेल पर्यटकले पाँचथरको गणेशचोक हुँदै सिनाम, आम्वेगुदिन हुँदै एक दिन हिँडेर दुई दिनमै पूरा गर्दछन् ।    
    
सदरमुकामबाट तीन दिनको पैदल दूरी कायम गरिएको फुङ्लिङदेखि लेलेप सेकाथुमसम्मको पैदल दूरी पर्यटकले गाडीमार्फत एकै दिनमा पूरा गर्छन् । यता फुङ्लिङ नगरपालिका–१० को मित्लुङमा पर्यटकका लागि बनाएका होटलका संरचनाहरु क्रमशः अन्य प्रयोजनमा प्रयोग भइरहेको छ भने छिरुवामा रहेका होटलले स्थानीयरुपमा आवतजावत गर्ने यात्रीलाई सेवा दिइरहेका छन् । करिब २३/२४ दिनको कञ्चनजङ्घा परिपथ पदयात्राका लागि धेरै लामो दिन भएको गुनासो पर्यटकबाट आउने गरेकामा अहिले सडक यातायातले थप सहजता भएको पर्यटक पथप्रदर्शक मिङ्मा तामाङ बताउँछन्। रासस


 


Author

थप समाचार
x