पर्यटन

जहाज दुर्घटनापछि हवाई उडान कम, पोखराको पर्यटनमा असर

धनबहादुर गुरुङ |
माघ २७, २०७९ शुक्रबार १८:१ बजे

पोखरा- अंग्रेजी नयाँ वर्षको अवसर पारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनवरी १ मा उद्घाटन गरेपछि औपचारिक रुपमा विमानस्थलबाट उडान सुरु भयो । अन्तर्राष्ट्रिय उडानबिनै व्यावसायिक उडान थालेसँगै पोखरेलीले आधा दशकदेखिको सपना पूरा भएमा खुसियाली मनाए ।

तर, त्यो खुसियाली १५ दिन पनि टिकेन । सोही विमानस्थलमा अवतरण हुनुअघि जनवरी १४ (माघ १) मा यति एअर दुर्घटनामा पर्‍यो । सेती खोंचमा दुर्घटनाग्रस्त जहाजमा चालक दलसहित ७२ जना सवार थिए । त्यो दुर्घटनापछि एकाएक जहाजमा यात्रा गर्नेहरू घटे । यसको मार पोखराको पर्यटन क्षेत्रमा परेको पर्यटन व्यवसायीहरूको भनाइ छ ।


विमानस्थलबाट औपचारिक उडान सुरु भएपछि २ सातासम्म ठिकठिकै उडान हुँदै आएकोमा दुर्घटनायता भने गिरावट आएको हो । २ सातासम्म १८ हजार २ सय ४० यात्रु यो विमानस्थलबाट बाहिरिएकोमा १५ जनवरी (१ माघ) को दुर्घटनापछि भने झण्डै ५० प्रतिशत गिरावट हुन गएको हो । दुर्घटनायताको १५ दिनमा १० हजार ६ सय २९ यात्रुले मात्र यात्रा गरेको तथ्यांक छ । उद्घाटनको दिन १ हजार ७ सय २७ जनाले यात्रा गरेका थिए । भने, दुर्घटनापछि सबैभन्दा कम ८ माघमा ४ सय १३ जनाले यात्रा गरेको एयरपोर्टको तथ्यांक छ ।

यहाँबाट हाल बुद्ध, यती, श्री, सौर्य, गुण एअरलाइन्सले उडान भर्दै आएका छन् । विमानस्थलका राजस्व अधिकृत देवराज सुवेदीका अनुसार त्यसमध्ये बुद्धको उडान सबैभन्दा बढी छ । हवाई दुर्घटना हुनुअघि बुद्धले दैनिक पोखरा–काठमाडौं रुटमा १२ वटासम्म उडान भर्दै आएकोमा घटेर ८ मा झरेको छ । त्यस्तै यती एअरलाइन्सको विगतमा ६ वटासम्म उडान हुने गरेमोमा घटेर २ मा मात्र सीमित छ । उता, श्री र सौर्यको सेड्युल धेरै भए पनि एउटा जसोमात्र उडान हुने गरेको सुवेदीले जानकारी दिए ।

पर्यटकीय सिजनको मुखैमा हवाई दुर्घटनाका कारण पर्यटकको झिनो उपस्थितिले ठूलो लगानी रहेको पोखराको पर्यटन क्षेत्र फेरि धरापमा परेको छ । होटल संघ पोखरा नेपाल अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार हाल पोखराका होटलमा ५ देखि १० प्रतिशतमात्र अकुपेन्सी छ । पोखरामा पर्यटकीय स्तरका ७ सय बढी होटल छन् ।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसारमा गएको गत महिना जनवरीमा हवाई मार्गबाट ५५ हजार पर्यटक नेपाल भित्रिएका छन् । तथ्यांक अनुसार जनवरीमा ३४ मुलुकबाट ५५ हजार ७४ जना पर्यटक भित्रिएका हुन् । नेपाल भित्रिने पर्यटकमध्ये पोखरामा ४० प्रतिशतजसो आउने गरेको विगतको तथ्यांकमा यसपालि दुर्घटनासँगै अफ सिजनले असर पारेको व्यवसायीको भनाइ छ ।

पोखरा पर्यटन परिषद्ले पोखरामा आयोजना गरेको एक कार्यक्रममा व्यवसायीले चाँडोभन्दा चाँडो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान थाल्नुपर्ने जोड दिएका थिए । सो कार्यक्रममा विमानस्थल प्रमुख विक्रमराज गौतमले आगामी १३ फेब्रुअरी रातिदेखि नयाँ विमानस्थलबाट जहाजको रात्रिकालीन उडान र अवतरण गर्न सक्ने आश्वासन दिएका छन् ।


Author

थप समाचार
x