विचार

संस्मरण र अनुभूति : १५

गजबको मान्छे उहाँ, तपाईंको फादर

वसन्त लोहनी |
बैशाख ३१, २०७९ शनिबार ८:५१ बजे

महिनौँ महिना खटिएपछि निर्माण सुरु गर्ने तयारी पूरा भइसकेको थियो । सरस्वती सदनको नक्सा तयार भइसकेको थियो । ब्लु प्रिन्ट निकालिसकेका थिए, वेदप्रसादले सायद त्यसै गरी होला जसरी सानो छँदा मैले यस्तो प्रिन्ट निकालेको देखेको थिएँ । राम्रोसँग घाम लागेको बेला माथि तल घुमाउन मिल्ने एउटा ऐनाको टेबल थियो उनको, जुन उनी बाहिर चोकमा ल्याउँथे ।

ऐना खोलेर ठूलो कागतभित्र राखेर त्यो ऐनाको टेबलको कोण घामको कोणसँग मिलाउँथे । केही समयपछि ऐना खोलेर निकाल्थे निलोमा सेतो छापिएको नक्सा देखिन्थ्यो । मलाई खुब रमाइलो लाग्थ्यो, खाली कागज केही समयपछि नक्सा बनेर आएको देख्दा । जादुको टेबल जस्तो ! अबको फोटोकपीको जमानामा सायद इन्जिनियरहरूले त्यति प्रयोग गर्दैनन् होला ? तर लाग्छ, जग्गाको नक्सा अहिले पनि नापी कार्यालयले यसरी नै निकालेर दिन्छ । 


सरस्वती सदनको जग खन्ने दिन भूमि पूजाको पूरा तयारी भइसकेको थियो । ब्राह्मणहरू तयार थिए, पूजापाठ गर्न । पूजाआजाको सामग्री पनि । ज्योतिषीले गणना गरेर निकालेको शुभ मुहूत्र्तको प्रतीक्षा थियो । धरती हाम्रो माता हो । त्यसैले भवन निर्माण सुरु गर्दा कुनै पाप–दोष नलागोस् भनेर मात्र होइन, कुनै विघ्न बाधा नपरोस् भनेर भूमिको पूजा गरिन्छ । यो पूजाको तयारी गरेर बसेका थिए, वेदप्रसाद त्रिचन्द्र कलेजको ठीक अगाडि त्रिचन्द्र कलेजतिर फर्केर । यति नै बेला उनको मन अर्कैतिर पुग्यो । एउटा उडान लियो । विगत ६ वर्षका र एउटा अझ केही अगाडिको दृश्यहरू मिलेर क्रमबद्ध भए । आँखाको अगाडि आए ती सिनेमाको रिल जस्तो गरेर ।

भौँतारिएको छोरालाई बाटोमा ल्याउन एक दिन पिताले इख्याउने शैलीमा भने– चार पास गर्न सक्छस् ? यो प्रश्नले त आफ्नो क्षमतामाथि नै चुनौती दिएको ठाने वेदप्रसादले । किनकि यो सबभन्दा तल्लो स्तरको जाँच मानिन्थ्यो । तर यो पास नगरीकन चाहिँ तल्लो स्तरको नौसिन्दाको सरकारी जागिर पनि पाइँदैन थियो । पितालाई जवाफ दिए उनले– त्यो त मामुली कुरा हो । गरेर देखाउन, कुरा मात्र गरेर हुन्छ, पिता रुद्रप्रसादले फेरि अलिकति घोचे ।

भोलिपल्टै स्रेस्ता पाठशाला गए वेदप्रसाद । क्लासमा भर्ना हुन होइन । कक्षामा बसेर पढ्न मात्र । औँठा पढाउने थिए, दुर्गादत्त उप्रेती जसले किताब पनि लेखेका थिए । उनीसँग वेदप्रसाद हिन्दीमा कुरा गर्थे र दोस्ती पनि भयो यस क्रममा । र, भने एकदिन– नसिकाउने मलाई औँठा ? उप्रेती भने– तपाईंका लागि त म दुई दिनमा सिकाइ दिन्छु । वेदप्रसादले दुई महिना जति पढेर जाँच दिए । पास पनि भइहाले । पिता खुसी भए र मनमनै सोचे– कमसेकम एउटा बाटो त खुल्यो यसको केही भएन भने पनि । त्यसपछि वेदप्रसाद आफ्नै पहलमा बनारस पुगे त्यसै गरी म्याट्रिक पास गर्न, पिताले व्यवस्था मिलाइदिएर होइन । 

यसपछि उनले देखे ६ वर्ष अगाडिको दृश्य सन् १९३८ को सुरुको । उनी बनारसबाट प्राइभेट जाँच दिएर म्याट्रिक पास गरी फर्केका र भर्खर त्रिचन्द्र कलेजमा भर्ना भएका । साइन्स पढ्न होइन । अर्थशास्त्र लिएर आइए पढ्न । उनलाई अर्थशास्त्र पढाउने प्राध्यापक थिए, रत्नबहादुर विष्ट जो पछि सन् १९७० मा नेपालको पाँचौँ प्रधान न्यायाधीश बनेका थिए ।​

रत्नबहादुरले त्यतिखेर भनेको सम्झे– अर्थशास्त्र त गाहारो छ, सकिन्छ पढ्न ? फुर्तिलो मान्छे उनी फुर्तीसँग जवाफ दिएका थिए– सकिन्छ, किन नसक्ने ? उनले चित्त बुझाए । त्यति बेला प्रोफेसरले विद्यार्थी छानेर मात्र लिन्थे आफ्नो प्रतिष्ठा सुरक्षित राख्न । त्रिचन्द्र कलेजमा दाजु फणीन्द्रप्रसाद विगत चार वर्षदेखि पढाउँथे । दाजुको प्यारो भाइ भएकाले आफ्नै दाजुका साथीहरू आशुतोष सेन, प्रसन्नमानसँग बढी हेलमेल थियो उनको । 

जीवन सिक्न भौँतारिएको कारणले ढिलो हुन गएको मात्र न हो । नत्र उमेर त उनको २३ वर्ष भइसकेको थियो । त्यति वेला टेक्निकल मान्छेको आवश्यकता थियो मुलुकमा । राणाले पढ्न पठाउँदै थिए । दाजुका साथीहरूले एक दिन कुराकुरैमा भने– सिट आएको छ रे सिभिल इन्जिनियरिङमा डिप्लोमा गर्ने । तिम्रो चालामाला हेर्दा आइए पढ्ने होइन, इन्जिनियरिङ पढ्ने जस्तो छ ।

वेदप्रसाद घोरिए । हो र ? भनेर त्यहाँबाट निस्किए । डाइरक्टरेट अफ पब्लिक इन्सट्रक्सनको अफिससँगै त्यही त्रिचन्द्र कलेजमा नै थियो । हान्निए त्यहाँ र भेटे जितेन्द्रबहादुर शाहलाई जो असिस्टेन्ट डाइरेक्टर थिए त्यस अफिसको र छिमेकी पनि थिए वेदप्रसादको । हाकिम थिए मृगेन्द्रशमशेर, डाइरेक्टर जनरल भएर । सोधे उनले त्यो सिटबारे । जितेन्द्रबहादुरले बोलाए कारिन्दा शिवलाललाई जानकारी लिन । कुरा हो रहेछ लखनउ पढ्न जाने । दुई जना त पढ्न पनि गइसकेका रहेछन्  । एउटा सिट अझै बाँकी रहेछ । उनले त्यसबारेको पाठ्यक्रम र कागजपत्र लिएर घर फर्के ।

बेलुकीको खाना खाएपछि हेरे पाठ्यक्रम । उनलाई चित्त बुझ्यो विषयवस्तु । महत्त्वपूर्ण अझ समय थियो– दुई वर्षको मात्र । माइली छोरी अम्बिका पनि जन्मिसकेकी थिइन् । बाबुको जिम्मेदारी महसुस गरिरहेका थिए, बच्चा बच्ची राम्ररी हुर्काउन सक्नुपर्ने गरी । त्यसका लागि कमाउन सक्नु पर्यो । कमाउनको लागि सीप हासिल गर्नुपर्यो । उनले ठाने– अब मलाई समय विलम्ब गर्ने छुट छैन । र, सम्झे दाजुले एमएस्सी फिजिक्समा गरी प्रोफेसर भएर पनि कमाएको महिनाको तलब १०० रुपैयाँ ।

पैसाको सह भए पनि पे स्केल अर्थात् तलबमान एकदम कम थियो । ६ वर्ष लगाएर एमए हुने बाटो वेदप्रसादका लागि धेरै लामो लाग्यो । उनी हतारमा थिए, व्यावसायिक यात्रा सुरु गर्न । हतारमा थिए केही काम गरेर देखाउन । अतः उनले निर्णय गरे लखनउ जाने । उनी सानैदेखि आफ्नो निर्णय आफँै गर्दै आएका हुनाले आफ्नो मनको आफैँ मालिक थिए, त्यो बेलाको कठिन समयमा पनि । 

उनी भोलिपल्टै अफिस खुल्नेबित्तिकै पुगे जितेन्द्रबहादुर शाहकहाँ । आफूले जाने निधो गरेको कुरो बताए । त्यसपछि भनिएबमोजिम तोकिएको ढाँचामा डाइरेक्टर जनरल मृगेन्द्र शमशेरको नाममा बिन्तीपत्र लेखेर बुझाए । केही 

दिनपछि स्वीकृति आयो महिनाको ६० रुपैयाँको छात्रवृत्ति पाएर दुई वर्ष पढ्न पाउने लखनउको लाटुस रोडस्थित लखनउ पोलिटेक्निकको लखनउ इन्जिनियरिङ स्कूलमा । उनी त्यहाँ हतारिँदै गए पढाइ छुटिसकेको होला भन्ने डरले । तर त्यहाँ त पहिले गएका माधवप्रसाद प्रधान र पुष्पबहादुर अमात्य त डरले फर्कने तयारी गरेर बसेका रहेछन् । पढ्न नसक्ने व्यहोरा लेखेर काठमाडौँ चिठ्ठीसमेत पठाइसकेका रहेछन् । कारण रहेछ ‘र्यागिङ’ अर्थात् यी दुईलाई जिस्काएर, दुःख दिएर कायल पारेका रहेछन् सिनियर विद्यार्थीहरूले, टिक्नै नसक्ने पारेर ।

वेदप्रसाद– टाठो र फुर्तिलो । सिनियरसँग पनि दोहोरो कुरा गरेर मेलमिलाप गरे । र, यी दुईलाई पनि सम्झाएर ढाडभरोस दिएर टिकाए– म छु नि अब भनेर । सस्तो जमाना थियो एउटा घर भाडामा लिए । वेदप्रसादको काठमाडौँदेखि लगेको भान्छे थियो । उसले सबैलाई पकाएर ख्याउँथे । त्यति बेला बाहुनले धोती फेरेर पकाएको बाहेक अरूले छोएको खान वर्जित थियो । जात नै जान्थ्यो । यो व्यवस्थापनले उनको धाक त्यहाँ मात्र होइन काठमाडौँमा पनि जम्यो, ती दुई फिर्ता नजाने भएपछि ।

वेदप्रसाद अरू विद्यार्थी सरह पढ्दै जानेमा सीमित रहन नसक्ने मनस्थितिमा थिए । उनलाई इन्जिनियरिङ सीप अरूले भन्दा चाँडो र सकेसम्म धेरै जान्नुपरेको थियो । सिभिल इन्जिनियरिङमा छलाङ नै लगाउनु थियो । उनी भन्थे— कसरी पढिन्छ, कसरी मन लगाइन्छ, त्यो नै ठूलो कुरा हो । यो पेसा लिएर अगाडि जानु पर्दछ भनेर म जिम्मेदारी लिएर गएको थिएँ त्यहाँ ।’ त्यसैले उनको सिक्ने केन्द्रबिन्दु नै फरक थियो यस अर्थमा । यसको प्रत्यक्ष प्रमाण त पछि नेपालमा काम गर्दा उनका यी सहपाठीहरू व्यावसायिक रूपमा उनले लाएको अह्राएको काम गर्ने भए भने उनी अग्रणी हुन पुगे ।

सानो छँदा मैले आफैँले देखेको थिएँ बिहान सबेरै ठहिटीदेखि ज्ञानेश्वरको घरमा घना कालो जुँगा भएका माधवप्रसाद प्रधान आउँथे सुत्ने कोठामा । पहिलो व्यक्ति उनी नै हुन्थे । त्यसपछि आउँथे पाटनबाट कीर्तिराज गुरुज्यू, बनिरहेका घरहरूको निर्माणको प्रगति र आइपरेको समस्या बताउन । वेदप्रसाद अति व्यस्त थिए त्यसताका बोल्ने फुर्सत पनि नभएका ।

आफैँले हेरेको जमिनको स्थिति र नक्साको आधारमा विभिन्न निर्माण हुने घरहरूको एकपछि अर्को स्केच गरेर दिन्थे र भन्थे– माधवजी, ल यो बमोजिमको डिटेल ड्रइङ बनाएर ल्याउने, कस्ट इस्टिमेटसहित । अनि कीर्तिराजको समस्याहरूको समाधान दिँदै जान्थे । त्यसपछि अरू जो आउँथे तल वारपारको फलैँचामा पर्खेर बसेका हुन्थे । 

नेपालको सिमेन्ट ढलान प्रविधिको जग सरस्वती सदन भए जस्तै वेदप्रसादभित्र कुनै नयाँ कुरा खोजी गरेर देखाउने चाहना उनी भौँतारिएको बेलादेखि नै थियो । लखनउमा आएपछि त्यसले प्रणालीकृत भएर अगाडि बढ्न पाएको हो । लखनउमा उनी झन् अधैर्य थिए । क्लासको पढाइमा मात्र सीमित रहनै सक्तैन थिए । उनी आफ्नै खुसीले त्यसपछि नयाँ बनिरहेका घरहरू हेर्न जान्थे र साइट इन्जिनियरसँग यो किन गरेको, यस्तो किन नगरेको आदि कुरालाई लिएर बात मार्ने र छलफल गर्ने र विवाद गरिरहन्थे । त्यसपछि किताबमा त्यसको निक्र्याेल पनि गर्थे । यो क्रम कक्षाको पढाइसँगै चली नै रह्यो उनको ।

आफूले कक्षामा सिकेको कुराको प्रयोग खोजिहाल्थे त्यसरी नै जसरी लेखापालले ‘डेबिट’ देख्नेबित्तिकै त्यसको ‘क्रेडिट’ खोजिहाल्छ । सिद्धान्त घोकेर जाँच पास गरेर डिप्लोमाको प्रमाणपत्र बोकेर फर्कनेमा सीमित थिएन उनको चाहना । उनी प्रयोग गर्न चाहन्थे । त्यसैले पढाइ सकेर काठमाडौँ फर्केपछि पनि त्यहाँ स्थिर रहन सकेनन् । उनी बम्बईमा पुगे एउटा साथीसँग ।

त्यहाँ बसे करिब ८ महिना नयाँ बनिरहेका सिमन्टीको घर कसरी बनिरहेका छन् सो अध्ययन गरेर । र, त्योसँग सम्बन्धित किताप स्वअध्ययन गरेर । यसरी इन्जिनियरिङ ज्ञान आर्जन गर्ने उनको अनुराग बन्यो, मोह बन्यो । यस कारणले नै उनको ज्ञान लखनउको इन्जिनियरिङ स्कुलले सिकाइदिएकामा सीमित नरहेर फराकिएको बन्दै गयो । यो नितान्त उनको स्वआर्जन रह्यो ।

यसपछि काठमाडौँ फर्के । भीम शमशेरकै पालामा १९८८ साल अर्थात् सन् १९३१ मा खड्ग निसाना भएको थियो इन्जिनियरिङ स्कूल खोल्ने । तर खुल्न सकेको थिएन । संयोग बन्यो यो खोल्ने जुद्ध शमशेरको पालामा वेदप्रसाद र उनको केटाकेटीदेखिको साथी कुलरत्न तुलाधरलाई । मिलेर खोले सन् १९४२ मा । पढाउँदा उनी पढ्थे, पढाउने भन्दा धेरै बढी । र, यस क्रममा उनको इन्जिनियरिङ ज्ञानको स्वआर्जन बढ्दै गयो । अहिले भने उनी त्रिचन्द्र कलेज फर्केर हेरिरहेका छन् र देखिरहेका छन् ६ वर्ष अगाडि त्यो दृश्य जुन ठ्याक्कै अगाडि आइरहेको छ ।

त्यो हो– आशुतोष र प्रसन्नमानको कुरा सुनेपछि हान्निए त्रिचन्द्र कलेजमा रहेको डाइरक्टरेट अफ पब्लिक इन्सट्रक्सनको अफिसमा इन्जिनियरिङ डिप्लोमा पढ्ने सिटको कुरा बुझ्न । त्यसपछि लखनउ पुगेको । र, यतिखेर उभिएका छन् इन्जिनियरिङ ज्ञान सिकेर, ज्ञान स्वआर्जन गरेर अनि आफू मिलेर खोलेको इन्जिनियरिङ स्कुलको शिक्षक बनेर ।

वेदप्रसाद उभिएको जमिन सानो छ । तर उनी यत्तिमा सीमित छैनन् शिखर चुम्ने आँट छ । र, सगर जस्तो असीमित आत्मविश्वास छ । यसरी उनी त्यहाँ पहिलो सिमन्टीको भवन निर्माण गर्न उभिएका छन्, मुहूर्त पर्खिएर । भूमि पूजा गर्न । यत्तिकैमा उनको कानमा एउटा तिखो आवाज पर्दछ– साइतको बेला भयो । झसङ्ग भएर हेर्छन् चारैतिर अनि ठम्याउँछन् आफू उभिएको धरालाई ।

वैदिक मान्यता छ धरती माता र सबै देवताको स्वीकृति लिनु अनिवार्य छ भवन निर्माण गर्नु अगाडि । धरतीमाथि हामी बसेका छौँ भने मुनि अरू जीवित प्राणीहरू बसेका छन् । तिनको वासस्थान त जान्छ नयाँ निर्माणले । त्यसैले तिनीहरूसँग पनि क्षमा याचना गरिन्छ । पञ्चतत्वले बनेको हाम्रो शरीर– पृथ्वी, जल, वायु, आकाश र अग्नि । र, मृत्युपछि समाहित हुने यिनैमा ।

त्यसैले यिनीहरूकै पूजा गर्ने हो । समग्रमा पूजा मानव अस्तित्व अक्षुण्ण राख्नका लागि हो । त्यसैले यसैसँग आबद्ध भएर पूजाको सुरुवात र अन्त्य हुन्छ । चोखो धोती फेरेर लामो अङ्गा लगाएका वेदप्रसाद कुशको चकटीमा बस्छन् । पुरोहित र पण्डितहरूले उच्चारण गरेको वैदिक श्लोकहरूसँगै पूजा सुरु हुन्छ । पहिले ब्रह्मा, विष्णु र महेश्वरको पूजा गर्दछन् । अनि हरेक दिशाका देवताको पूजा । पाँच किसिमका शिलाको पूजा गरेर पाँच किसिमको भूतप्रेतको आह्वान गरेर तीनलाई शिलाले थिचेर राखिने मान्यता अनुरूप सरस्वती सदनको शिलान्यास हुन्छ । 

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीको अवधिमा मङ्गल कार्य गर्न वर्जित छ । आषाढ शुक्ल एकादशीको दिन भगवान् विष्णु क्षीर सागरमा शयन गर्न जाने हुँदा यो दिनलाई हरिशयनी एकादशी भनिन्छ । त्यस्तै निद्राबाट जागा हुने दिन कार्तिक शुक्ल एकादशीलाई हरिबोधिनी भनिन्छ । त्यति बेलाको समयलाई हेक्का राखेर हेर्दा भगवान् विष्णुको निद्रा अवधि जसलाई चतुर्मास भनिन्छ यो अवधिमा सरस्वती सदनको शिलान्यास नभएको सहजै अनुमान गर्न सकिन्छ ।

२००१ अर्थात् सन् १९४४ मा निर्माण सुरु भएको भए पनि शिलान्यास कुन दिन भएको त्यसको यकिन छैन । यसबारे बचेका पुराना कागजातबाट थाहा हुन सक्यो भने त्यसको जानकारी गराउनेछु । बचेका पुरानो नक्सा हेर्दै जाँदा वेदप्रसादले बनाएका सरस्वती सदनको ठूलो हलको नक्सा फेला परेको छ । यो वैशाख १, २००१ अर्थात् अप्रिल १४, १९४४ मा तयार भइसकेको छ । त्यति बेला यसको नाम जुद्ध पुस्तकालय भनेर लेखिएको छ । सरस्वती सदनको सुरुवात जुद्ध शमशेरले आफ्नो नाउँमा ठूलो पुस्तकालय भवन बनाउने अभिप्रायले सिमन्टीको भवनको चाहनाबाट अगाडि बढेको देखिन्छ । पुस्तकालय अहिले पनि छ त्यहाँ तर त्यसलाई जुद्ध पुस्तकालय चाहिँ भनिँदैन । 

काम द्रुत गतिमा अगाडि बढ्यो । वेदप्रसाद निर्माण स्थलमा खटिएका हुन्थे, युद्ध मोर्चामा खटिएको सिपाही सरह । वेदप्रसादलाई पढ्न पठाउँदा डाइरक्टरेट अफ पब्लिक इनस्ट्रक्सनका डाइरेक्टर जनरल रहेका मृगेन्द्र शमशेर सरस्वती सदन बनाउँदा त्यो पदमा थिएनन् । त्यसैले सरोकार नै राखेनन् । तर उनको छोरा जगदीश शमशेर, जो नेपाली साहित्य, कला र संस्कृतिका पारखी बने पछि, उनले त्यति बेला खुब चाख लिएका थिए । २०१७ साल पछि भारतको सिमलामा स्थायी बसोबास गरेका उनी काठमाडौँ आइरहन्थे । कहिलेकाहीँ भेट हुन्थ्यो । टङ्गाल गणेश अगाडि सडक छेउको घरमा उनी बस्दा त्यहाँ भेट भएको थियो । 

करिब १० वर्ष अगाडि काठमाडौँ आएको बेला मेरै घरमा रिकर्ड गरिएको एक कुराकानीमा उनले बताएका थिए आफ्नो १६ वर्षको उमेरको त्यो कौतूहल र चाख सरस्वती सदन बन्दाको । उनी भन्थे– ‘गजबको मान्छे उहाँ, तपाईंको फादर त । जुनसुकै बेला त्यो बाटोबाट जाँदा पनि म उहाँलाई काम गरिरहेको देख्थँे त्यहाँ । बिहानै घोडामा जाँदा पनि देख्थे । गाडीमा जाँदा पनि काम गरिरहेको देख्थेँ । अचम्मसँग खट्न सक्ने मान्छे हो उहाँ । 

कर्मवीर मान्छे ! मैले सरस्वती सदनको निर्माण सुरु भएदेखि सम्पन्न भएसम्मको सबै चरण आफ्नै आँखाले देखेको छु ।’ उनले यो पनि भने– ‘उहाँ सामर्थी मान्छे । हाम्रो बाजे र बाबुको अंशबन्डा नै हुन सकेको थिएन कैयौँ वर्षदेखि । कुरै नमिल्ने जसरी गर्न खोजे पनि । तपाईंको फादरले नै दुवै पक्षका विश्वासपात्रहरूबीच विभिन्न चरणको कुराकानी गराएर, बबर महलको नक्सा बनाएर, सबैलाई चित्त बुझाएर अंशबन्डा गरिदिनु भएको हो ।’

त्यति बेला त मैले सोधिनँ तर अहिले लाग्छ सायद त्यो अंशबन्डाको कुरो मिलाएको २०११ सालतिरको होला । म सानै थिएँ । देख्थेँ, भरत शमशेर र जगदीश शमशेरलाई बाजेको ज्ञानेश्वरको घरमा घोडा चढेर निकै पटक भेट्न आएको उहाँलाई  । घोडा चढ्दा लगाउने राणाकालीन जस्तो लुगा र बुट लगाएको ।

गल्लीदेखिको चोडिलको खुड्किला घोडा चढेर चोकभित्र टाउको तल पारेर छिरेको । फलैँचामा बसेको देख्थँे म । जगदीश शमशेरले त बत्तीसपुतलीको एउटा सानो डाँडोको थुम्का किनेका थिए सबैतिर ऐना राखेर आर्ट ग्यालरी बनाउन भनेर जब हामी त्यहीछेउको आफ्नो घरमा बस्ने गर्थ्याँै । उनको घर पनि वेदप्रसादले बनाउँदै थिए त्यसैको नजिकै टेकबहादुर रायमाझीको घरको पश्चिम सडकपारि । टेकबहादुरको घर पनि वेदप्रसादले नै बनाएका थिए । जगदीश शमशेरको घर हवाससम्म पूरा भइसकेको थियो २०१७ सालमा, राजा महेन्द्रले सत्ता लिँदा । त्यो छोडेर उनी निर्वासनमा हिँडे ।

सरस्वती सदन बन्दै गर्दा जुद्ध शमशेर कहिलेकाहीँ हात्ती चढेर हेर्न आउँथे । केही व्यक्तिहरूले एकोहोरो कुरा लगाइरहेका थिए– ल खतम पार्यो सरकार त्यो लिखुरे बाहुनले भनेर । कोही उठ्न लाग्यो भने त्यसको खुट्टा तान्ने र उठ्न नदिन चुक्ली लगाउने र भए नभएको कुरा कथेर लगाउने नेपालमा पुरानो चलन हो । शक्तिको नजिक यो हुन्छ नै । मन नपरेको, स्वार्थ नमिलेको, डाह वा कुण्ठा बोक्नेहरूबीच त घरघरकै चलन हो यो । यो चालु नै छ, अहिले पनि । मात्र स्वरूप बदलिएको छ । अहोरात्र खटिइरहेका वेदप्रसादलाई न यसको जानकारी हुन्थ्यो, न चासो नै ।

कर्म नै ईश्वर हो भन्ने उनको विश्वास अटल थियो । सायद यस कुरामा स्वामी विवेकानन्दबाट पनि उनी प्रभावित थिए । उनको पूर्वदक्षिण फर्केको सानो कोठा, जसलाई अफिस भनिन्थ्यो म सानो छँदा, त्यहाँको किताप राख्ने तखतामा मैले सानोमा अङ्ग्रेजीमा लेखिएको विवेकानन्दको विभिन्न भागको किताबहरू देखेको थिएँ– सेलेक्टिभ वर्क्स अफ स्वामी विवेकानन्द’को । बुझ्न सक्ने भएपछि मैले एउटा किताप आफैँले पनि पढेको थिएँ । मलाई अझै सम्झना छ एक लाइन विवेकानन्दले भनेका– ‘एउटा फुटबल खेलाडीले भगवान् कृष्णको नजिक गीता पढेर होइन राम्रो फुटबल खेलेर मात्र पुग्न सक्छ ।’ 

वेदप्रसादले मलाई भनेअनुसार उनले इन्जिनियरिङको सबै शैली प्रयोग गरेका छन् सरस्वती सदनमा । यसको मूल उद्देश्य उनको भविष्यप्रतिको दूरदृष्टि हो । उनी भन्थे– मैले पढाउँदा एउटा मात्र इन्जिनियरिङ स्कूल छ । भोलि धेरै हुन्छन् । यसमा विकास हुनेछ । विद्यार्थीलाई सिद्धान्त मात्र पढाएर हुँदैन । त्यो कहाँ कसरी प्रयोग गरिएको छ त्यो देखाइदिनु पनि पर्दछ । मैले सरस्वती सदनमा एउटै भवनमा त्यति धेरै शैली प्रयोग गरेको त्यो देखाउन सजिलो होस् भनेर हो । तर कुरा लगाउनेले चाहिँ सबभन्दा धेरै कुरा लगाएको र सबैतिरबाट धेरै विरोध भएको सरस्वती सदनको बाहिर निस्किएको क्यान्टिलिभर अर्थात् छज्जाको हो । त्यो अड्छ भन्ने मान्छे कोही अगाडि आएनन् सिवाय निर्माण गर्ने वेदप्रसाद । सबको एउटै बोली– त्यो अड्दै अड्दैन, खस्छ फर्मा खोल्नेबित्तिकै । महाराजालाई कुरा लगाउनेहरूको संख्या झन् बढेको थियो ।

फर्मा खोल्ने दिन एउटा अनौठो वातावरण । सब जम्मा भएका छन् कसरी खस्छ त्यो हेर्न । रमितेहरू त्यत्तिकै छन् । आफ्नो इन्जिनियरिङ ज्ञानमा पूर्ण भरोसा र त्यत्तिकै आफूले गरेको काममा विश्वास लिएका वेदप्रसाद निर्धक्क भएर फर्मा खोल्न लगाइरहेका छन् र आफैँ पनि हातमा गल लिएर खोलिरहेका छन् । अङ्ग्रेजीमा भन्छन् नि, ‘प्रेग्नेन्ट साइलेन्स’ अर्थात् के होला भन्ने निस्तब्धता छाएको छ सबैतिर वरिपरि । खस्यो भन्ने खबर जुद्ध शमशेरकहाँ पुर्याउन हतारो मनस्थिति लिएर बसेका पनि छन् । के पाउनलाई हो या के रिस हो वेदप्रसादसँग ? जुद्ध शमशेरले आफ्नो फोटोग्राफर रत्नध्वज जोशीलाई नै खटाएका थिए छज्जाको फोटो खिचेर ल्याउन ।

एक एक गरेर पूरा फर्मा खोलियो । तर छज्जा त जस्ताको तस्तै कुनै सपोर्टबिना आफँै टक्रक्क अडेको छ । सब हेरिरहेका छन् । जिल्ल परेका छन् । रत्नध्वजले उभ्याएको ट्राइपडमा कसेको क्यामेराको भाँडोको मुजे पर्दाभित्र आफ्नो टाउको हुलेर फोटो खिचिरहेका छन् । फोटो खिच्ने प्रविधि त्यही नै थियो काठमाडौँमा त्यतिबेला ।

त्यसपछि वेदप्रसाद कामदारहरूलाई लिएर त्यो छज्जामाथि पुग्छन् र बस्छन् सबैलाई लिएर यो विश्वास दिलाउन जनमानसलाई कि यो खस्ने चिज होइन । सधैँ अड्ने निर्माण हो । तल कुनै लट्ठाको सपोर्ट नभएर के भो त ? रत्नध्वजले यो फोटो पनि खिचे । जुद्ध शमशेरकहाँ ती फोटोहरू पुगेपछि कुरा लगाउनेहरू हक्क न बक्क भए । अनि बल्ल वेदप्रसादले मुक्ति पाए यिनीहरूबाट । छज्जा शोभायमान भएर अडे पनि भनिन्छ, फिजिक्सका प्रोफेसर आशुतोष भने ढोकाबाट उफ्रिएर बाहिर आउँथे र भन्थे– यो फिजिक्सको सिद्धान्त विपरीत छ । कुनै बेला पनि खस्न सक्छ । 

वेदप्रसादबारे वसन्तका लेख


Author

थप समाचार
x