विचार

संकटमा अर्थतन्त्रलाई के हुन्छ ?

विश्व पौडेल |
चैत २३, २०७८ बुधबार १०:३७ बजे

सन् १९९८ मा भारत र पाकिस्तानले आणविक बम परिक्षण गरेपछीको अन्तर्राष्ट्रिय नाकाबन्दीले गर्दा पाकिस्तानको अर्थतन्त्रमा धेरै समस्या आयो । पाकिस्तानीहरूले मुद्रास्फिती उच्च हुने डरले आफ्नो मुलुकको पैसा सकेसम्म विदेशी मुद्रामा साटेर विदेश पठाउन खोजे । त्यसले गर्दा बैंकमा पैसा कम भयो ।  तर त्यसको असर सबै पाकिस्तानी फर्महरुलाई उत्तिकै परेन ।

तत्कालिन शिकागो अर्थशास्त्री अतिफ मियाँ र अशिम ख्वाजाले गरेको अध्ययन अनुसार, ठूला फर्महरुलाई वैंकले ऋण दिनेमा खास असर परेन, ती जसरी पनि पाउँथे साना फर्महरुलाई पनि धेरै असर परेन किनकी तिनलाई ऋण पाउन पहिले पनि गाह्रो थियो । 


तर मध्यम साइजका फर्महरुलाई यसले असर पर्‍यो । तिनले ऋण पाउन गाह्रो भयो । यसरी ती साना हुँदै गए । यो ‘मिसिङ मिडल’ (अर्थात अर्थतन्त्रमा कि ठूला कि साना फर्महरू मात्र रहेर असमानता बढ्नु) घटना अर्थतन्त्रमा संकटको बेला हामीहरूले हेर्नुपर्ने मुख्यकुरा हो ।

यस्ता संकटले धनीलाई झन् धनी र गरीबलाई झन् गरीब नबनाउन, मान्छे–मान्छे बीचको आर्थिक असमानता नबढोस् भन्नेमा हामी निकै चनाखो हुनुपर्छ । जति असमानता बढ्छ त्यती द्वन्द्व बढ्नसक्ने संभावना हुन्छ र त्यसले हाम्रो भविष्यको समृद्धिको यात्रा अप्ठेरो बनाउनेछ । 

संकटमा, युद्धमा ‘साना’ मान्छेहरु झन् समस्यामा परेका हुन्छन । हाम्रो देशमा गरिबी उन्मूलन यति धेरै नाजुक छ कि धेरै मान्छेहरू गरिबीको रेखा वरिपरि नै छन् । केही वर्ष अघिको एक अध्ययन अनुसार हरेक दुई जना नेपाली गरिबीको रेखा तलबाट माथि जाँदा एक जना माथिबाट तल आएको हुन्छ ।

धेरै नेपालीलाई अझै पनि लील बहादुर क्षेत्रीको ‘बसाइँ’ उपन्यासमा वर्णन गरेजस्तै अप्ठेरो आर्थिक स्थिति छः पालेको भैंसी मर्दा, घरमा विहे वा किरिया हुँदा थातथालो छोडेर हिंड्नुपर्ने गरी आर्थिक आघात (इकोनोमिक शक) पर्छ । अहिले कोभिड–१९ को आघातका कारणले धेरै नेपालीलाई राहतले मात्र पुग्दैन । सबै अवस्था निरीक्षण गरेर जनताको सर्वांगिण रक्षा गर्न हाम्रो केन्द्रीय बैंक लगायतका आर्थिक संस्थाहरू लाग्नुपर्छ ।

(अर्थशास्त्री पौडेलले २०७७ वैशाख १२ मा व्यक्त गरेको विचार । यो सामग्री अहिले पनि त्यत्तिकै सान्दर्भिक भएकाले पुनः साभारसहित प्रकाशन गरेका हौं - सं.) 
 


Author

थप समाचार
x