विचार

टिप्पणी

एमसीसीको पत्रले उघारेकाे ‘कम्युनिस्ट मुकुन्डो’

बाहिर राष्ट्रवादको डम्फू, भित्र आफैँ लम्फू !

विष्णु विवेक |
माघ २३, २०७८ आइतबार २०:२२ बजे

काठमाडौँ : अमेरिकासँग चार वर्षअघि भएको अनुदान सम्झौता (एमसीसी) पारित गर्ने हस्ताक्षरसहितको प्रतिबद्धतापत्र सार्वजनिक भएपछि अमेरिकालाई सँधै ‘साम्राज्यवादी’ देख्ने माओवादी ‘मुकुन्डो’ उत्रिएको छ । एमसीसी पारित गर्ने विषयमा सत्तामा हुँदा सबथोक गरेको र प्रतिपक्षी बनेपछि मौन बसेको एमाले पनि ‘लुसुक्क बालुवाटारमा प्रकट’ भएको छ । 

एमसीसी पारित गर्ने विषयमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको हस्ताक्षरसहितको पत्र सार्वजनिक भएसँगै माओवादीको मुकुन्डो उत्रिएको हो ।


पछिल्लो समय प्रचण्डले देउवासँग एमसीसी पारित गर्न सघाउँछु भनेपनि बाहिर भने चर्को विरोध गरिरहेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा एमसीसी पारित गर्न संसद्मा दर्ता गराएपनि विपक्षमा पुगेपछि मौनता साँधे ।

नेकपा माओवादी केन्द्रले आठौँ महाधिवेशनबाट ‘एमसीसी यथास्थितिमा’ पारित गर्न नसकिने प्रतिवेदनमा उल्लेख गरेको थियो। एमसीसीका नाममा नेपालमा अमेरिकी सेना ल्याएर चीनविरुद्ध रणमैदान बनाउन लागिएको भ्रम माओवादी नेताहरूले छर्दै आएका छन् ।

खासगरी माओवादीमा पनि सैद्धान्तिक रुपमा ‘चीनप्रति नरम, अमेरिकाप्रति गरम’धारका नेताहरू एमसीसीको चर्को विरोधमा देखिन्छन् । माओवादी केन्द्रका नेता देव गुरुङले केही दिनअघि यो पंक्तिकारसँग भनेका थिए, ‘हाम्रो महाधिवेशन बैठकले एमसीसी खारेज गर्ने निर्णय गरिसकेको छ । अध्यक्षले कहाँ, कसलाई के भन्नु भयो भन्ने कुराले अर्थ राख्दैन ।’

नेता गुरुङ एमसीसी पारित गर्न कांग्रेस अग्रसर हुनुलाई ‘दलाल’ विचारधारा भन्थे । एमसीसीका कारण गठबन्धन फुट्न सक्ने भन्दै उनले संशोधनबिना एमसीसी पारित गर्नै नमिल्ने बताउँदै आएका थिए । खासगरी अध्यक्ष प्रचण्डको एमसीसी पारित गर्ने विषयमा नरम भएको प्रश्न खस्न नपाउँदै गुरुङ जस्ता नेता बम्किहाल्थे ।

केही समयअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनविरुद्धको सडक प्रदर्शनका क्रममा पुल्चोकमा आफ्नै कार्यकर्ताले ‘एमसीसी खारेज गरौँ’ भन्ने नारा लगाउँदा प्रचण्डले रोकेका थिए । जुन भिडियो फुटेज सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

खासगरी प्रचण्डले एमसीसीको विषयमा आफूभन्दा आफ्ना कार्यकर्तालाई उचालिरहेको तथ्य पनि सतहमा आएको छ । एमसीसीलाई पठाएको प्रमाणले त्यही पुष्टि गर्छ ।

ओली लुसुक्क बालुवाटारमा !

दोस्रो पटकसमेत संसद विघटन गरेपछि सर्वोच्चको आदेशपछि बालुवाटारबाट बिदा भएका एमाले अध्यक्ष केपी शर्मा ओली ‘लुसुक्क’ बालुवाटार पुगेका छन् । ओली सत्ता छाडेपछि सात महिनापछि पहिलोपटक बालुवाटार पुगेका हुन् ।

सर्वोच्चले संसद विघटन बदर गरेर प्रतिगमन खारेज गरेपनि ओलीको ‘दम्भ’ भने कायमै थियो । एमसीसीका विषयमा माओवादी अध्यक्ष प्रचण्डसँग विमति चर्किएपछि केही समयअघि प्रधानमन्त्री देउवा आफैँ बालकोट पुगेका थिए ।

बालुवाटारमा एमसीसीबारे छलफल गर्दै प्रधानमन्त्री देउवाका साथमा दाहाल र ओली । फोटो : गोविन्द परियार

त्यसबेला सम्भावित सत्ता समीकरण र एमसीसीका विषयमा गम्भीर छलफल भएको अनुमान चलेको थियो । तर वास्तविकता सतहमा आएको थिएन । आइतबार देउवा र दाहालको हस्ताक्षरसहितको एमसीसीलाई लेखेको प्रतिबद्धतापत्र सञ्चारमाध्यममा प्रकाशित भएपछि ओली बालुवाटार पुगेका हुन् । ओली, महासचिव शंकर पोखरेलका साथ बालुवाटार पुगेका हुन् ।

यो पत्र बाहिरिएपछि माओवादी अध्यक्ष प्रचण्डको मुखुण्डो उघ्रिदा कांग्रेस र एमालेबीच सत्ता साझेदारी हुन सक्ने आँकलन गरिएको छ । बाहिर चर्कोसँग विरोध गर्दै एमसीसी पारित गर्न सरकारलाई नसघाएपछि देउवा पनि दाहालसँग चिढिएका थिए । 

चुनावको मुखमा प्रचण्डलाई संकट 

देउवासँगै हस्ताक्षर गरेको पत्र नै बाहिरिएपछि माओवादी अध्यक्ष प्रचण्डलाई ‘फेस सेभिङ’ गर्नै सकस देखिएको छ । उनले यस विषयमा प्रधानमन्त्री देउवासँग टेलिफोन गरेरै गुनासो पोखेका छन् । 

तर वास्तविकता खुल्न अझै बाँकी छ । यसअघि स्थानीय तहको चुनावको मिति सार्वजनिक गर्ने क्रममा पनि दाहालले आफूअनुकूल मिति घोषणा गर्न देउवालाई दबाब दिएका थिए । 

त्यतिबेलादेखि नै देउवा दाहालसँग चिढिदै गएका थिए । तीनै तहको चुनाव एकैपटक गर्न संविधान संशोधन गर्नुपर्ने प्रस्ताव लिएर सत्ता गठबन्धनमै सकस पैदा गराएका दाहाललाई ‘एमसीसी पत्र’ले झन् ठूलो संकटमा पारेको छ ।

आगामी चुनावमा कांग्रेसकै सहारामा पार्टीको ‘सम्मानजनक सिट’ जोगाउने उपाय खोजिरहेका दाहाल पछिल्लो घटनाक्रमले झन् ठूलो संकटमा फसेका छन् । एमसीसीका नाममा ‘सेन्टिमेन्ट’ देखाएर भोट बटुल्ने र गठबन्धनसँग संसदीय राजनीतिमा अभ्यस्त हुने प्रचण्ड दाउमाथि अमेरिकी एमसीसी पत्रले चिसो पानी खन्याइदिएको चर्चा हुन थालेकाे छ ।

त्यतिमात्रै होइन, नेताहरूको भाषण सुनेर एमसीसीप्रति धारणा बनाएका सर्वसाधारणले पनि चुनावको मुखमा प्रचण्ड र ओलीको ‘कम्युनिष्ट चरित्र’ प्रष्टसँग देख्ने अवसर पाएका छन् ।   

सत्तामा छँदा अरुलाई विरोधी र बाधक देख्ने नेता प्रतिपक्षी भएर सडकमा पुग्दा आफैँ विरोधी भएर राष्ट्रवादको डम्फू बजाउने प्रवृत्ति नौलो होइन । तर आफ्नै अनुहारमा ‘कालो पोतिँदा’ पनि ऐनालाई दोष देखाउने ओली र प्रचण्डको ‘कम्युनिष्ट चश्मा’ कति दोषी छ भन्नेबारे अब शंका गरिरहनुपरेन । 


Author

विष्णु विवेक

राजनीति, समाज, शिक्षा, पर्यटन लगायत समसामयिक विषयमा कलम चलाउने विवेक करेस्पोन्डेन्ट हुन् ।


थप समाचार
x