विचार

इकागज संवादमा प्रा.डा.राजेश गौतम

विचार र व्यवहारमा यस्तै विचलन भइरहे कांग्रेस प्रजा परिषद् हुन्‍छ

कांग्रेस नेताहरू एक पेजको चिर्कटो लेख्‍न-पढ्न नसक्ने भएका छन्

विमल आचार्य | अनिष भट्टराई |
मंसिर २३, २०७८ बिहीबार १६:४२ बजे

कांग्रेसका गुट-उपगुट महाधिवेशनको रापतापमा दौडादौड गरिरहेका बेला बुधबार दिउँसो आफ्नो निवास भीमसेनगोलामा उनी पनि रापतापमै थिए । कस्तो तापमा भने उनी आँगनमा आरामले घाम तापिरहेका थिए । उनको ढाड मात्र घाममा थियो, छायाँ टेबलमा किताब-कापी-कलम राखेर उनी लेखपढ गरिरहेका थिए । ‘नेपालको प्रजातान्त्रिक इतिहासमा नेपाली कांग्रेसको भूमिका’ भनेर ९ भागमा झन्नै चार हजार पृष्ठ लेखेका उनी त्यही पार्टीको महाधिवेशनको पूर्वांगमा प्रोफेसर विहारीलालको पुस्तक ‘आचार्य नरेन्द्रदेव : युग और नेतृत्व’मा हराइरहेका थिए । ‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजा परिषद्को भूमिका’ शोधग्रन्थका लागि ३२ वर्षअघि नै मदन पुरस्कार पाएका उनी आधुनिक नेपालको इतिहासका ज्ञाता हुन् । त्रिभुवन विश्वविद्यालय (त्रिचन्द्र कलेज) मा साढे तीन दशक इतिहास प्राध्यापन गरेका उनै गुरुले कांग्रेस महाधिवेशन प्रतिनिधिको जाँच लिने गरी प्रश्नपत्र बनाए । उत्तरपुस्तिका चित्तबुझ्दो हुनेमा भने उनैलाई शंका छ । प्रस्तुत छ, प्राध्यापक डाक्‍टर राजेश गौतमसँग इकागजका विमल आचार्य अनिष भट्टराईको वार्तालाप:

सर, तपाईंको अध्ययन र अनुसन्धानको विषय बृहत् छ, तर तपाईंका धेरैजसो वार्ता बीपी जयन्ती, मेलमिलाप दिवस वा यस्तै कांग्रेसी महाधिवेशनताका यस्तै विषयमा बढी देखियो नि ?
मैले नेपाली कांग्रेसको मात्रै इतिहास लेखेको होइन । साँच्चै भन्दा प्रजातान्त्रिक आन्दोलनको सिरियल नै छ मसँग । प्रचण्ड गोरखाको इतिहास छ, प्रजापरिषद्को छ, डाक्टर केआई सिंहको छ, गोरखा परिषद्को छ, नेपाली कांग्रेसको छ । यी सबैको इतिहास लेखेको छु । तर अहिले गोरखा परिषद्लाई कसले चिन्ने, प्रजापरिषद्, प्रचण्ड गोरखालाई कसले सम्झने ? अहिलेको युवापुस्तामा पनि यस विषयमा कुनै ज्ञान लिने चाहना छैन । जसले पनि सजिलोका रूपमा आफूलाई प्रस्तुत गर्ने गरिरहेका छन् । पत्रकारले पनि गरेको यही हो, सामान्य सर्वसाधारणले गरेको पनि यही हो । प्रजातन्त्रको कुरा गर्दा कांग्रेस मात्रै त आउँदैन । तर, यस्तै छ । 


एउटै विषयमा उही कुरा बारम्बार गर्दा अल्छी लाग्छ ?
अल्छी नै त लाग्दैन तर पत्रकारहरूलाई अरु विषय खासै चासो लाग्दैन होला । (यो पंक्तिकारले गौतमसँग गरेको यो दोस्रो वार्तालाप हो, पहिलो कुराकानी त्रिचन्द्र कलेज सय वर्ष पुगेका बेला नेपाल म्यागेजिनका लागि शैक्षिक इतिहासको वार्ता थियो ।) विभिन्न दलहरूका कुरा आउँछन्, २००७ सालदेखिको इतिहासका कुरा आउँछन् । २००७ सालदेखिको इतिहास भनेको कांग्रेसको मात्रै इतिहास त होइन । प्रजातन्त्र ल्याउन कांग्रेसले मात्रै आन्दोलन गरेको होइन । अरु दलहरूले पनि त्यति नै भूमिका निर्वाह गरेका हुन् । प्रचण्ड गोरखा, नेपाल प्रजा परिषद्, गोरखा परिषद् सबैका आआफ्नै भूमिका छन् ।

बीपीले अपनाएका कुरा नै अहिले अपनाइनुपर्छ भन्ने पनि ठीक होइन ।

यिनीहरूका बारे कसैलाई पनि थाहा छैन । साँच्चै भन्दा आजका पत्रकारहरूलाई प्रचण्ड गोरखाको बारेमा पनि थाहा छैन, प्रजापरिषद्को बारेमा पनि थाहा छैन । उनीहरूलाई के थाहा छ भने नेपालमा कांग्रेस छ, कम्युनिस्ट छ । यति मात्र थाहा छ । त्यो अलावा निस्किएर खोजी गर्ने भन्ने देखेको छैन । युवापुस्तामा पनि देखेको छैन । मैले गर्नुपर्ने काम गरेको छु । मलाई हेर्ने आआफ्ना दृष्टिकोण होलान् । तर ती दृष्टिकोण आआफ्नो बुद्धि, विवेक, औकातअनुसार बन्छन् । त्यसैले मलाई केही असन्तुष्टि छैन । 

युवा पुस्ता, युवा पुस्ता भन्नुभयो, हर पुस्तामा विशेष लेखपढ गर्ने त थोरैले मात्र त होला नि, के पहिला सबैले पढ्थे त ? पढ्ने संस्कृतिबारे खास टिप्पणी के हो यहाँको ? 
पढ्ने चिन्तनको परम्परा हिजोको तुलनामा आज धेरै फरक छ । हामीले अध्ययन गर्ने क्रममा गुरुहरूले तिमीहरू जस्तो बिग्रेको विद्यार्थी आजसम्म आएनन् भनेर गाली गर्नुहुन्थ्यो । जब कि हामी अनुसन्धान गथ्र्यौं, खोजी गथ्र्यौं । अभिलेखालय जान्थ्यौं, कागजपत्र हेरेर खोजी गथ्र्यौं ।  तर आजका पुस्ताले सही पुस्तक पढ्नुभन्दा गाइड पढ्ने संस्कृति छ । यसकारण ज्ञानलाई फराकिलो बनाउने स्थिति अहिले करिबकरिब अन्त्य भइसकेको जस्तो लाग्छ । सरल रूपमा डिग्री पास गर्ने सोचबाट प्रेरित भएको छ, अहिलेको पुस्ता । अध्ययन, अनुसन्धान गर्ने चलनमा हिजोको तुलनामा आज निकै ह्रास आइसकेको छ । 

तपाईं कांग्रेस वरिपरि रहेकाले कम पढ्छन् भन्नुभएको हो कि ? दुई साता अघि मात्र झलक सुवेदीले एक लेखमा कम्युनिस्ट वा वामपन्थी लेखकहरूको लामो सूची दिनुभएको छ । कांग्रेस पार्टी पंक्तिले तपाईंका किताब पढेर दिएको प्रतिक्रिया कस्ता छन् ?
नेपाली कांग्रेसभित्र पढ्ने संस्कृति त्यति साह्रो छैन । कांग्रेसमा कस्तो स्थिति छ भने सबै कुरा मलाई थाहा छ, मैले जानेको कुरा अरुले जानेका छैनन् भन्ने सोच नेताहरूमा छ । नेपाली कांग्रेसको विकास कसरी भयो भन्ने भन्दा पनि वर्तमानमा नेपाली कांग्रेस कस्तो छ, कुन दिशामा हिँडेको छ, कुन नेता शक्तिशाली छ, कसको पछि लागे फाइदा हुन्छ भन्ने दृष्टिकोणमा मात्र अहिलेको पुस्ता लागेको छ । खोजी गरेर पढ्ने संस्कृति नै छैन । 

कांग्रेसबारे त्यत्रा ठेली लेख्नुभयो, स्वयं पार्टीका नेता–कार्यकर्ताले तपाईंलाई के भने र भन्छन् ? 
एउटा घटना बताउँछु, टेकुमा नेपाली कांग्रेसको कार्यालय थियो । गिरिजाप्रसाद कोइराला पार्टी सभापति हुनुहुन्थ्यो । उहाँले पार्टी कार्यालयमा पुुस्तकालय बनाउने भन्नुभयो । पुस्तकालय खोल्ने भनेपछि मसँग भएका किताब, कागजपत्र दिनुपर्यो भनेर भने ।

ज्ञानलाई फराकिलो बनाउने स्थिति अहिले करिबकरिब अन्त्य भइसकेको जस्तो लाग्छ ।

मैले मसँग भएका केही पुस्तक, कागजपत्रको फोटोकपी लाइब्रेरीमा पठाइदिएँ । त्यो लाइब्रेरी बिस्तारै अन्त्य भयो । किताब छ्यालब्याल भए । नेपाली कांग्रेसभित्र पढ्ने संस्कृतिको विकास सही रूपले हुन सकेन । 

सार्वजनिक पुस्तकालय कमजोर बनेर व्यक्तिको संकलन भव्य भयो होला कि ? 
होला, घरघरमा सबैले अध्ययन गरेका होलान्, धेरै संकलन गरेका होलान् तर नेपाली कांग्रेस जस्तो सशक्त पार्टीको भवनमा सही र राम्रो पुस्तकालय चाहिन्छ भन्ने कुरामा कोही संलग्न भएको देखिएन । 

पढ्ने संस्कृति हिजो कस्तो थियो ?
हिजोको बेला पढ्न पाइँदैनथ्यो । त्यो बेग्लै कुरा भयो । तर जो पढ्थे, सही रूपमा पढ्थे । आलोचना, प्रत्यालोचना सबै गर्थे र पढ्थे । राजनीतिक रूपमा त्यसको व्याख्या अर्कै किसिमले हुन्थ्यो पनि । सही रूपबाट पढ्ने संस्कृति विकसित भएको थियो । आफ्नो देशको राजनीतिक व्यवस्थाबारे चर्चा गर्न नपाए पनि विदेशबारे चर्चा गर्न पाइन्थ्यो । सीमित थियो, राम्रो थियो हिजो । आज व्यापक छ, धेरै नै कमीकमजोरी छन् । 

नेपाली कांग्रेसबारे थुप्रै पुस्तक लेख्नुभयो । कांग्रेसभित्रै विभिन्न वैचारिक विभाग होलान्, तिनमा तपाईंलाई निम्त्याइएको कुनै सम्झना छ ? 
छैन । तर २०४६ सालपछि विभिन्न ठाउँमा पार्टीले कक्षा चलाएको थियो । ती ठाउँहरूमा आफ्नो इतिहास नेपाली कांग्रेसले पढाउँथ्यो । यसै सिलसिलामा पाठ्यक्रम पनि बनाएको थियो । नरहरि आचार्यजी, महेश आचार्यजी, जयप्रकाश गुप्ताजीसँगै म पनि संलग्न थिएँ । त्यो पाठ्यक्रमअनुसार शिविर चलाएको थियो, नेपाली कांग्रेसले । एक–दुई शिविरमा म पनि आगन्तुकका रूपमा थिएँ । त्यसपछि उनीहरूले मलाई सम्झेका छैनन्, बोलाएका छैनन्, आवश्यकता पनि ठानेनन् होला । मैले अघि पनि भनेँ, नेपाली कांग्रेसभित्र सबै आफूलाई जानकार ठान्छन् । त्यसमा कुनै अफसोस पनि छैन । 

कांग्रेस लामै समय सरकारमा रह्यो । तपाईंलाई विश्वविद्यालय, प्रज्ञा–प्रतिष्ठानहरूमा नियुक्ति दिएन नि ? 
मलाई कुनै अनुरोध कहिल्यै आएन । एमालेको सरकार हुँदा सरकारी पदहरूमा गएँ । जस्तो विकास परिषद्मा रहेँ, रेडियो नेपालको बोर्डमा बसेँ, राजनीतिक पीडितहरूकोमा पनि गएँ । विश्वविद्यालय, एकेडेमीतिर अफर आएन । छलफल गर्ने बेला बोलाउँथे, त्यो अलग कुरा भयो । तर मलाई कुनै पद दिएर अनुरोध गरेको थाहा छैन । 

नेपाली कांग्रेस १४औं महाधिवेशनको सँघारमा छौं । हरि शर्मादेखि ध्रुव सिम्खडासम्मका टिप्पणीकारहरू अहिलेको महाधिवेशनलाई विचारशून्य महाधिवेशन भनिरहेका छन् । यसै हो त ?
जो मानिसले आफ्नो देशको संस्कृति पढ्दैन, त्यो मान्छेले देशको संस्कृति, परम्परा सबै कुरालाई बिर्सेको हुन्छ । राजनीतिमात्रै देश होइन । राजनीति जानेरमात्र देश चल्दैन । देश चल्नका निम्ति जनता, भाषा, रीतिरिवाज, संस्कृति सबैबारे ज्ञान हुनुपर्छ । हाम्रा नेताहरूमा म यो कमीकमजोरी देख्छु । नेपाली कांग्रेसको मात्रै होइन, अरु दलका नेताहरूमा पनि यो कमजोरी छ । हो, उनीहरूले स्तम्भका नाममा इतिहासको सानो भाग उल्लेख गर्छन् । तर यहाँ सही इतिहास पढेर, सही व्याख्या गरेर अघि बढ्ने परम्परा छैन । राजनीतिक दलका नेताहरूमा के छ त भन्दा नेपाली कांग्रेसको इतिहास पढ्यो अनि कम्युनिस्टलाई गाली गर्यो । कम्युनिस्टको इतिहास पढ्यो, नेपाली कांग्रेसलाई गाली गर्यो । यही प्रवृत्ति देखापरेको छ । इतिहास भनेको गाली गर्ने आधार होइन, सिक्ने आधार बनाउनु पर्छ । गाली गर्ने आधार बनाइयो भने सही शिक्षा लिन सकिँदैन । विचारशून्य महाधिवेशन भनेर मैले पनि भनिसकेको छु । 

विचारशून्यताको अवस्था एकाएक आयो त ? 
एकाएक होइन । नेपाली कांग्रेसका सबै नेता जो अहिले पदका आकांक्षी छन्, उनीहरूमा कुनै भिजन देखिएन । दौड चाहिँ सभापतिको पदमा छ, तर विजयी भएपछि पार्टीलाई कसरी अघि बढाउँछु भन्ने आधार उनीहरूसँग छैन । पछिल्लो समयमा आएर विमलेन्द्र निधिले एउटा मेनिफेस्टो सार्वजनिक गरे । त्यसमा सही रूपबाट कुनै टिप्पणी छैन । शेरबहादुरले निकालेको पत्रमा पनि कुनै भिजन छैन । आफूले हिजो गरेका खराब कामलाई ढाकछोप गरेर अघि बढ्ने प्रवृत्ति देखिएको छ, यसले पार्टी र देश दुवै चल्न सक्दैन । कसरी आउनुपथ्र्यो भने, हिजो मैले यो गल्ती गरेँ, भोलि गर्दिनँ भनेर प्रस्टीकरण आउनु पर्यो । भएका अरु बाँकी नेताहरू शेखर, शंशाक, प्रकाशमानको त कुनै योजना नै पढ्न पाइएन । यो विचार शून्य अवस्था हो । खालि सत्ताको दौडमा दौडिरहेका छन्, सब । 

तपाईंले प्रजा परिषद्को इतिहास लेख्नुभयो, के कांग्रेस पनि प्रजा परिषद्कै दिशामा लागेको हो त ? 
प्रजा परिषद् र नेपाली कांग्रेसको इतिहास फरक हो । यद्यपि नेपाली कांग्रेसको राजनीतिक बीजारोपणमा त प्रजा परिषद् नै थियो । यसको मतलब नेपाली कांग्रेस प्रजा परिषद्कै दिशामा लाग्छ भनिहाल्न मिल्दैन । प्रजा परिषद्मा के रह्यो भन्दा, विचारले शून्य व्यक्ति थिए । विचारमा स्खलन भएका नेताहरू थिए । प्रजा परिषद्कै नेताहरूको इतिहास हेर्ने हो भने उनीहरू कहिल्यै माक्र्सवादी विचारमा विश्वास गर्छौं भन्ने, कहिले समाजवादी विचारधारा मान्छौं भन्ने । राजनीतिक सिद्धान्तमा भिन्नता देखिन्थ्यो । त्यही रूपमा कांग्रेस अघि बढ्छ भनेर भन्न सकिन्न । तर यही रूपले अघि बढिरहे कालान्तरमा कांग्रेस पनि त्यस्तै नबन्ला भन्न सकिन्न । तर युवापुस्ताहरू अहिले कांग्रेसमा आइरहेका छन् । सिद्धान्त बोकेर आउने एक खाले युवा छन् भने अर्कोतर्फ नेताको पछि लागे फाइदा हुन्छ भनेर लाग्ने युवा छन् । कांग्रेस अझै पनि सशक्त पार्टी हो, भोलिको दिनमा प्रजा परिषद्कै बाटोमा लाग्छ भनेर अहिले नै भनिहाल्नु उचित हुँदैन । तर, पार्टीमा विचार र व्यवहारको यस्तै विचलन भए पार्टी प्रजा परिषद् नहोला भन्न सकिन्न ।

कांग्रेसले गर्नुपर्ने सुधार के-के हुन् ? 
नेपाली कांग्रेसको हिजोको जुन विचारधारा हो, त्यसमा अहिले नेपाली कांग्रेस अघि बढेको छैन । बिर्संदै गएको छ । यति भन्दाभन्दै एउटा कुरा के हो भने बीपीले अपनाएका कुरा नै अहिले अपनाइनुपर्छ भन्ने कुरा पनि ठीक होइन । तर जुन मूलभूत सिद्धान्त हो, त्यसलाई टेकेर नयाँ सिद्धान्त ल्याउनु पथ्र्यो । कांग्रेसले समाजवाद भन्छ, तर कस्तो समाजवाद हो ठ्याक्कै भन्न सक्दैन । समाजवादका किसिम फरकफरक छन् । एसियनहरूको समाजवाद फरक छ । युरोपेली समाजवाद फरक छ । हो, मूलभूत रूपमा समाजवादको सिद्धान्त एउटै छ, तर आआफ्ना समाजवाद छन् । नेपालले समाउनुपर्ने समाजवाद कस्तो हो भने नेपालको माटोलाई सुहाउने, नेपाली जनजातिलाई सुहाउने खालको हो । नेपालले विदेशी राष्ट्रहरूले अपनाएको खुला नीतिलाई पछ्याएको छ । एउटा सियो नबन्ने नेपालजस्तो ठाउँमा विदेशीले झैं खुला नीति बनाएर के गर्नु ? अर्थमन्त्रीले भन्नुभएछ, मोबाइल नेपालमै बनाउनुस् भनेर । सबै पाटपुर्जा ल्याएर बाहिरबाट ल्याएर के नेपालमै बनाउने ? यस्तो चरित्रले समाजवाद अघि बढ्दैन । नेपाली समाजको चरित्र हेरेर समाजवाद अपनाए मात्र समाजवाद फाइदाजनक हुन्छ । नेपाली कांग्रेस समाजवादको मुद्दामा चुकेको छ ।

नेपाली कांग्रेसको इतिहास पढ्यो अनि कम्युनिस्टलाई गाली गर्यो । कम्युनिस्टको इतिहास पढ्यो, नेपाली कांग्रेसलाई गाली गर्यो । यही प्रवृत्ति देखापरेको छ ।

राजनीतिक विचारधाराको कुरामा चुकेको छ । न्यायालको कुरामा चुकेको छ । अब कांग्रेस पार्टी भन्ने अनि भोट चाहिँ हँसिया–हतौडालाई हाल भन्ने सभापति भइन्जेल नेपाली कांग्रेस अघि बढ्न सक्दैन । हिजोका गलत कामलाई रोक्दै अघि बढ्नुपर्छ । एउटै पार्टीको मात्र आलोचना गर्दा अन्य पार्टीलाई समर्थन गरे जस्तो सन्देश जान्छ । नेपालका सबै राजनीतिक दलमा वैचारिक विचलन आएको छ । वैचारिक विचलन नआएको भए कम्युनिस्ट पार्टी किन फुट्थ्यो ? यो विचलन नेपाली कांग्रेसमा नभएको होइन । सिद्धान्तमा अडिग नरही सत्तामा रहने सोच आएपछि पार्टीलाई बलियो बनाउन सकिँदैन । 

वैचारिक विचलन आएर हालै कम्युनिस्ट पार्टी अनि पार्टीहरू फुट्छन् भन्नुभयो, विभाजनको कारकमा सिद्धान्त प्रधान हो कि सत्ता ? 
नेपालमा सबै दलको चिन्तन एकै छ । एउटै चिन्तनमा अघि बढेका छन् । उनीहरू सबैको एउटै चिन्तन के हो भने कसरी सत्ता पाउने ? कसरी कमाउने ? कसरी आफू टिकिरहने ? त्यसैले नेपालमा सबै राजनीतिक दलहरू एकै हुन् । कसैले आफूलाई कम्युनिस्ट भनेर प्रस्तुत गरेका छन्, कसैले आफूलाई कांग्रेस भनेका छन्, कसैले माओवादी भनेर निस्किएका छन् । यथार्थमा सबैको राजनीतिक धरातल एकै हो । 

राजनीतिको ध्येय नागरिकको खुसी बढाउनतिर हुनुपर्ने हो, यस्तो छ त ?
सबैले गर्नुपर्ने काम जनताकै खुसीका लागि हो । जनता त के खोज्छन् ? खान, लगाउन, बाँच्न पाउनुपर्छ । शिक्षा, उपचार पाउनुपर्छ भन्ने त हो । यी  कुरामा राजनीतिक दल एकै ठाउँ भए देश विकास भइहाल्छ नि । जनताले यिनै कुरा खोज्दा पाए भने एकै लाइनमा हिँडिहाल्छन् नि । 

पार्टीहरू यस्तो अवस्थामा आइपुग्न कार्यकर्ता, जनता, पत्रकार, बौद्धिक वर्गको के-कस्तो योगदान छ ? 
बौद्धिक वर्गको के अर्थ भयो र ? कुनै राजनीतिक दलले बौद्धिक भनिनेलाई त्यति महत्व दिएका छैनन् । बौद्धिक वर्गले हामी बौद्धिक हौं भनेर फुलेर बस्नुबाहेक केही छैन । जनता, पत्रकार, राजनीतिक दल कसैले पनि बौद्धिक वर्गलाई गन्दैनन् । बुद्धिजीवीसँग के सम्बन्ध भयो र ?  कसलाई बुद्धिजीवी भन्ने हो ?

जनता, पत्रकार, राजनीतिक दल कसैले पनि बौद्धिक वर्गलाई गन्दैनन् । कसलाई बुद्धिजीवी भन्ने ? भएकाहरू पनि कोही कांग्रेस, कम्युनिस्ट, माओवादी भएर निस्किएका छन् । 

भएकाहरू पनि कोही कांग्रेस, कम्युनिस्ट, माओवादी भएर निस्किएका छन् । बुद्धिजीवीहरू बुद्धिजीवी भएर नै बसिदिनुपथ्र्यो । बुद्धिजीवीहरूले दिएको सुझावका आधारमा दलहरू बढ्छन् भन्ने लाग्दैन । राजनीतिक दलभित्र पनि आफ्ना मान्छेलाई कसरी जिताएर ल्याउने भन्नेमात्र छ । देख्नुभएन कांग्रेस महाधिवेशनमा भएका भाँडभैलो ? यस्ता गतिविधिले न देश बलियो हुन्छ, न जनता बलिया हुन्छन्, न त पार्टी नै । 

महाधिवेशनपछि पार्टी सुध्रिन्छ कि थप बिग्रन्छ त, कस्तो देख्नुहुन्छ ? 
सही रूपबाट जुन किसिमले वैचारिक दृष्टिकोणबाट संस्कारित भएर हिँड्नुपथ्र्यो, त्यो हुन सकेको छैन । कांग्रेस नेताहरू एक पेजको चिर्कटो लेख्न र पढ्न पनि नसक्ने भएका छन् । अरु कसैले लेखिदिए पनि त्यसमा के लेखिएको छ भनेर पढ्दैनन् । विधान त पढेका छैनन्, अरु के कुरा ?

विश्वविद्यालयमा प्राध्यापन गर्दा तपाईंले विद्यार्थीका लागि प्रश्न पनि बनाउनु भयो । उत्तरपुस्तिकाहरू पनि जाँच्नुभयो । अहिले नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरू काठमाडौं हुनुहुन्छ । ती सबै प्रतिनिधिहरूका लागि प्रश्न बनाउनुपरे के-के प्रश्न सोध्नुहुन्थ्यो होला ? 
महाधिवेशनरुपी परीक्षामा भाग लिने प्रतिनिधिरूपी विद्यार्थीलाई मेरा प्रश्न के हुन्छ भने:
१. तपाईंहरू नेपाली कांग्रेसलाई कसरी अघि बढाउन चाहनुहुन्छ ? 
२. आफ्ना नेताहरूलाई के शिक्षा दिनुहुन्छ ? 
३. आफ्ना नेतामा कस्ता–कस्ता गुण चाहनुहुन्छ ? 
यी माथिका प्रश्नमा उत्तरपुस्तिका जाँँच्दा जवाफ कस्तो पाउनुहोला त ?

उत्तर त सबैले देलान् । तर देखाउनका निम्ति आदर्शका कुराहरू मात्र उत्तरमा आउँछन् । तर तिनै उत्तर व्यावहारिक रूपमा कार्यान्वयन भने गर्दैनन् । उनीहरूले नम्बर पनि राम्रो पाउलान् । तर राम्रो नम्बर पाएर पास भएर गएपछि उनीहरू समाजमा स्थापित हुन सक्छन्/सक्दैनन्, त्यो सवालको कुरा हो । उत्तर त अहिलेका विद्यार्थीहरू सबैले गाइड बुक पढेर नै दिन्छन् नि । तर त्यो उत्तरअनुरूप आफूलाई समाजमा स्थापित गर्न कस्तो व्यवहार गर्छन् त्यो महत्वपूर्ण हो । उनीहरू आफूलाई समाजमा आदर्शका साथ स्थापित गर्न असफल हुनु भनेको समाज, देश असफल हुनु हो । 

कस्तो नेतृत्व आउँछ भन्ने लाग्छ, १४ औं महाधिवेशनपछि ? 
नेपाली कांग्रेस राम्रो किसिमले अघि बढोस् । वैचारिक दृष्टिकोणले स्पष्ट होस् । जुन सत्ताको होडबाजी छ, त्यो बन्द होस् । अहिले एक जनाको विरुद्ध छ जना उठ्ने जस्तो देखिन्छ । यसरी शेरबहादुरकै जित पक्का हुने देखिन्छ । यदि शेरबहादुरले गलत गरेको लाग्छ भने एकका विरुद्ध एक भएर लाग्नुपर्छ । साझा उम्मेदवार उनीहरूले नै निर्णय गर्नुपर्छ । तर शेरबहादुरकै विरुद्धमा उभिनेको पनि मास्टरप्लान छैन । उनीहरूमाथि पनि विश्वास गर्ने आधार त छैन । अहिले नेपाली कांग्रेसमा शेरबहादुरको विकल्प त मैले देखेको छैन, जुन हुनुपथ्र्याे ।

नेपाली कांग्रेसको इतिहासमा ९ वटा ठेली तयार पारेका इतिहासकार प्रा.डा.राजेश गौतमसँग भिडियो संवार्ता 


Author

विमल आचार्य

सामाजिक विषयमा कलम चलाउने आचार्य अप-एड तथा फिचर ब्यूरो चिफ हुन्।

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x