विचार

एमालेको दशौं महाधिवेशन

ओलीको पुनरोदय

पुष्पराज आचार्य |
मंसिर १०, २०७८ शुक्रबार ८:५६ बजे

भनिन्छ, ‘चान्स टेकर्स आर एक्सिडेन्ट मेकर्स’ (मौकापरस्ती गर्नेहरूले दुर्घटना गराउँछन्) । नेपाली राजनीतिमा त्यस्तै पात्र हुन्– केपी शर्मा ओली ।

उनले लोकतन्त्रलाई झण्डै–झण्डै दुर्घटनामा पारिसकेका थिए । दुईपटक त संविधान उल्लंघन गर्दै प्रतिनिधिसभा विघटन गरे, त्यो पनि आफ्नै दलभित्रबाट आफूमाथि उत्पन्न संकटका कारण । 


नियम र नैतिकतामा नचल्ने, विधि र पद्धति नमान्ने, अनुशासन भत्काउने र अराजकतालाई प्रश्रय दिने हुनाले उनलाई उत्पात् मन पराउनेहरू पनि प्रशस्त छन्, घृणा गर्नेहरू पनि उत्तिकै छन् । उनका फ्यान फलोअर्स र चाचाचु (चाकडी, चाप्लुसी र चुक्ली)हरूले उनलाई दिनुपर्ने सम्मानमा कुनै कसर बाँकी राखेका छैनन् । फेरि चाचाचुहरूबीच नै कसले बढी लम्पसार परेर प्रभावित पार्न सक्ने भन्ने प्रतिस्पर्धा छ । 

त्यो प्रतिस्पर्धामा ओलीकै परिवारका सदस्यजस्ता पूर्वमन्त्रीद्वय गोकुल बाँस्कोटा र महेश बस्नेतबीच नै ठूलो अनमन छ । महेशले ओलीलाई ‘आधुनिक नेपालको राष्ट्र निर्माता’को सम्मान व्यक्त गरेका छन् । गत असारमा प्रधानमन्त्रीबाट हटेपछि बालुवाटारदेखि सवारीसाधनको लावालस्करसहित ओली निवास बालकोटसम्म पुर्‍याउन महेशको अग्रणी भूमिका रह्यो ।

आफूले चाहेर पनि ओलीको नजरमा पर्नेगरी चाकडी बजाउन नपाउँदा कति नेता कार्यकर्ता खिन्न भएका छन् । त्यो लहरमा जोशिला युवा विद्यार्थीहरू पनि छन्, हालैमात्र अनेरास्ववियूकी अध्यक्ष सुनिता बरालले ‘भीम रावललाई अध्यक्ष पदबाट उम्मेदवारी फिर्ता गर्न सार्वजनिक आग्रह गरेर ओलीको सद्भाव बटुलिन् । जसले जहाँबाट सक्छ, बस् ! ओली भक्ति गर्ने हो । किनकी एमालेमा ओली सर्वमान्य नेता हुन् । 

एमाले र भ्रातृ संगठनका नेता, कार्यकर्तामात्र होइन, ओलीसँग एक्लाएक्लै हुँदा पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी (हाल बेलायतबाट फिर्ता बोलाइएका राजदूत) ओली आसन अगाडि भुइँमा पलेटी कसेर बस्थे रे भन्ने गाइँगुइँ सिंहदरबारमा सुनिएकै हो । 

हाँस्य कलाकार मनोज गजुरेल भन्छन्, ‘ओलीसँग चुनाव उठ्न पाइन्छ, तर त्यसपछि ओलीसँगै एमालेमा बस्नचाहिं पाइन्छ कि पाइँदैन, त्यो टुंगो छैन ।’ उठ्न पाइने तर सँगै बस्न नपाइने बडो फसादको अवस्था यतिबेला एमालेभित्र छ । ७० वर्ष पुग्न दुई वर्षमात्र बाँकी रहेका उपाध्यक्ष भीम रावलले अर्को महाधिवेशनमा उमेर हदले विदा हुनुपर्ने भएपछि यसपालि नै बरु उठेको उठ्यै हुनुपरे पनि उठ्ने दृढ साहस गरेका छन् ।

भीम रावल पनि ओलीसँग प्रतिस्पर्धा गर्ने मुडमा थिएनन् । नेतृत्व सहमतिमा चयन होस् भन्ने उनका चाहना थियो, जसलाई ओलीले सुनेनन् । सूर्य अस्ताउनमात्र पुग्ने सुदूरपश्चिममा रावलले एमालेले महाकाली सम्झौतापछि ‘अब सूर्य पश्चिमबाट उदाउँछ’ भनेजस्तै २०४८ सालमा एक सीट राप्रपाबाहेक सबै सीट नेपाली कांग्रेसले जितेको ठाउँमा २०७४ को आम निर्वाचनमा नेपाली कांग्रेसलाई एक सीटमा सीमित गरिदियो । एमालेलाई सुदूरपश्चिममा स्थापित गर्ने श्रेय रावललाई नै दिनुपर्छ । 

फेरि संविधान नमान्नेलाई पार्टीको विधानले बाँध्न सक्ने कुरा पनि भएन । शान्ति प्रक्रियामार्फत् राजनीतिक मूलधारमा आएदेखि नेपाली राजनीतिमा माहिर खेलाडीका रूपमा रहेका पुष्पकमल दाहाललाई समेत ललाईफकाई ओलीले झण्डै नेपालमा माओवादको शान्त विश्राम गराइदिएका थिए । 

त्यसकारण ओली नै समकालीन राजनीतिका ‘सबसे बडा खेलाडी’ हुन् भन्दा फरक पर्दैन । ओली संगठन, चातुर्य, धुर्त्याइँ, अनुभव र हरेक हिसाबले समृद्ध र राम्रो सेल्सम्यानसीप भएका नेता हुन् । त्यसकारण उनले बोलेर वा भिडेर सबैलाई कायल पारेका छन् । 

आजदेखि चितवनमा सुरु हुने नेकपा एमालेको दशौं महाधिवेशनबाट ओली अविछिन्न शक्तिशाली नेताका रूपमा रहनेछन् । पहिलेभन्दा अझै मजबुत र शक्तिशाली नेताका रूपमा मुलुकको प्रमुख राजनीतिक दलमा ओलीको पुनरोदय हुन लागेको छ । 

एमालेले महाकाली सम्झौतापछि ‘अब सूर्य पश्चिमबाट उदाउँछ’ भनेजस्तै २०४८ सालमा एक सीट राप्रपाबाहेक सबै सीट नेपाली कांग्रेसले जितेको ठाउँमा २०७४ को आम निर्वाचनमा नेपाली कांग्रेसलाई एक सीटमा सीमित गरिदियो । एमालेलाई सुदूरपश्चिममा स्थापित गर्ने श्रेय रावललाई नै दिनुपर्छ । 

केन्द्रमा आफूलाई राखेर बाह्य परिस्थितिबारे सोच्ने नेता हुन् । जोखिम मोल्ने नेता भएकाले उनी पटक–पटक असफल भएपनि जुरुक्क उठे । एमाले र माओवादी एकताबाट बनेको तत्कालीन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा भैंसेपाटी गठबन्धनले उनलाई केन्द्रिय समिति र स्थायी समितिमा अल्पमतमा पार्‍यो, तर उनी कहिले आत्तिएनन् । सत्तारुढ नेकपा कसले कब्जा गर्ने भन्ने होडमा पुष्पकमल दाहाल र माधवकुमार नेपालहरू लागिरहेका बेला उनले आफ्नोतर्फबाट केन्द्रीय कमिटी विस्तार गरे । निर्वाचन आयोगले त्यसलाई मान्यता नदिने भेउ पाएपछि सर्वोच्च अदालतको गत वर्ष फागुन २३ को फैसलामार्फत् आफ्नो दल फिर्ता ल्याए सँगसँगै माओवादीका नेताहरू रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह, गौरीशंकर चौधरी लगायतलाई आफूतिर ल्याए । 

ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे एक अन्तर्वार्तामा भनेका थिए, ‘स्वास्थ्यलाई लिएर कहिले चिन्ता गरिनँ । गयो–गयो भनेका मान्छे पनि उठेर आएँ । प्रधानमन्त्री भएँ । अहिले पनि दिनमा १७–१८ घण्टा काम गर्छु ।’ राजनीतिमा पनि त्यस्तै भयो पार्टी एकीकरण गरेर आफैंलाई असफलल बनाए, अब ओलीको राजनीति सकियो भन्दै गर्दा उनी त्यसैगरी उठे । एमालेलाई २०७५ जेठ ३ को अवस्थामा पुर्‍याएको भनिएपनि पार्टीमा नवौं महाधिवेशनबाट निर्वाचित संरचनालाई उनले महत्व दिएनन् । त्यसपछि आफ्नो अनुकुल गर्दै पार्टीभित्रका सदावहार विरोधी माधवकुमार नेपाल र झलनाथ खनाल लगायतलाई निकालेरै छाडे । 

२०७१ असारमा सम्पन्न एमालेको नवौं महाधिवेशनमा ओलीले अध्यक्षका अर्का प्रत्यासी माधवकुमार नेपालभन्दा केवल ४४ मतमात्र बढी कुल १,०४७ मत पाएका थिए । ओली र नेपाल प्यानल नै बनाएर निर्वाचन लडे पनि महाधिवेशनबाट मिश्रित परिणाम आएको थियो । नेपाल प्यानलका सुरेन्द्र पाण्डेले महासचिवमा ईश्वर पोखरेलसँग ६ मतको अन्तरले पराजित हुनुपर्‍यो भने भीम रावलले उपाध्यक्षमा सर्वाधिक धेरै मत ल्याएर विजयी भएका थिए । नवौं महाधिवेशनमा ओली बिरामी थिए, उनलाई एकपटक जसरी पनि अध्यक्ष बनाउनुपर्छ भनेर तत्कालीन समयमा नेता वामदेव गौतमले काँध थापेका थिए । तर, त्यसपछि ओली र गौतमको सम्बन्ध सधैं उतारचढावपूर्ण रह्यो भने ओलीले गौतमलाई सधैं आशा देखाएर तिर्सना जगाइरहे । तिर्सना मेट्न दिएनन् ।

नवौं महाधिवेशनमा ओलीमाथि धेरै नेता कार्यकर्ताको सहानुभूति थियो, दशौं महाधिवेशनसम्म आइपुग्दा तिनै नेता तथा कार्यकर्ता पार्टीका शक्तिशाली अध्यक्ष केपी शर्मा ओलीले आफूप्रति सहानुभूति दर्शाउँछन् कि भनेर उनको अघिपछि गर्दैछन् । 

चितवन भेलाले एमालेभित्र संस्थापन, पूर्व माओवादी पृष्ठभूमि र पार्टी एकताका लागि भएको भनिएको १० बुँदे सम्झौताका पक्षधर विगतमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका दश भाइ समेतलाई व्यवस्थापनका लागि कम्तीमा पदाधिकारीहरू सहमतिमा चयन गर्ने भनिएपनि ओलीले नेताको व्यवस्थापन आफ्नो प्राथमिकता नभएको बताएका छन् । फेरि ओलीका लागि यो सहज पनि छैन । महासचिवमा उनकै प्रिय शंकर पोखरले र विष्णु पौडेलको आकांक्षा छ । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलसँगै सुवास नेम्वाङले पनि रहर गरेका छन् । नेता व्यवस्थापनका लागि कि पदाधिकारीको संख्या थप्नुपर्‍यो कि त निर्वाचन नै गराउनुपर्‍ यो । किनकी केन्द्रीय कार्यसमिति त चयन गर्नैपर्छ । 

चितवन भेलाले कस्तो परिणाम दिन्छ त्यसका लागि अरु दुई दिन प्रतीक्षा गरौं । 
 


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x