विचार

विचार

साँघुरिँदै गएको चाडपर्व सौन्दर्य, फेरिएको गाउँ संस्कृति

यादव अर्याल |
मंसिर ७, २०८० बिहिवार २०:२८ बजे

फाइल तस्बिर

नेपाली संस्कृतिका प्रमुख दुई आवधिक पर्व वडादसैँ र यमपञ्चक अर्थात् तिहार भर्खरै सकिएका छन् । हरेक वर्ष चाडबाडको संघार सँगै सामाजिक सामना र पारिवारिक जमघट हुनु समस्त नेपालीहरूको क्रमागत-सांस्कृतिक नियमितता हो । जुन सदियौंदेखि निरन्तर चलिरहेको छ, र चलिरहने छ कालान्तरसम्म ।
आर्थिक सहजताको लागि स्वदेशी भूमि छोडेर पराई भूमि गएकाहरू चाडबाडकै सन्जोग पारेर गाउँ फर्किन्छन्, आफ्नो शैक्षिक अत्यावश्यकतालाई पूर्णता दिन शहर छिरेका विद्यार्थीहरू चाड रौनकसँगैको समिपमा रहन गाउँ फर्किने गर्छन् । गाउँदेखि टाढा बसेर विभिन्न पेसाकर्ममा लागेकाहरू पनि चाडबाड (मुख्य गरी दसैँ) गाउँमै मनाउने हेतुले गाउँमा स्व-उपस्थितिलाई प्राथमिकतामा राख्छन् । साधारणतया, तिहार शहरमै रमाइलो भएता पनि वडादसैँ मनाउन पहाड (गाउँ) नै निर्विकल्प थलो हो भन्ने आम मान्यता इतिहासको सार्थक निरन्तरता हो ।

शहरदेखि गाउँको सन्निकटतासँग गाँसिँदै गर्दा गाउँ जोडिएको संसार र शहरको कोलाहल परिवेशबीच ठूलै पृथकता छ भन्ने मेरो निरन्तरको आत्मानुभूति हो । औसत कोसिस पछि फेला पर्ने सपाट भूमि, मनोहर वातावरण, निश्चल प्रकृति, वातावरणीय सन्तुलन, स्वच्छ र निर्मल पाखा-पखेरा हाम्रो गाउँका स्थायी भौगोलिक विशेषताहरू हुन् । म यस्ता प्राकृतिक परिवेशसँग सर्वाधिक सम्मोहित हुन्छु बखतैपिच्छे । जब गाउँको परिदृश्यसँग टाँसिन पुगिन्छ, तब हृदयका भावना ध्वनित हुँदै बहन थाल्छन् । प्राकृतिक गुञ्जायले टिमिक्क भरिन्छ तन, आत्म विभोर हुन्छ मन । कहिलेकाहीँ मनको बहले तर्खरिँदै भन्न खोज्छ: गाउँ-भूमि नै त हो, आफूलाई पोख्ने अँगालो । गाउँका आम मान्छेहरूले प्रयोग गर्ने निखर भाषिक लवज जस्तै; "आउ को", "कहिलेकाँई ता हाम्राँ खाए पिनी हुन्त्यो कर भन्चु", "ए बिष्णु ह्याँ आ झट्टै, त्याण उत्तिखेरै गै हाल्लास् को: छिटो आ तो", "आज गैराबारी आट एग भारी घाँस लेर आउनी भा आइजा नत्र अन्न मिल्दैन, जे स्वाल्लाओ त्यै गर्, "त्यत्नै आट आउन पिनी केन यतीका बेर लायु हए बाए", "बिन स्वादै यस्तै ता होच क:र", "जाद्रै नगर् को, कोती ओखे खेल्चस्?" यस्तै अनेक शुद्ध रैथाने लबजहरूले मलाई अविच्छिन्न रुचीकर अनुभूति दिइरहन्छन् । यी सरल र मनप्रिय स्थानीय लबजहरूसँग मन्त्रमुग्ध हुन्छु ।


फेरिएको थिएन परतिर साइला 'बा' को घाँस काट्ने, बोक्ने सँगै बिहान-साँझ दूध दुहुने दैनिकी । जसका जेठा छोरा-बुहारी राजधानी बसेर व्यवसाय सँगै बच्चालाई शिक्षा-दीक्षा दिइरहेका छन् । त्यसैगरी कान्छो छोरा आर्थिक प्रगतिको लागि दक्षिण-कोरिया र कान्छी बुहारी तराईतिर । छोराहरूले कमाएर शहरमा गगनचुम्बी भवन बनाइसक्दा ती बुढाबुढीलाई आफ्नो प्राणप्रिय गाउँ नै प्यारो छ । यहीँको मुलायम धुलो स्नेहिलो छ, टेक्नलाई ! आफूले नै पालनपोष गरेको भैँसीले दिएको दूधको चिया उनीहरूलाई सर्वोत्तम श्रेयस्कर लाग्छ । उनीहरूले आफ्नो शरीर बिसन्चो हुँदा बाहेक, गाउँ छोड्न मान्दैनन् । गाउँमै उनीहरूले सर्वोपरिताको उच्चतम अनुभूति गर्छन् । उनीहरूको एकै चाहना छ, "हाम्रो शारीरिक अवसान आफू हुर्के-बढेकै माटोमा होस्, स्वनामधन्य जन्मथलोबाटै आफूले स्वर्गको यात्रारम्भ गर्न पाइयोस्" । बस् ।

एकातर्फ देशमा न्यूनतम् अवसर र लघु सम्भावना पनि देख्न भुसुक्कै बिर्सिएको युवा वर्गले स्वभूमिमा भन्दा परभूमि (खाडी र युरोप-अस्ट्रेलियन देशहरू) मा आफ्नो स्वर्णिम गन्तव्य देखिराख्दा आजको मुलुकको चर्कँदो राजनीतिक व्यवस्थापनलाई प्रतिविम्बन गरिरहेको छ भने युवापुस्ताहरू माझ विदेश-मोह चरम विन्दुमा उक्लनुले नै देशको तत्क्षणिक "बबुरो हाल" सतहीकरण भएको छ । गाउँ बिस्तारै युवापुस्ता-शून्यताको परिधि तर्फ उन्मुख हुँदै छ । म/हामी र हाम्रा 'बा' पुस्ताका बहुसंख्यक मान्छे चाड मौका पर्खिएरै गाउँ फर्किने गर्दछन् । गाउँमा यस्तै चाडबाडको संयोगबिना मान्छेहरू सायदै भेटिनेछन् । गाउँ-संस्कृतिको निरन्तरता झनझन चुनौतीपूर्ण बन्दै गईरहेको छ । क्रमशः गाउँ निख्रदैँ, शहर भरिँदै र विदेश नेपालीहरूको गुलजार भूमि बनिरहेको छ । गाउँमा बस्ने उमेर खाएका बुढा "बा" हरूको मुखारविन्दबाट, "अब केही सालपछि गाउँमा मान्छेको मृत्युपश्चात दिवंगत शरीरलाई काँध थाप्नको लागि अपवाद बाहेक एका-नाताको मान्छे भेटिँदैनन् । भौतिक अवसानपछि गर्नुपर्ने धार्मिक विधिहरू पुरा गर्न पैसे मान्छे खोज्नुपर्ने अवस्था न-आउला भन्न सकिन्न" । जस्ता साझा स्वरहरू मुखरित भइराखेका सुनिन्छन् ।

गाउँमा आफू पुस्ताको दौँतरी, सहगामी भेट्न अजंगको मिहिनेत पोख्नुपर्ने अवस्था छ । सँगै हिँड्डुल गर्नेहरू औसतभन्दा बढी विदेशिएका छन्, धेरै विदेशिने प्रक्रियामा छन् । केहीले पासपोर्ट बनाउने मेलोमा लागिरहेका छन् । देशभित्रका हरेकको सपना, इच्छा र जीवनका सर्वाङ्गीण असजिला पक्षहरूको निर्विकल्प निरूपण नै विदेशी भूमि बनिरहेको छ ।

कतै पढेको थिएँ, "विदेश गइरहेको देश" भनेर । केही समयको अन्तराल मै उक्त शब्दावलीले सिंगो नेपाललाई जबरजस्त प्रतिनिधित्व गर्दै छ ।

आफैँले हुर्काएका सन्तान: पाहुनामा परिणत हुँदै गएका छन् । अब बिस्तारै दसैँ त "डिजिटल दसैँ" पो बन्ला जस्तो छ । गाउँका घरहरू पनि कमेरो, रातो माटोले पोतिनुपर्नेमा इनामेल ले सिँगारिँदै छन् । आदिम कालदेखि नै चलिआएको दसैँ-सुन्दरताको प्रतीक मानिने सराय नाचको भने उत्साहप्रद निरन्तरता यथावत् छ हाम्रो गाउँतिर (गुल्मी, अर्घाखाँची, प्युठान) तर अघिल्लो वर्षहरूको दाँजोमा यसपटक आम सहभागितामा सरदर फेरबदल देखिन्थ्यो । कता कता सांस्कृतिक ह्रास पनि लत्पतिएको जस्तो लाग्थ्यो । सांस्कृतिक महत्व "विगत" बन्ने हो की भन्ने प्रश्न टड्कारो बन्दै छ । सांस्कृतिक प्रवाह, ओझेल पर्छ की भन्ने भय पनि हाम्रै अघिल्तिर फिरिरहेको छ । पर्वहरूको मौलिकता सङ्कुचनप्रेरित छ, यसो हुनुहुँदैन । चाडपर्वको समयमा एकतमासले हराभरा गाउँ, चाडपर्वले विश्राम लिएलगत्तै विराट शून्यतातर्फ धकेलिन्छ । गाउँ आएका सबै आ-आफ्नो स्वकीय सन्दर्भ र काम/कर्म विशेषले फर्किन्छन् ।

दसैँमा टीका- जमरा निधारमा थाप्दै गर्दा: शुभेच्छा पनि छिट्टै युरोप, अमेरिका, अस्ट्रेलिया जानु भन्ने सुनिन थालेछन् । यस्तो आशीर्वाद प्रवृत्तिले "देशमै गरेर खानुपर्छ, गर्न सक्यो भने मुलुकभित्रै मनग्य अवसर यथावत् छन्, मिहिनेत गरेर नेपालमै सरकारी जागिर खानुपर्छ" भन्ने जस्ता माटोप्रेमी आशीर्वादहरूलाई प्रतिस्थापन गर्नु तिक्त यथार्थ हो । भर्खरै हामीबाट ओझेल लिएको दसैँ-तिहारले पूर्ववर्ती दसैँ-तिहारका केही अंश, रौनकता र निरन्तरता त अवश्य नै पायो । यद्यपि चाडपर्वको औचित्य औपचारिकता र संस्कृतिको जगेर्ना मै सीमित हुनु हुँदैन ।

आम, मानिस अहिले भौतिक सामाजिकीकरण हुनु भन्दा अभौतिक रूपमै सञ्जालिकीकरण तर्फ अतिरिक्त जागृत हुने होड सहजै उकालो लागिरहेको छ । व्यक्ति सामाजिक हुन असहज मान्छ । तर, संजालका अल्गोरिदमले टक्र्याइदिएका अनावश्यक रिल स्क्रोल गर्नु उसको अनिवार्य नियति बनेको छ । व्यक्ति, परिवार र समाजको मनोविज्ञान अटेर नगरी पूर्णतया प्रविधि प्रवृत्त हुनु र यसैलाई सर्वोपरि ठान्नुले कालान्तरमा अस्वाभाविक मानवीय असहजता पैदा हुने देखिन्छ । गतिशील समाजले प्रविधिलाई नियन्त्रण नगरेर प्रविधिले व्यक्ति सँगै समाजलाई नियन्त्रण गर्ने निश्चित प्रायः छ भन्दा अत्युक्ति नहोला । अतिशय सञ्जाल लगावले मान्छेलाई डिजिटलीकरणको दमनचक्रमा बाँध्नु अतिशयोक्तिपूर्ण बिनासित्ती हो । स्थानीय स्तरको संवाद संस्कृति त, अपवाद बाहेक पूरै पखालिएको भान हुन्छ । प्रविधिले ठाउँ ओगटिसकेकाले संवाद संस्कृतिको पुनरावृत्ति सहजै हुने देखिँदैन । समाजको सांस्कृतिक पक्ष क्षयीकरणको दोसाँधमा नअल्झिओस् । यसरी समाजका कुनै मूल्य मान्यता दीर्घायु हुन सक्दैनन्, संस्कृति र संस्कारको पवित्र प्रवाहलाई संरक्षणसहितको निरन्तरता हामी सबैको सामूहिक कर्तव्य र दायित्व दुवै हो । संस्कृति, परम्परा र चाडपर्व सामाजिक रूपान्तरणको प्रधान सेतु बन्नुपर्छ ।

सामाजिक संरचनागत विकासमा संस्कृति, चाडपर्व र परम्पराको भूमिका महत्त्वपूर्ण रहेको यथार्थलाई नकार्न सकिँदैन । प्रकारान्तरले, सामाजिक-संस्कृतिको निरन्तर सान्दर्भिकता आजसँगै आज-उप्रान्त पनि रहनु पर्छ ।


Author

थप समाचार
x