विचार

सपुत, तिमीलाई यस्तो झुर चेतना कसले भर्दियो ?

सरु कँडेल |
बैशाख ११, २०८० सोमबार ११:५९ बजे

सकम्बरी
कानको झुम्काना तिम्लाई कल्ले किन्दियो 
नाकमा बुलाकी तिम्लाई कल्ले किन्दियो 
पाउमा लाको पाउजु 
हातमा लाको चुरा 
तिम्लाई कल्ले किन्दियो फूलमया 
तिम्लाई कल्ले किन्दियो 

मैले पहिलो पटक सुनिरहँदा यी पङ्क्तिहरू कुनै पुलमा बसेर कुनै बेरोजगार, आवारा केटोले बोलिरहेको वाक्य या त छिमेकमा बसेर कुरा काटिरहेका छिमेकीको बोली जस्तो लागिरहेको थियो । मलाई आफैंलाई यो बुझाउन हम्मे हम्मे पर्यो कि एक कलात्मक चेत भएको भनिएको मानिसद्वारा लेखिएको गीत हो । कला क्षेत्रमा लागेका महिलाको अवस्थाको चित्रण गरिएको भनेर सफलता पाइरहेको गीतको एक शब्दमा पनि मैले पीडितको अनुभूति र व्यथामा खर्च गरिएको पाइनँ । सपुतका पुराना गीतहरूले व्यवस्थाका, समाजका, शक्ति र सत्ताका कारण मानिसहरूले भोगिरहनु परेको पीडाका झलक दिन्थे । मैले यो गीतमा पनि त्यही खोजिरहेकी थिएँ तर यो गीत त दिनहुँ महिलाले कार्यालय आउँदा, जाँदा चोकचोकमा गरिने ‘क्याटकलिङ’को नमुना पो रहेछ । 
 
प्रकाश सपुतको गीत हाम्रो समाजलाई प्रतिनिधित्व गर्ने ‘विम्ब’ हो । गीतका एक– एक बोल सयौं वर्ष पुराना सामाजिक दायरा जुन महिलाका लागि तय गरियो, घरिघरि त्यही स्थापित गराउन खोज्छन् । तिम्लाई झुम्काना कसले किन्दियो?  पाउजु, चुरा कसले किन्दियो ? स्कुटर कसले किन्दियो ? टि. भि.कसले किन्दियो? मोबाइल कसले किन्दियो ? आदि आदि ।


अझै पनि नेपाली समाज महिलालाई परनिर्भर देख्न आशक्त छ । जहिले पनि मूल्यवान सम्पत्तिको हकदार पुरुषलाई नै देख्ने समाजले महिलालाई त्यो सम्पत्तिको पहिरनकर्ता मात्र सोच्छ र देख्छ, अनि प्रश्न गर्छ कसले किन्दियो ? यी प्रश्नहरू त कामकाजी महिलाहरू माथि गरिएको गाली हो । ति हजारौं महिला जो विदेशी भूमिमा पसिना बगाइरहेका छन्, ति जो मकै पोलिरहेका छन्, ति जो पालिकासँग डराउँदै भाग्दै सामान बेचिरहेका छन् । यो उनीहरूको आत्मसम्मानमा गरिएको 
हमला हो । सभामुखदेखि राष्ट्रपतिसमेत महिला पाइसकेको राष्ट्रको महिलाप्रतिको दृष्टिकोण यही हो ? के ओनसरी घर्ती मगर र विद्यादेवी भन्डारीलाई पनि गरिने प्रश्न यिनै हुन??? 
 
राति किन हिँडेकी ? राति नै गर्नुपर्ने काम के हो ?? दिनरात नभनी काम कर्तव्यमा खटिएका नर्स, डाक्टर, सेक्युरिटी गार्ड, पुलिस, जस्ता महिलामाथि गरिएको प्रश्न होइन यो ? के राति महिला देह व्यापार गर्न मात्र हिँड्छन ? अझ देह व्यापार गर्न नै हिँडेको भए पनि के ? कसको टाउको दुखाइको विषय हो यो ? भोकले छट्पटिएर, यहाँको व्यवस्थाले पढ्ले, लेख्ने, रोजगारीको न्युनतम सुविधा समेत नदिएर मान्छेलाई मन पनि नपर्ने काम गर्न बाध्य पार्ने अनि उनीहरूलाई नै राति राति किन हिँड्सि भन्न सुहाउँछ ? 
 
गीतमा इज्जत गएको, इमान बेचेको, धर्म मासेको, फूलसरी तन चुँड्न दिएको जस्ता शब्दले फेरि पनि समाजले कसरी महिलालाई हेर्छ भन्ने अर्को झलक दिन्छ । पहिलो प्रश्न त महिलाको इज्जत महिलाको योनीमा कसले राखिदियो ? 

इमान बेच्नु र आफ्नो स्वामित्वको चिज बेच्नु एकै हो ? यो कस्तो धर्म हो महिलाले शारीरिक सम्बन्ध राख्दैमा मासिने ? 
फूल र महिलाको शरीरको तुलना कसरी हुन सक्छ ? महिला वस्तु हुन् र पुरुषले तिनको उपभोग गर्ने हो भन्ने मानसिकता गीतले बार बार पस्केको छ । शारीरिक सम्बन्ध बनाइसकेपछि महिलाको इज्जत घट्छ, महिलाको इज्जतमा दाग लाग्छ, महिलाको शरीर जुठो हुन्छ जस्ता पितृसत्तात्मक तर्क गीतभरी छरपस्ट पाइन्छ । 
 
यो गीत हरेक टोलका स्वतन्त्र महिलाको बारेमा पितृसत्तात्मक सोच बोकेका छिमेकीले काटेका कुरा भन्दा बढी केही होइन । यसको भाषा बलात्कारीहरूको भाषा हो । महिलालाई परनिर्भर देख्न रुचाउने, वस्तुकरण गर्ने र उसको शरीरको उपयोगिता आफ्नो प्रयोगमा निहित राख्ने सोच बोकेकाहरूको भाषा हो । यो गीतले गर्ने भनेको अब टोलटोलमा बोलिबोलिमा महिलाहरूको स्वाभिमान माथि प्रश्न उठाउने बाहेक केही होइन । थोरै अगाडि बढ्न खोजिरहेको समाजलाई यो गीत नामक ढुंगाले त्यहीँ लडाइदिएको छ । 
 
गीतमा फूलमाया मोडल बन्ने सपना बोकेर छिमेकी दाइसँग काठमाडौं आउँछिन् । सपना देखाएर, काम खोजिदिएर, गुन लगाएको दाइले गुन असुल्छ बलात्कार गरेर, यी गीतका शब्द शब्द उही बलात्कारीले गाएको हो । 

 

पीडितका कथा बलात्कारीको आँखाबाट भनिने, पीडितलाई नै तिम्रो गल्ती थियो नि भन्ने निचोड निकालिने हो भने यस्ता गीत निकालिनुले भन्दा ननिकालिनुले समाजलाई राम्रो गर्छ ।

हुन त प्रकाश सपुत महिलाहरूको व्यथा/पीडालाई गीतमा ढालेर बेच्न माहिर छन् । तर सपुत यो गीतमा महिलाहरूबाट पीडित हुने ‘सौभाग्य’ पनि खोसिदिन्छन् । हाम्रो समाजलाई कुनै पनि नारी पीडित हो भनेर मान्न ऊ ( आदर्श पीडित ) हुनुपर्छ । यहाँ उनले फूलमायालाई सहरमा ल्याउथें र बेचिदिन्थे या त कोठामै बन्द गरेर आफू बलात्कार गरिरहन्थे या कोठामै देह व्यापार गर्न लगाउथें भने फूलमायालाई (आदर्श पीडित ) मानिने थियो । तर कुनै महिलाले आफूले आफ्नो लागि आफ्नै शरीरको उपयोग गर्नु नेपाली समाजले पचाउने कुरा हुँदै होइन । त्यही हुनाले यो गीत पीडितलाई पीडित पनि मान्दैन । पीडितलाई आफ्नो नभएको गल्ती मान्न बाध्य पार्छ । जहिले मेरै गल्ती हो कि भनेर डराएर आफ्नी आमा, दिदी, साथीलाई समेत भन्न डराएर बसिरहेका फूलमायाहरूमाथिको यो घोर अन्याय हो । धन÷ सफलताका आशले पाइला पाइलामा बलात्कार हुन बाध्य पारिएका फुलमायाहरूमाथिको हिंसा पनि हो । 
 
गीतको भिडियोमा महिला नै महिलाका दुश्मन हुन्छन्, भन्ने सन्देशको प्रवाह गर्न अर्का ‘बलात्कारी’ पात्रको श्रीमतीको प्रवेश गराइन्छ । ऊ फूलमायालाई थुक्छे, झापड हान्छे, अनि आफ्नो श्रीमान् लिएर जान्छे । ‘मेरो पनि गल्ती छ’ भन्ने वाक्य सकाउना साथ महिला नै पहिला उफ्रिएर ताली बजाउँछिन् । यहाँ पीडक पुरुषको साथ महिलाले पनि दिने हुँदा पुरुष नै सही हुन् भन्ने भाष्य निर्माण गर्न खोजिएको छ । 
 
एउटा ‘बलात्कारी पुरुष’ आफ्नै पीडितलाई प्रश्न सोध्छ , ऊबाट जवाफदेहिताको आस गर्छ । एउटा पीडितले आफ्नै बलात्कारीलाई किन कहाँ र कसरी बलात्कृत हुन बाध्य भएँ भनेर जवाफ दिनुपर्ने कसरी हो ? किन हो ? यो कहाँको न्याय हो?

 उक्त पुरुषलाई एक मात्र प्रतिप्रश्न गर्नुले फूलमायाले विद्रोह गरी भन्ने भ्रम पार्नु यो दृश्यको उद्देश्य हो । 
 पीडितसँग प्रश्न र प्रतिप्रश्न गर्न हिंस्रकलाई नै उभ्याइरहेको गीतले आफूलाई बलात्कार गर्ने पात्रसँग जवाफ माग्दैन । उनीहरूले बलात्कार गरे भन्दा पनि, उनीहरूले फूलमायाको फाइदा उठाए भन्दा पनि सबको ध्यान ऊ किन आफ्नो राजीखुसीले गई भन्नेमा बढी देखिन्छ । किन उसले आफैँलाइ बिक्रीमा राखी भन्नेमा बढी देखिन्छ । उसलाई बाध्य बनाउने को हो ? उसले धन कमाउन, आफ्नो प्रतिभा/योग्यता अनुसारको अवसर पाउन किन उसको प्रतिभा ÷ योग्यता अपुग भयो भनेर गीत सोध्दैन र फूलमायालाई सोधाउनु पर्ने आवश्यकता पनि गीतकार देख्दैनन् । कसरी उसको कमजोर अवस्था (आर्थिक, सामाजिक पद, उमेर) उसलाई बाध्य बनाउने कारण बने भनेर कुरा गर्दैनन् । यहाँ अवसर दिने पात्र महिला हुन्थे भने फूलमायाले के यो सब परिस्थितिबाट गुज्रिनुपथ्र्यो होला ? भनेर पनि प्रतिप्रश्न गरिँदैन । 

फूलमायालाई थोरै विद्रोही देखाएर गीत प्रगतिशीलताको पगरी गुथ्न चाहन्छ । विद्रोह पनि कति देखाइन्छ भने जति ति बलात्कारी पात्रले पचाउन सक्छन् । ‘पाप लाग्ला’ जस्तो कथित सजायको धम्की मात्रले विद्रोह कसरी हुन्छ ? कानुनको दायरामा ल्याएर सजाय दिनुपर्ने अपराधलाई ‘पाप लाग्छ’ जस्तो पौराणिक कथामा दिइने सजाय मात्रको धम्किले सजाय पुग्छ ? के हो यो ? स्वस्थानी ? अब के ति बलात्कारी पुरुषहरू शालिग्राम, तुलसी, पिपल बन्ने हुन् ? अनि फेरि तिनैलाई पूजा गरेर बस्ने हो हाम्रो समाज? 
 
अझ गीत फूलमायालाई आफ्नै रहर र महत्वाकांक्षाले पटक पटक बलात्कृत हुन बाध्य भएको भनेर मनाउन समेत सफल हुन्छ । पीडित माथि थुक्ने पिट्ने ,लडाउने, जस्ता हिंसा हुँदा गीतका पात्र कोही बचाउन आउँदैनन्, छेक्न आउँदैनन, बरु एउटा बलात्कारी पात्र छेउमा बसेर हाँसिरहन्छ । अझ पटक पटक उनका बलात्कारी आएर उनलाई नै गालामा थप्पड हान्छन । थप्पड खानुपर्ने पीडितले हो कि ? बलात्कारीले हो ? सपना देख्नेले हो कि पूरा गर्दिने नाममा फाइदा उठाउनेले हो ? महिलाले सपना देखे, महत्वाकांक्षा राखे यही हुन्छ भन्न खोजिएको हो ? यिनीहरूलाई यस्तै हुनुपर्ने हो भनेर देखाइदिए जस्तो, भविष्यमा बोल्न खोज्ने पीडितलाई तर्साउन खोजे जस्तो, यो पीडित माथि हुने हिँसा सामान्यीकरणको हद हो । 
 
राजनीतिमा जान लागेकी फूलमायालाई कोमल वलीसंँग तुलना गरी ‘मिम’ आइसकेका छन् । सार्वजनिक वृतमा अगाडि आउने महिलाहरू कसरी आउँछन , राजिनीतिमा कसरी आउँछन्, पितृसत्तात्मक सोचका पहेदारहरूको मनपर्दो जवाब उनको गीतले दिइसकेको छ । के फूलमायाहरू आफ्नो सम्मान र मानवीय गरिमाको परीक्षा दिएर, हदसम्मको अपमान र घृणा खपेर मात्रै राजनीतिमा जान योग्य हुने हुन् ? 

अन्त्यमा उही पितृसत्तात्मक समाजको झलक यो गीतले दिन्छ, जुन मैले हरेक दिन, हरेक पाइला र हरेक सासमा भोग्ने गरेको छु । कुनै पनि साहित्यले, सिर्जनाले पीडितका मुद्दा मात्र होइन कि पीडितको मनोबल पनि उठाउने काम गर्नुपर्ने हो । सत्ता र शक्तिको वरपर रहनेलाई प्रश्न गर्नुपर्ने हो तर सकम्बरी टाढा टाढासम्म त्यो छनक देखाउँदैन । अझै पनि पीडितका कथा बलात्कारीको आँखाबाट भनिने, पीडितलाई नै तिम्रो गल्ती थियो नि भन्ने निचोड निकालिने हो भने यस्ता गीत निकालिनुले भन्दा ननिकालिनुले समाजलाई राम्रो गर्छ । 
 
महिलामाथि शोषण दमन छ तर ती दमन र शोषण विरुद्ध निरीह फूलमायाहरू अब फूलनदेवी (आफू माथि अपराध गर्ने हरूलाइ सफाया गर्ने) हुन आवश्यक छ भन्ने कथ्य अबका गीतले दिनुपर्छ । समस्या पहिल्याउनु मात्र हैन तिनका विरुद्ध आगो ओकल्ने फूलहरू पनि छन् यो समाजमा र यो आगो ओकल्ने बाटोका लागि, प्रेरणाका लागि महिलाहरूलाई झकझकाउने गीत चाहिएको छ । अब समाजलाई आवश्यकता भनेको त्यस्तो फूलमायाहरूको कथाको (वास्तविक/काल्पनिक) छ जो नमरीकन बलात्कारीको निन्द्रा हराम गर्छन्, जसको जवाफदेहिता मात्र आफूमा  निहित छ, जो ‘आफ्ना अपराधीहरूलाई’ प्रश्न सोध्छन्, कानुनको कठघरामा उभाउँछन्, जो ‘Ideal victim(आदर्श पीडित) नभई न्यायका लागि लड्छन् र पाउँछन् पनि ।


Author

थप समाचार
x