विचार

मानवता र विवेक

जगदीशराज बराल |
मंसिर २४, २०७९ शनिबार १३:५६ बजे

‘बजारमा पुलिसले फायर गर्‍यो
तीन व्यक्ति मरे
पहिलोले माओ भन्यो
दोस्रोले राम भन्यो 
तेस्रोले आलु भन्यो 
पोस्टमार्टमपछि थाहा लाग्यो 
पहिलो कामरेड थियो  
दोस्रो धार्मिक
तेस्रो भोको रहेछ’

(सर्वेश्वर दयाल सक्सेना, भारतीय कवि, ‘गोली काण्ड’कवितामा) ।  

सक्सेनाको उपरोक्त कवितामा तेस्रो मृतकको मस्तिष्क खुलेको छ । अन्त:स्करण बोलेको छ । मानवता जागेको छ । मनको कुरा उसले सुनेन् । 


पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५७ सालमा देशको हरेक क्षेत्रमा राजनीतिले विभाजन ल्याएकाले आफू चिन्तित भएको कुरा पोखरामा बताउनुभएको विषयलाई अझ जोड दिएर चुनाव २०७९ अघि एक टेलिभिजनको साक्षात्कारमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीपकुमार पौडेलले अहिले त झन् सम्हाली नसक्नु भएको छ भन्ने चिन्ता व्यक्त गर्नुभयो । यी दुवै विचारहरू अन्त:स्करणको कुरा सुनेर खुलेको मस्तिष्कले खुलाएको विवेकद्वारा प्रकट गरिएका हुन् । 

मस्तिष्क अन्धो बनाउन सक्नुहुन्छ । त्यो तपाईंको स्वइच्छा हो । तर, मस्तिष्क अन्धो बनाएर प्रयोगविहीन आँखा खुला राख्नुको कुनै अर्थ रहन्न । मस्तिष्कमा गुहु भराएर अन्धो भए आँखा खुला भएर अन्धो नहुने हो र ? झन् खतरनाक अन्धो विवेक शून्य । 

स्वइच्छाले राम्रो–नराम्रो इच्छा जागृत गराउँछ । राम्रो नराम्रो इच्छाले नै बुद्धि भएको वा बुद्धिहीन जनाउँछ । बुद्धि भ्रष्ट भए विवेक भ्रष्ट हुन्छ । र, मान्छेको पतन हुन्छ । मानव अन्त:स्करण भनेको मानवता हो । एक असल सही गलत नहुने मानव । अर्थात् अन्त:स्करण गलत हँुदैन । जब मन विकसित भएर अन्त:स्करणमा हाबी हुन्छ, तब मानवले मनको कुरा मात्रै सुन्दै गर्दा मस्तिष्क अन्धो हुन जान्छ । मनले बाहिरी संसार नै सबैथोक हो भन्ने ठान्छ । 

जाँड खान इच्छा भो, मनको कुरा हामीले सुन्यौं । अन्त:स्करणले जाँडको हानीबारे भनिरहेको हुन्छ : हामी ध्यान दिँदैनौं मनले जगाएको इच्छा विपरीत अन्त:स्करणका जाँड खानुहुन्न भन्ने कुरा सुन्न चाहँदैनौँ । 

‘मानवतासित म प्रेम गर्दछु तर जति मावतासँग म प्रेम गर्दछु, त्यति नै मानिससँग मलाई विरक्त लाग्छ’ फ्योदोर दोस्तोयेव्स्कीका यी कुराहरूले मानवता अन्त:स्करणको कुरा भयो तर मानिस मनको कुरा भयो । 

मैले यात्रा गरेको छैन, सिर्फ औँलाहरूले विश्वको नक्सा छोएछन् भनेर तपाईंको अन्त:स्करणले ग्लोब नक्शा सुमसुम्याउँदै आ यही तो हो विश्व भ्रमण मेरो हैसियतको भनेर भनेमा र तपाईंले त्यो सुनेमा चित्त बुझाउन सक्नुुहुन्छ । तर, आ के छ र मरिलानु यो जीवनमा केलाई चाहियो सम्पत्ति, मोज गर्नुपर्छ घुमफिर गरेर रमाइलो गर्नुपर्छ भन्ने मनको कुरा सुनेर भएको जायजेथा पनि बेच्दै, ऋण पनि काढ्दै विश्व भ्रमणमा हिँड्नुहुन्छ भने त्यो तपाईंको विवेकको स्तरको प्रतिविम्ब हो । 

नेपालमा राजनीति गर्नेहरूका अन्त:स्करण, मन मस्तिष्कमा के हुन्छ बुझ्न सकिँदैन । देहायका केही पक्षहरूमा एकछिन घोतलिऔं : 

(क) सशस्त्र द्वन्द्वको बेला माओवादीसँग वार्ता गर्न सरकारले पनि टोली गठन गरेको थियो । माओवादी वार्ता टोलीका सदस्य डा. बाबुराम भट्टराईले २०६० साउन ७ गते सरकारलाई पत्र लेख्नुभएको थियो । 

डा. भट्टराईले उक्त पत्रमा ‘राजनीतिक हिसाबले–प्रतिगमनकारी राजतन्त्रवादी, यथास्थितिवादी संसद्वादी र अग्रगमनकारी क्रान्तिकारी गरी तीन थरी शक्तिहरूबीच प्रतिस्पर्धा कायम रहेको कटु यथार्थ हो ।’ विगतमा राजावादी र संसदवादी शक्तिहरूको संयुक्त आक्रमण खेपेर नै क्रान्तिकारी जनवादी शक्ति अहिले मजबुत अवस्थामा विकसित भएको तथ्यलाई स्मरण गर्दै दुबैथरीले आ–आफ्ना हिसाब–किताब छिट्टै फछ्यौट गरेमा मात्रै नयाँ चरणको वार्ताको सार्थक सम्भावना रहनेछ’ भन्नु भएको थियो ।

साउन ७ गतेको भट्टराईको पत्रको जवाफ दिँदै सरकारी वार्ता टोलीका सदस्य राप्रपा नेता कमल थापाले साउन ९ गते माओवादीलाई पठाएको पत्रमा ‘मुलुकका सामुन्ने विद्यमान सङ्कट समाधानका निम्ति देशमा रहेका सबै राजनीतिक शक्तिहरूका बीच न्यूनतम सहमति र समझदारी कायम हुन नितान्त जरुरी छ । शान्ति प्रक्रियाको सफलताका निम्ति तथा अग्रगामी राजनीतिक निकासका  लागि राजनीतिक दलहरूको सकारात्मक भूमिका सदैव अपेक्षित रहन्छ’ उल्लेख गर्नुभएको थियो (कान्तिपुर बिहिबार, १५ साउन, २०६० ।)

अहिले आम निर्वाचन २०७९ सम्पन्न भई नतिजा आइसकेको अवस्थामा माओवादी र सरकारी वार्ता टोलीले आदानप्रदान गरेका पत्रहरूका भाषाहरूमा दुवैले मनको मात्र कुरा सुनेको देखिन्छ अन्त:स्करण त पक्कै चुपचाप थिएन तर उसको कुरा सुनिएन । माओवादी र संसद्वादीहरूकोे संघीय गणतान्त्रिक राजनीति यहाँसम्म आइपुग्दा सबै कुरा छर्लङ्ग भइसकेका छन् । 
यहाँ विगतका केही भनाइ राख्न चाहन्छु :

(क) ‘अहिले एमाले नेतृत्व तीव्र व्यक्तिगत स्वार्थमा लिप्त भएको छ ’– केपी ओली, पूर्वप्रधानमन्त्री (संवाददाता, २०५७ । एमालेका पूर्व महासचिव मदन भण्डारिको जन्म जयन्तीको अवसरमा आयोजित विचार गोष्ठीमा बोल्दै । जनआह्वान साप्ताहिक । असार ३ २०५७ । 
‘माधवकुमार नेपाल जस्तालाई एमालेमा कुनै ठाँउ छैन’– केपी ओली, पूर्व प्रम । (एमाले विभाजन भएर माधवकुमार नेपालले अलग्गै नेपाल कम्युनिस्ट पार्टी– एकीकृत समाजवादी स्थापना गरेपछि ।)  

(ख) ‘वर्तमान सरकार काँग्रेसको नभई काँग्रेसका नेताको परिवारको सरकार भएको कारण सरकार जनताप्रति उत्तरदायी नभई आफ्ना परिवारप्रति मात्र उत्तरदायी भएको छ’– बद्रीनारायण बस्नेत, पूर्वसांसद, नेपाली काँग्रेस ।
(संवाददाता, २०५७ । प्रजातन्त्र संवर्द्धन केन्द्र काठमाडौं र सहिद राम लक्ष्मण स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा २०५७ आषाढ २४ गतेदेखि भएको विचार गोष्ठीमा बोल्दै । कान्तिपुर । आषाढ २६ २०५७ ।  
‘नेपाली कांग्रेसमा शक्तिशाली नेताहरूको गुट र शक्ति नभएका नेताहरूको गुट देखा परिरहेकाले पार्टी नै धराशसी अवस्थामा परिणत भइरहेको छ – सागर शम्शेर राणा, नेका, केन्द्रीय सदस्य (ऐऐ) ।

(ग) ‘कम्युनिस्टको उदेश्य जनसेवा, दृष्टिकोण सर्वहारा वर्गीय दृष्टिकोण, जनताको पीडा बुझ्ने, देशको मर्यादाको रक्षा, नेपाली स्वाभिमानप्रतिको सम्बोधन गर्ने हो । मन्त्री ठूलो कुरा हैन, विचार ठूलो हो । पद ठूलो कुरा हैन, नीति ठूलो कुरा हो । एकता हाम्रो चाहना हो इच्छा हो’– माधवकुमार नेपाल, पूर्वप्रम । (स्टारलाइन अनलाइन टीभी, २०७८ साउन ३० गते) । 

उपरोक्त व्यक्त विचारअनुसार सागर शमशेर राणा र माधवकुमार नेपालले मात्र आआफ्ना अन्त:स्करणका कुराहरू सुनेर बोल्नुभएको हो जस्तो महसुस हुन्छ । तर, माधवकुमार नेपालका पछिल्ला र अहिलेका गतिविधि हेर्दा र बोलेका कुराहरू बुझ्दा अब उहाँले मनका कुराहरू सुन्न थाल्नुभयो भन्ने प्रस्ट हुन्छ । 

भारतका पूर्वप्रधान न्यायाधीश नुथलपट्टी बेङ्कटा रमन्नाले गत साल सन् २०२१ मा राँचीको एक कार्यक्रममा सामाजिक होस् वा न्यायिक हरेक मामलामा टीभी सोसल मिडियाहरूले साक्षात्कार बहस टिभी डिबेटको नाममा मनमानी अदालत चलाइरहेकाले यो ‘कङ्गारु कोर्ट’ लोकतन्त्रका लागि खतरनाक भएको कुरा छर्लङ्ग पार्नु हुँदा भारतमा सोसल हुन् वा अन्य सबै मिडियाले मनको कुरा सुनेर मात्र हैन अन्त:स्करण सुनेर डिबेट कार्यक्रम सञ्चालन गरेमा मिडियाप्रति जनमनको धारणामा सकारात्मकता थपिने थियो भनेर सोसल मिडियामा अर्को बहस पनि चलेको थियो । 

मन त चञ्चल हुन्छ, गहिराइमा पुग्दैन, स्वार्थी पनि हुन्छ अनि मस्तिष्कलाई पनि अन्धो बनाइदिन्छ । अन्त:स्करण मानवतावादी हुन्छ– विवेकशील । स्वइच्छाले अन्त:स्करणको कुरा सुनेमा राम्रो इच्छा र मनको कुरा सुनेमा कहिलेकाहीँ नराम्रो इच्छा पनि जाग्रत हुन्छ । 


Author

जगदीशराज बराल

(लेखक नेपाल सरकारका पूर्व सहसचिव तथा पूर्वसिडिओ हुन् ।)


थप समाचार
x