विचार

किन असफल भए बाबुराम भट्टराई र रवीन्द्र मिश्र ? प्रत्यक्ष कार्यकारीमा यसरी हुन्छ गगनहरूको इन्ट्री

विनोद न्यौपाने |
भदौ ५, २०७९ १६:४२ बजे

‘स्यालको सिकार गर्न जाँदा बाघको तयारी गर्नुपर्छ भन्ने नबुझ्नेले राजनीति र कूटनीतिका गफ नगरेकै वेश’— प्रदीप गिरि

व्यक्तिलाई निष्ठा, विचार, आदर्श र जीवनशैलीले लोकप्रिय बनाउँदोरहेछ, सत्ता, शक्ति, पद र पैसाले होइन भन्ने प्रमाणित गराएर बिदा भए प्रदीप गिरि । बाँचुन्जेल राजनीतिक दलमा मात्र नभई संसद्मा समेत ‘दलको बिम्ब’ बनेर प्रस्तुत भइरहे । विरुवा रोपेपछि त्यसको स्याहारसम्भार गर्नुपर्छ भन्ने उनको मर्मस्पर्शी भनाइलाई कसैले बुझ्नै चाहेन सत्ता, शक्ति र पदकै लोभमा । 


अवसानपछि सँगै फोटो हालेर सिंगो कांग्रेस पार्टीमा मात्रै होइन नेपाली राजनीतिमै प्रदीपको अभाव खट्किनेछ भन्नेहरू धेरै भए तर उनले चाहेको सामाजिक लोकतन्त्रका पक्षमा उभिन कोही पनि तयार छैनन् । लोकतन्त्र त आयो तर लोकतन्त्रकै नाम बेचेर व्यक्तिगत व्यापार चम्काउनेहरूको बाहुल्य भयो । प्रदीपजस्तो बौद्धिक स्तरको मान्छे एक्लो वृहस्पति बन्नुप¥यो । बेकारमा गोहीका आँशु किन चुहाउँछौं ? हिम्मत छ भने सामाजिक लोकतन्त्रको पक्षमा वकालत गरी कांग्रेसरुपि विरुवालाई बनमारा झारबाट जोगाऊ !  

बहुदलीय प्रजातन्त्र स्थापना भएको ३२ वर्ष पूरा भयो । राजनीतिले भने सही दिशा समात्नै सकेन । राजनीतिक दललाई व्यवस्था परिवर्तनमा नागरिकले महत्वपूर्ण सहयोग गरे । दलहरूबाट भने उनीहरूले दुःखमा पनि साथ पाएनन् । परिवर्तनपछि ‘रोड म्याप’ खोजीको नाममा अल्मलिए । गन्तव्य भेटेनन् । संसदीय व्यवस्थाले मुलुकलाई अघि बढ्न नदिएको ठहर गरियो । बहुदलीय गणतन्त्र नाम दिइएको नयाँ व्यवस्थाले सिंहदरबारको अधिकार गाउँगाउँमा पु¥याउन संघीयता पनि ल्याइदियो । अझै गन्तव्य भेटिन्न । कति दुर्लभ हो त्यो गन्तव्य भन्ने वस्तु, ३२ वर्ष हिँड्दा पनि भेट्न नसकिने ? 

गन्तव्यमा पुग्न उद्देश्य चाहिन्छ । हिँडाइ नै उद्देश्यविहीन भएपछि गन्तव्यमा पुग्ने कुरै भएन । प्रजातान्त्रिक व्यवस्थाको परिभाषाअनुसार उद्देश्यको प्रमुख केन्द्रमा नागरिक हुन्छ । पाँच वर्षको एक दिन आउने निर्वाचनका बेला मात्र नागरिक भेट्ने लक्ष्य हुनेले जति वर्ष हिँडे पनि गन्तव्यमा पुग्न सक्दैन । यति लामो अभ्यास पूर्ण असफल हुँदा पनि नेतृत्वले आफूभित्रको गलत चेत फेर्न सकेन । 

म राजनीतिमा किन (?) भन्ने प्रश्नको उत्तर ऊ आफैंसँग छैन । उद्देश्यविहीन चेत मुलुकहितमा कसरी हुन्छ ? तैपनि अझै आफ्नो सान्दर्भिकता पुष्टि गर्न खोज्दैछ— निरुद्देश्यीय शत्रु परास्त गर्ने एकमात्र उद्देश्य बोकेर । एमाले नामको निरुद्देश्यीय शत्रु परास्त गरेर मात्र मुलुक निर्माणको उद्देश्य पूरा होला गन्तव्यहीन गठबन्धनको ? 

आमनिर्वाचन सन्निकट छ । मुलुक र नागरिक हित कुनै पनि दलको निर्वाचन एजेन्डामा छैन/पर्दैन । दर्शन, सिद्धान्त र विचारधारा त कसैलाई पनि चाहिएको छैन । त्यसको सान्दर्भिकता पनि समाप्त भइसक्यो । निर्वाचनमा जानुको एउटै मात्र उद्देश्य छ– शत्रुलाई पराजित गर्ने । सत्ता र शक्तिलाई सधैं आफ्नो वशमा राख्ने । व्यवस्था दलीय छ तर राजनीति दलको छैन । सर्प, भ्यागुतो र बिच्छीको गठबन्धन छ । एकले अर्कोलाई सिध्याउने रणनीति बोकेकाहरूको ।  त्यही थियो राजनीतिमा लाग्नुको उद्देश्य ? दर्शन, सिद्धान्त र विचारधारा विसर्जन गरेर दलको नाममा राजनीति हुँदैन । हामीले यी कुरा प्रदीप गिरिबाटै सिकेको हो । 

दलभित्रै पनि एउटा गुटले अर्को गुटलाई हराउने राजनीति कहीं हुन्छ ? राजनीति गर्नेको उद्देश्य सामाजिक हुनुपर्छ । शत्रु पराजित गरेर मात्रै सामाजिक उद्देश्य पूरा हुँदैन । नेपाली राजनीतिले अन्य मुलुक र इतिहासबाट पाठ सिक्न खोजेको पाइएन । इतिहासले पाठ सिकाउँदैन तर इतिहासबाट सिक्न नखोज्नेलाई दण्ड भने दिन्छ । गन्तव्य पहिल्याउन नसकेपछि दण्डको भागिदार हुनैपर्छ । हाम्रो राजनीति त्यही दिशामा गइरहेको छ ।

प्रदीप गिरिको बौद्धिकताबाट धेरै सांसद् दीक्षित भए । समकालीन राजनीतिमा बाबुराम भट्टराई आशा गरिएकामध्येमा पर्थे । नयाँ शक्तिको नाममा राजनीतिक अभ्यास पनि गरे तर अन्त्यमा जहाँबाट निस्किएका थिए त्यहीं आएर थचारिए । यो भनेको दिशाहीनताको परिणाम हो । गिरिपछि सर्वाधिक पुस्तक पढ्नेमा पर्छन् सायद बाबुराम । उनमा पनि ‘भिजन’ रहेनछ, राजनीतिलाई असल बाटोमा हिँडाउन सकेनन् भने अरूबाट के आशा र अपेक्षा गर्ने ?

नेतृत्वका कारण दक्षिण एसियामै राजनीति हारिरहेको छ । श्रीलंकामा राजनीति मात्र होइन अर्थतन्त्र पनि पराजित भयो । बंगलादेश र पाकिस्तान पनि ओरालो यात्रामा छन् । के नेपाल पनि अछुतो रहला र भन्ने प्रश्न उठिरहेका छन् । नेपाल आर्थिक रूपमा श्रीलंका हुन सक्दैन किनकि मैले मेरो चुलो आफ्नै मेहनतले बालिरहेको छु । सरकारलाई मेरो चिन्ता र चासो दुवै छैन ।

सरकारको नीति महत्वपूर्ण भए पनि अर्थतन्त्र सरकारले नभई नागरिकको पैसामा निजी क्षेत्रले चलाइरहेको छ । राजनीति भने श्रीलंकाको बाटोमै छ— शासकीय शैली, भ्रष्टाचारको गति, पारिवारिक हस्तक्षेप र भाइभतिजावाद । विदेशी मुद्रा सञ्चिति ६/७ महिनाको आयात धान्न सक्ने छ भनिए पनि अर्थतन्त्र संकटोन्मुख छ । मूल धारको नेतृत्वका एकमात्र उद्देश्य विकास र सुशासन नभई शत्रु परास्त कसरी गर्ने भन्ने मात्र हुनुले मुलुक संकटमा रहेको पुष्टि हुन्छ । मूल धारको राजनीति नै धमिलो भएपछि माछा मार्नेले अवसर पाउँछ नै ।

मूल धारको राजनीति धमिलिएकै कारण बाहिरी भिडभाड बढेजस्तो देखिएको छ । त्यो भिड भनेकै दलभित्रकै असन्तुष्ट जमात हो । दलभित्रैबाट विकल्प खोजीका लागि व्यक्त गरिएको असन्तुष्टि हो । राष्ट्रिय प्रजातन्त्र पार्टीले जनमत हासिल गरेजस्तो देखिएको छ । शासकीय शैलीमा असफल भएका दलको नेतृत्वलाई राप्रपाको युवा नेतृत्वले चोरको संज्ञा दिएपछि त्यसलाई समर्थन गर्ने असन्तुष्टहरू त्यतै लाग्ने भए नै । त्यो भनेको सकारात्मक र रचनात्मक दुवै समर्थन होइन । बाबुराम भट्टराई र रवीन्द्र मिश्रले वैकल्पिक दलको अभ्यास गरे तर दुवै असफल भए ।

वैकल्पिक राजनीतिको पक्षमा समर्थन पनि ठूलै थियो तर किन टिकाउ हुन सकेन ? त्यहाँ पनि दलकै असन्तुष्टहरूको जमात गएकाले सकारात्मक र रचनात्मक समर्थन भएन, वैकल्पिक शक्तिले आकार लिनै सकेन । किनकि उनीहरूले पनि असन्तुष्टलाई गन्तव्य देखाउन सकेनन् । फलानो दल असफल भयो भन्ने मात्र उनीहरूको एजेन्डा भयो । मेरो दल कसरी फरक हो, मैले के दिने भन्ने चित्तबुझ्दो व्याख्या बाबुराम र रवीन्द्रले गर्न सकेनन् । स्वयं आफूमा गन्तव्य नभएपछि अरूलाई गाली गरेर आउनेहरू सफल राजनीतिज्ञ हुन सक्दा रहेनछन् भन्ने पुष्टि बाबुराम र रवीन्द्रले गरे । 

स्वतन्त्रको नाममा आएको दलको हालत पनि त्यही नै हो, हुनेछ । किनकि त्यहाँ जम्मा भएको भिड पनि असन्तुष्टहरूको जमात मात्र हो । बरु बालेन साहको बाटो सही थियो । उनी भिजनसहित आएका थिए, कसैलाई गाली गरेर मेयर भएका होइनन् । दलबाट सहयोग पाउन सकेका छैनन् । स्वयं कुनै दलमा जान डराए तर एक्लै गर्न अप्ठेरो छ किनकि विकास भनेको बहुपक्षीय एजेन्डा हो ।

स्वतन्त्र नामको दल भने झुक्याउनका लागि मात्र हो । स्वतन्त्र भन्ने दल असान्दर्भिक हुन्छ । स्वतन्त्र होइन, दल नै चाहियो । यसकारण अरू भन्दा हामी फरक भन्ने पहिचान स्थापित हुनुपर्छ, दल बनाएर जनविश्वास जित्न । सुविधाभोगीले चाहँदैमा नेता हुन सजिलो छैन, त्याग चाहिन्छ । स्वतन्त्रबाट त्यो मान्यता स्थापित हुन सक्दैन । 

नेपाली कांग्रेस लहडमा स्थापित भएको होइन । कांग्रेसका नाममा धेरैले आफ्नो जीवन उत्सर्ग गरे । बीपी कोइरालाको इतिहास संघर्षमै बित्यो । जीवन र मृत्युसँग अन्तिम लडाईं गर्दा पनि जेलको चिसो छिँडी प्यारो भइरह्यो, जनअधिकार स्थापित गर्ने संघर्षमा । यस्तो नेतृत्वले लिड गरेको त्यो दल आज सुविधाभोगीको खेलौना भइदियो । त्यसैले त ऊसँग प्रतिस्पर्धा गर्न नयाँ सुविधाभोगी राजनीतिमा आए । 

त्यसो हुँदा पनि कांग्रेसको सान्दर्भिकता समाप्त भएको छैन । सान्दर्भिकता त सत्ताका लागि विचारधारा, सिद्धान्त र दर्शन बन्धक राख्ने कांग्रेसीको समाप्त भएको हो। सुधार भित्रैबाट खोज्नुपर्छ । हिलोमा केही ‘कमल’ पनि फुलेका छन्, तिनैलाई मलजल गर्नुपर्छ ।  कम्युनिस्टको खेलौना बनेर ‘कमल’ रुपि आशाका किरण समाप्त पार्ने तिकडम होइन । प्रदीप गिरिले यी कुरा संसद्मा सांकेतिक रूपमा भन्ने गर्थे । बुझ पचाउनेहरूको बाहुल्य रहेको संसद्मा कसले किन बुझ्थ्यो र उनको कुरा । 

समस्या असन्तुष्ट मतदातामा छ । नयाँ सुविधाभोगीको पछि पनि लागेको छ, पुराना सुविधाभोगी पनि छोड्दैन । दोहोर चरित्र प्रदर्शन गर्छ । कराउँछ, गाली गर्छ तर मतपेटिकामा पुगेपछि त्यही गाली गरेको व्यक्ति वा पार्टीलाई मत खसालेर आउँछ, ल मोरोस् खाओस् । मतदाता शिक्षा यस्तो मतदातालाई सचेत गराउन चाहिएको छ । 

उता, निर्वाचन आयोग सामाजिक सञ्जालका कारण मतदाता शिक्षा सञ्चालन गर्नु परेन भनेर तर्किन्छ । स्थानीय तह निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम लागू भएन । अघि बढ्नुपर्ने आयोग पछाडि फर्कियो । मतदाताको चरित्रले मतदाता शिक्षा झनै अपरिहार्य देखिएको छ । डोनाल्ड ट्रम्पले निर्वाचन जितेपछि अमेरिकामा पनि मतदाता शिक्षाको चर्को माग भयो । किनकि ट्रम्पले मिसलिड गरे । बेलायतमा पनि मतदाता शिक्षाको माग बढिरहेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

मतदातालाई सही प्रतिनिधि चुन्न सहज होस, लहडमा चरित्र नबदलियोस् भनेरै मतदाता शिक्षा चाहिएको हो । सामाजिक सञ्जालले सकारात्मक भन्दा नकारात्मक काम बढी गरिरहेको छ । समाज परिवर्तनमा योगदान गर्न निश्चित उद्देश्य र कार्यक्रमसहित अघि बढ्न चाहने गगन थापा, विश्वप्रकाश शर्माजस्ता युवालाई साथ दिन पनि मतदाता शिक्षा चाहिएको छ । विपक्षीबाट मात्र होइन आफ्नै पार्टीबाट उनीहरूलाई असहयोग गर्ने तानाबाना बुनिएका समाचार पनि सामाजिक सञ्जालबाटै आएका छन् । गठबन्धन यसैको विरुद्धमा त होइन ? कतै गठबन्धनमा टिकटको भागबन्डा मिलाउन खटिएका ठेकेदार यही प्रयोजनका लागि प्रयोग गरिएका त होइनन् ? किनकि यो समाचार पनि सामाजिक सञ्जालबाटै आएको हो । कतै सञ्जाल नै नेगेटिभ त छैन ?

समस्या व्यक्तिमा कि प्रणालीमा भन्ने प्रश्न पनि उब्जिएका छन् । एउटाले अर्कालाई सिध्याउने, गठबन्धन गर्ने, एउटाको नाममा निर्वाचन जित्ने, अर्कैको हितमा प्रयोग हुने शैलीले समस्या पात्रमा पो हो कि भन्ने देखिन्छ । व्यवस्था बहुदलीय भए पनि पात्रको चरित्र निर्दलीय छ । कुरा सदाचार र नैतिकताका हुन्छन् तर काम उल्टो । कतै यो सुविधा प्रणालीले दिएको त होइन ? अब समस्याको समाधान पात्रबाट भन्दा प्रणालीबाटै खोज्नुपर्छ । 

यही प्रणाली र पात्रको चरित्रले राजनीतिक दलमा पुस्तान्तरण कल्पनाको विषय रहेन, गगन, विश्वप्रकाश, लेखनाथ न्यौपाने र बालेनजस्ता युवाको भविष्य पनि देखिन्न । दलीय व्यवस्था राम्रो हुँदाहुँदै पनि कार्यकारी प्रमुख प्रधानमन्त्री वा राष्ट्रपति प्रत्यक्ष निर्वाचित गर्ने व्यवस्थामा जानैपर्ने अवस्था उत्पन्न भएको छ । दुई करोड नेपालीले आफूले चाहेको नेता प्रत्यक्ष मतदानबाट चुन्ने अवसर पाउनेछन् । अनि मात्र राजनीतिमा युवाको भविष्य सुरक्षित हुनेछ । गिरि भन्थे, ‘राजनीतिक स्थिरता प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थापछि हुनेछ ।’ मंसिरमा हुने निर्वाचनपछि पनि मुलुकमा स्थिरता आउने कुनै संकेत नभएको एमाले र गठबन्धनका नाममा भएको राजनीतिले देखाउँछ । 

राजनीतिमा स्थिरता आउन नदिन समानुपातिक निर्वाचन प्रणाली बाधक बन्यो । शीर्ष नेताको निकट भूमिकामा रहेको पात्रकै कारण दल र दलीय व्यवस्था बदनाम भएको छ । त्यस्तो पात्र निर्वाचन जित्ने अवस्था नभएपछि समानुपातिक कोटामा बसेर राजनीतिलाई दूषित बनाइरहन चाहन्छ । कार्यकारीको प्रत्यक्ष निर्वाचनसँगै संसद् सदस्य मन्त्री बन्न नपाउने व्यवस्था गर्न जरुरी छ । राजनीतिक विकृतिको एकबुँदे समाधान त्यही नै हुनेछ । गिरिको आसय पनि यही हुने गथ्र्यो । 

हो, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री/राष्ट्रपति तानाशाही बन्ने जोखिम पनि उत्तिकै छ । त्यस्तो अवस्थामा के गर्ने भन्ने प्रश्न पनि उठ्न सक्छ तर जोखिम उठाउन सक्नुपर्छ । सबै व्यक्ति तानाशाही नहुन सक्छन् । इतिहासमा त्यस्ता दुर्घटना हुन्छन् पनि तर पाठ सिकेर अघि बढ्ने अवसर पनि हामीसँग हुन्छ । संसारमै उत्कृष्ट मानिएको दलीय व्यवस्थाको विकल्प खोज्न आवश्यक छ/छैन मंसिर ४ गते नागरिकले गर्ने फैसलामा भर पर्छ । आशा गरौं, नागरिकले काठमाडौंको फोहोर व्यवस्थापनमा सहयोग नगरे पनि राजनीतिलाई फोहोर बनाउने पात्रको बिदाइ अवश्य गर्नेछन् । अनि मात्र प्रदीप गिरिलाई श्रद्धाञ्जली दिनुको अर्थ हुनेछ । भौतिक शरीर नरहे पनि उनको विद्धता र राजनीतिक आदर्श सधैं जीवित रहनेछ । 


Author

थप समाचार
ad
x