विचार

‘यी ठेट्नाहरूलाई राजनीति मजाक लाग्दो हो’

अविरल आचार्य |
जेठ ७, २०७९ ११:२२ बजे

‘म आमा हुँ, सारा सृजनशक्तिको मुख भएर 
म भन्‍न सक्तछु, 
त्यो आउँछ, 
मैले यो कुनै अल्छी सपना देखेको होइन ।’ 
(कवि गोपालप्रसाद रिमाल, आमाको सपना)

मलाई राजनीतिको ‘र’ पनि आउँदैन । साहित्यको अलिअलि ‘स’ आउँछ होला । तर यो युवाहरूले देखेको कुनै अल्छी सपना होइन । म सम्पूर्ण युवाहरूमध्येको, एउटा मुख भएर भन्‍न सक्तछु, ‘यो हामीले देखेको कुनै अल्छी सपना होइन ।’


९० को दशकमा ‘बूढो बकाइनोको रूखमा’ झुण्ड्याइएर होस् वा ‘एक रात’ विस्तीर्ण आकाशमुन्तिर डोरीमा सजाइएर होस्, युवाको बलिदानको चर्चा जसरी राजनीतिमा वा राजनीतिक समारोहमा गरिन्छ, त्यतिकै चर्चा साहित्यमा पनि प्रविष्ट छ । आफ्ना काला अश्वेत भयंकर पंखहरूले गडगडाएर राजतन्त्रको निरंकुश व्यवस्थाले यो युगमा ज्यादा बेर छोप्न सकेन, अत: ‘दमिनी भीर’बाट लडिगयो । 

राणाहरूविरुद्ध लडेकाहरू, फेरि पञ्चायतविरुद्ध लडे, फेरि राजसंस्था विरुद्ध पनि लडे । लड्दालड्दै उनीहरू बूढा भए । अब कतिन्जेल लड्ने ? कसैले प्वाक्क बोलिदियो । ‘यी ठेट्नाहरूलाई राजनीति मजाक लाग्दो हो,’ फेरि बोल्यो, ‘र्‍याप गरेजस्तो सजिलो होइन राजनीति ।’ अरे र्याप गर्न कहाँ सजिलो हुन्छ र ? के थाहा ?

म कुण्ठाहरू सुनेर वाक्क भैसकेँ । उनी झन् कति भए होलान् । उनीहरू झन् कति भए होलान् । तर... तर... तर फेरि उनीहरू हड्बडाएनन्, कराएनन् । बस् शालीन भएरै प्रस्तुत भैरहे । कुनै मूलधारको पत्रिकाले लेखिभ्यायो, “उनी वाचाल देखिएनन्, कालो चस्माभित्रै लुकिबसे ।’ 
उनले कालो चस्मा लगाएर मनमनै भने होलान् :
“तिमी पहाडलाई लाटा भन्दछौ, 
म भन्छु वाचाल ! 
जरूर साथी 
मेरो एक नसा ढिलो छ । 
यस्तै छ मेरो हाल ।’ 

एक नसा ढिलो भएका उनलाई युवापुस्ताले मज्जाले मन पराएको देखियो । सबै नसा ठीक भएकाहरू मुर्मुरिए होलान्, ‘हेरौँला ! के के नै गर्दो र’छ ।’  यति लेख्दै गर्दा मेरा अन्टसन्ट न्युजमा उठेको आक्रोश केही कम भयो । यो लेख कुनै विश्लेषण होइन । म विज्ञ होइन, ममा त्यति विघ्न क्षमता पनि छैन । कुनै पत्रीकामा अहिलेसम्म कुनै लेख प्रकाशित छैन । यो बस्, एउटा मनोवेग हो, एक मनोद्वेग हो । 

यो मनोद्वेग लेख्दै गर्दा, बालेन शाह झण्डै दोब्बर मतले अग्रस्थानमा छन् । 
- अब बालेनले पक्का जित्यो । 
- बालेनले मन जितिसक्यो । 
- बालेन राजाको मान्छे हो ।
- बालेन शाहको देवत्वकरण भैसक्यो । 
आदि इत्यादि । म सञ्जालहरूमा, पत्रिकामा, लेखमा, मानिसहरूको चासो देख्छु । समालोचना भेट्छु । आलोचना पढ्छु । एकजनाले काठमाडौं, अझ सिङ्गो देशमा भूकम्प मच्चाएको छ । अरूलाई ‘ऊ’ पछाडिको पर्याय बुझ्नु आवश्यक छ । उनी एकजनाको पछाडि केही जना छन् । केही जनाको पछाडि धेरै जना छन् । बालेन शाह यी धेरै जना हुन् । उनी अबको पुस्ताको साँचो हुन् । उत्तर हुन्, आवाज हुन्, र स्वयंमा प्रश्न पनि हुन् । 

कसैले भनिरहेका छन्, ‘जुन युवापुस्ता माइतीघर मण्डलमा उभिएर आफ्नो निष्पक्ष अभिव्यक्ति दिइरहेका छन्, आवाज उठाइरहेका छन्, त्यो मण्डलको धरातल, इतिहास बुझ्न जरुरी छ । योगदानलाई सम्मान गर्न जरुरी छ ।’ 

अवश्य पनि छ । त्यो धरातल एउटा स्वतन्त्रताको प्रतीक हो । त्यो समयका हजारौं युवाहरूले (जनताहरूले) खडा गरेको विम्ब हो । यो युवापुस्ताले टेक्ने भनेकै त्यही धरातलमै हो । अन्त कहाँ टेक्नु ? कि हामी पनि त्यो समयमा जन्मनु पर्थ्यो ? कि हामीले पञ्चलाई लखेटेनौँ, माओवादी द्वन्द्व भोगेनौँ ? कुनै पनि बाबुले आफ्नो सन्तानलाई ‘तँ मेरो घरमा जन्मेको होस्, तैँले बनाएको घर होइन यो’ भनेर दुर्व्यवहार गर्न पाउँदैन । तर, म मान्छु, यो खडा गरिएको धरातललाई युवाहरूले अनन्तसम्म उभ्याउन भूमिका निर्वाह गर्नुपर्ने कुरो त विधिवत् छँदै छ नि । हामी यो धरातल मास्न पनि आएका होइनौँ नि । 

पुन: राजनीतिक दलहरूको आरोप–प्रत्यारोपको समयमा, उनीहरूले जनतालाई कुन नजरले हेरेका छन् भन्‍ने कुरो पनि त प्रस्ट भइरहेकै छ । गठबन्धनकै उदाहरण दिने हो भने यो कुरो बुझ्न कुनै आइक्यू चाहिँदैन । उनीहरू जनतालाई कांग्रेस, एमाले, माओवादी, समाजवादी र अन्य दलको बाहेक अरु देख्दैनन् । जनतालाई उनीहरू दलको कार्यकर्ता र चम्चा बढी देखिरहेका छन् । यो अभिव्यक्ति राजधानीका मेयर प्रत्यासी ‘स्थापित’को हकमा पनि लागू हुन्छ । उनी भनिरहेकै छन्, ‘मेरो कोर एरिया आउनै बाँकी छ ।’ 

किन बाँकी छ ? किन ‘कोर’ र ‘बफर एरिया’ भयो ? के त्यहाँ उनले बढ्ता ख्याति कमाएका होलान् ? के त्यहाँ बढ्ता विकास गरे होलान् ? किन ? किनभने ‘जनता (भोटर) नातावादमा विश्वास राख्छ । जनता कार्यकर्तावादमा विश्वास राख्छ । चिनजानमा विश्वास राख्छ । ऊ कि मेरो हो, कि अरुको हो । ऊ कि मेरो जातको हो अन्य धर्मको । ऊ कि रैथाने हो, कि तराईको हो । ऊ कि त मेरो गुलाम हो, कि अर्काको । ऊ स्वतन्त्र छैन ।’ 

दलबाट आएकी सुनिता डङ्गोल हुन् वा स्वतन्त्र बालेन शाह, वा अटेरी अभियानका अन्य युवाहरू; उनीहरू पनि नयाँ पुस्ताका लागि धरातल बनाउन चाहन्छन् । नत्र त यी माइतीघर मण्डलहरू के थाह, भविष्यमा इतिहास बन्‍न के बेर ?

आखिर कुरो यही नै हो । यो जनता, कर्मचारी, सञ्चारकर्मी सबैमा लागू हुन्छ । दलहरू हामीलाई यसरी नै सोच्छन् । जस्तो कि कोही भनिरहेछ, गठबन्धनका कांग्रेसीहरूले धोका दिए । कि भोटर जति सबै कांग्रेस हुन्, प्रजातन्त्रमा विश्वास राख्नेले फरक मत नै राख्न पाउँदैन ? कि सबै ख्वामितकै पाउमा दण्डवत् पर्न पर्‍यो । 
उफ्फ ! यो रामलील । मलाई यस्तोमा रामायणको श्लोक याद आयो ! हनुमान उवाच :
‘हे माता म त दास हुँ हजुरको राम्का हुकुम्ले गरी । 
आयाको छु हजुरका खबरमा गम्भिर् समुद्रै तरी ।’

हनुमान अष्ट चिरञ्जीवीमध्येका एक हुन् । यो युगमा हनुमान भेट्टाउन गाह्रो नहोला । तर सत्यको मार्गमा लाग्ने विभीषण प्रशस्तै भेटिनेछन् । तर यो आरोप, प्रत्यारोप, व्यंग्य, सार्क्याजम आदिमा म मेरो मनोवेग समेट्न चाहन्‍नँ । 

यो शताब्दी विज्ञान प्रविधिले गर्दा पहिलेभन्दा भिन्‍न छ । माध्यमहरू नयाँ छन्, नौलो छन् । पुस्ता त्यस्तै नयाँ विकासक्रम चाहन्छ, कार्यसम्पादन चाहन्छ । सिद्धान्तभन्दा माथि विकास रोज्छ । उनीहरू कुनै सस्तो ट्रेन्डका पछि लागेका होइनन् । जति अरू पुस्ता आजित छन्, दु:खी छन्, युवा झन् धेरै छन्, किनकि उनीहरूलाई पहिलेको पुस्ताभन्दा धेरै बाँच्नु छ । ब्रेन ड्रेन, यानकि लाखौं युवा विदेशियो, त्यही भएरै देश उँभो लाग्न सकेन भन्‍ने तर युवाको राजनीति प्रवेशलाई कलिलो ठेट्नाको मजाकसँग अब पनि दाँज्न मिल्दैन ।

यी युवाहरू पढेका छन् । यी युवाहरूको रेमिटेन्सले देश चलाउने होइन, युवाहरूलाई देश चलाउन कहिले दिने ? यी युवाहरूलाई साना मरिनको (फिनल्यान्डकी प्रम) उमेर थाहा छ । मार्क हटको (नेदरल्यान्डको प्रम) सरलता देखेका छन् । केजरीवालको निर्भीकता बुझेका छन् । उनीहरूलाई थाहा छ, ट्रम्प जस्तो शासकको अन्त्य कसरी गर्नुपर्छ भनेर । उनीहरूलाई श्रीलंकाको अर्थतन्त्रले सताएको छ । युवाहरू चाहन्छन्, उनीहरूको नेतृत्वकर्ता मार्केल जस्तै शालीन होस्, ओबामा जस्तै निपुण होस् । मदन, बीपी, गणेशमानको व्यापारीकरणले आजित भइसकेका उनीहरू अब चेतनाको ढोका ढक्ढक्याउँदै छन् ।

कसैले कहीँबाट सुरुवात त गर्नुपर्‍यो, उनीहरू सुरुवात खोज्दै छन् । उनीहरू मुख्य दललाई भन्दै छन्, ‘अब त सुध्रिऊँ ! नत्र भने ?’ नत्र भने चिसो पानीले नुहाउने अवस्था अब पनि आउनेछैन । अब त्यो अवस्था नल्याउनका लागि विज्ञ, सञ्चारकर्मी, पत्रकार, कर्मचारी, समाजसेवी, नागरिक समाज सबैको हात अनिवार्य छ । ‘के के न गर्छु भन्थिस्, बल्ल खाइस्,’ भन्‍ने समय अब छैन । नत्र युवा एक्लै चल्न पनि तयार छन् भन्‍ने त बालेन शाहले प्रस्ट पारिसके । रवीन्द्रनाथ टागोरले पक्कै पनि उनलाई जग्जगाएका छन् : 
‘जोदी तोर डाक सुने केउ ना आसे
तोबे एकला चलो रे  ।’ 
र अन्त्यमा, भूपी उवाच :
‘अंशैबण्डा गर्ने हो भने पनि यो देशको एक करोड
टुक्राहरूमध्ये एउटा टुक्रामाथि
मेरो पनि छाप्रो हुनेछ ।’

त्यसैले यो देश जत्तिको अरूको हो । त्यत्तिको युवाहरूको पनि हो । त्यो हकका लागि लडेका त्यो पुस्ताहरूले, यो पुस्तामाथि अनुदार हुनु हँुदैन । उदार भावले युवालाई राजनीतिमा स्वागत गर्नुपर्छ । निषेधको राजनीति सिकाउनु हुँदैन । कमी–कमजोरीलाई स्वीकार्न सिकाउनु पर्छ । क्षमतालाई चिनाउनु पर्छ । महत्वाकांक्षी सपनाहरूलाई भन्दा पनि सरल आवश्यकतामा डोर्याउन पर्छ । राम्रो अभिभावकको भूमिका निभाउनु पर्छ, जसरी त्यो पुस्ताले अभिभावकत्व पाएको थियो । दलबाट आएकी सुनिता डङ्गोल हुन् वा स्वतन्त्र बालेन शाह, वा अटेरी अभियानका अन्य युवाहरू; उनीहरू पनि नयाँ पुस्ताका लागि धरातल बनाउन चाहन्छन् । नत्र त यी माइतीघर मण्डलहरू के थाह, भविष्यमा इतिहास बन्‍न के बेर ?



Author

थप समाचार
ad
x