विचार

अरब गएर घर बनाउँछौँ, घर बनाउनेले अर्ब लिएर फर्किन्छन्

पूर्णबहादुर परियार |
जेठ ५, २०७९ ११:२४ बजे

एकता र राष्ट्रियता शब्दकोश ओगट्ने शब्दहरूमा मात्र सीमित छ, सोझा नेपालीहरू बाँडिएका छन् । सिङ्गो नेपाल बनाउने गुरुयोजना कसैसँग छैन । एक तप्का सरकारी रोजगारीमा भविष्य देख्छ, अर्को तप्का पद र पहुँच प्राप्त गरी शासक बन्‍न सजिलो बाटो राजनितिमा भविष्य देख्छ । कोही वैदेशिक रोजगारीमा त कोही प्रवासको बसाइमा । आखिर के भइरहेको छ वीरहरूहरूको मुलुकमा । कसरी मगन्ते हुन पुग्यो ?

स्पष्ट भिजनविनाको नक्कल प्रत्युत्पादक हुने गर्छ । प्रसङ्ग महोत्सव को हो ? यो विदेशी नक्कल नै हो । विकसित मुलुकमा यसलाई ‘फेस्टिवल’ भनिन्छ । विशेष चाडपर्व वरिपरि नागरिक तथा पर्यटकलाई पनि आकर्षण गर्ने उद्देश्यले विविध वस्तुहरू सुपथ मूल्यमा उपलब्ध गराइने उत्सवलाई ‘महोत्सव’को रूपमा प्रस्तुत गर्ने प्रचलन विश्वभरि नै छ । राष्ट्रिय । क्षेत्रीय । स्थानीय उत्पादन, परम्परागत भेषभूषा, सांस्कृतिक झाँकीहरू प्रस्तुत गर्दै मौलिकता संरक्षण गर्ने हेतुले यस्ता महोत्सव वर्षमा एकपटक रोचक र सान्दर्भिक हुन्छ नै तर हाम्रो मुलुकमा यो गलत तरिकाले प्रस्तुत भइरहेको छ । महोत्सव होइन, कृषिमेला वा कृषि उत्पादन प्रदर्शनी वर्षमा धेरै पटक आयोजना गर्नु मुलुकको हितमा हुनेछ । अहिले आयोजना हुने महोत्सवहरू खराब नक्कल हो । स्वदेशी मुद्रा हावामा उडाउने खराब अभ्यास हो । मन्दविष हो ।


रेमिट्यान्सको नाउँमा नेपाली युवाहरू भारत, खाडी र मलेसियामा कार्यरत छन् । युवाहरू बाहिरिनु बेरोजगारी मात्र होइन । श्रम र सीपको सन्मान नहुनु हो । एकातिर नेपालबाहिर परिवारबाट छुट्टिएर बस्दा पारिवारिक माहोल हुँदैन । खानपिन र थकानको सन्तुलन मिलाउन हम्मेहम्मे हुन्छ । वैदेशिक रोजगारमा लामो समयसम्म घरबाहिर रहेर ४०–४५ को उमेरमा नेपाल फर्कने युवाहरूको अनुहार हेर्दा राम्रो स्वास्थ्य जस्तो देखिए तापनि भित्री अधिकांश युवाहरूको आन्तरिक शक्ति क्षीण भएको कारणले पारिवारिक सम्बन्ध बिग्रिँदा व्यक्ति परिवार र बालबच्चाको भविष्य अन्योलमा । रिटायार्ड जीवन झैँ–झगडा कोर्टकचेरीमा धाउँदा धाउँदै कमाएको धन गुमाई पहिलेको अवस्था बाँच्नु न मर्नुको अवस्थामा जीवनको यात्रा टुङ्गिएको देखिएको छ । रेमिट्यान्सले दुई छाक मीठो मसिनो खान त सजिलो बनायो तर मन्द विष, जिउँदो लास बनेर बाँच्नुपर्ने ।

विप्रेषण एक कृत्रिम रगत हो र त्यो रगतमा किटाणुहरू पनि हुन सक्छन् भन्‍ने तथ्य अहिले पुष्टि हुँदै छ । आफ्नै माटोमा पाइने अन्‍नपानीले बनेको रगत जस्तो हुँदैन रहेछ, पोकाको रगत । स्थायी आम्दानीको स्रोत हरेक परिवारलाई आवश्यक छ र समाधान जटिल छ । नेपालमा नै काम गराँै भने श्रम र सीपको मूल्य छैन । कपाल काट्नु गार्हो काम होइन तर राम्रो परिवारले छोरी दिँदैनन भन्‍ने डर हुन्छ । पाइप तथा फिट्टिङ्सको काम गरौँ भने पनि त्यही डर । अफसोस त्यही पेसाबाट कर नतिरीकन भारतीय मजदुरहरू खर्बौं रुपैयाँको विप्रेषण आप्रवाह भारततर्फ बगिरहेको छ । हामी अरब गएको रकमले घर बनाउँछौँ, तर हाम्रो घर बनाउनेले खर्ब लिएर फर्कन्छन् । काम सानो ठूलो होइन भनेर बुझ्न युरोप र अमेरिका नै पुग्नुपर्छ । मानौँ कि खाडी र मलेसियामा त्यो कोर्स छैन । लाज शरमको पोको मन्द विषकै पोको भयो ।

हाम्रो साझा रोग के हो भने जोखिम मोलेर काम गर्नु हुँदैन । चाहे निजी क्षेत्र होस् या सरकारी, एउटा जागिर त हुनैपर्छ । २०४६ यताका सरकारी नियुक्तिहरू हेर्ने हो भने व्यापक रूपमा अयोग्यहरू विविध क्षेत्रमा छन् । त्यति मात्र होइन मालपोत र भन्सार, यातायात विभागमा त सिधा तरिकाले कामै हुँदैन । कर्मचारीको मात्र दोष भने पक्कै होइन, किनभने महिला एक्लै बेस्या बन्‍न सक्दिन । बनाइने न हो । लिनेदिने चुप, कोठीमा जस्तै । भारतको हुबहु नक्कल गरी भारतकै शैलीमा अगाडि बढेको राजनीति अर्को मन्दविष हो । 

चुरोट, रक्सी, खैनी, सुर्तीका त चर्चा नगरौँ, यो त प्याकेटमै लेखेको हुन्छ । अर्को मन्दविष जुन दैनिक प्रत्यक्ष रूपमा सेवन गरिरहेका छौँ । तरकारी नै दैनिक ६ करोडको आयात हुनेगर्छ । आलु, प्याज, लसुन, फर्सी, गाँजर, सिमी जस्ता मौसमी बेमौसमी तरकारी भारतबाट दैनिक नेपाल भन्सारबाट नाकाबन्दी र कोरोना बन्दाबन्दीमा पनि भित्रिए । उत्पादन गर्दा कति विषादी प्रयोग गरिएका हुन्छन्, ढुवानी गरी उपभोक्ताको चुल्होसम्म पुग्दा विष गलिसकेको हुन्छ र पनि सेवन गर्न बाध्य हुन्छौँ ।

स्तरहीन प्याकिङ र ढुवानीमा हुने लापरबाहीको त चर्चा नै नगरौँ । उदाहरणका लागि काउली : ताजा काउली सफा र दागरहित हुन्छ तर ठेला वा तरकारी दुकानसम्म आइपुग्दा दाग बढी सेतो भाग कम हुन्छ र पनि विकल्प छैन । सबैले त यही खाइरहेका छन् भन्‍ने सोचले हाम्रो पेटमा पुग्छ । किड्नी फेल । हृदयघात । मधुमेह, विभिन्‍न खालका क्यान्सर रोग हाम्रो खानपान र जीवनशैलीका कारण नै निम्तिने हुन् । विष पनि आयात । औषधी पनि आयात भइरहेको छ ।  

आन्तरिक र बाह्य पर्यटन
जल, जमिन, जङ्गल, जडिबुटी नेपालको पर्यटनको मेरुदण्ड पनि हो र हरेक समस्याको समाधान हुन्छ । नेपाली जनमानसले जहिले पनि समथर भू–भागलाई सहरी क्षेत्र र उकालो उरालो डाँडाकाँडालाई गाउँ भन्‍ने बुझिरहेको छ । यो ठूलो भूल हो । भारतको लदाख । सिक्किम, दाजीलिङ, मसुरी, चीनको तिब्बत र भुटान अध्ययन गरे पुग्छ । सुविधा र आम्दानी मुख्य वस्तु हुन् । जमिनको बनावट हैन । शिक्षा, स्वास्थ्य । जिउधनको सुरक्षा, यातायात, सञ्चार, पानी, बिजुली र स्थायी आम्दानी भए हरेक गाउँसहर बन्छ । गगनचुम्बी घर, मोटर, गाडी, रेल, हवाईजहाज, पानीजहाज त विदेशीहरूले जति पनि देखेका छन् उनीहरू त स्वच्छ हावा । प्राकृतिक दृश्य । जैविक खाना र नि:सर्त अतिथि सत्कारमा नेपाल अग्रणी छ भन्‍ने सुनेर आएका हुन्छन्, तसर्थ उनीहरूलाई सहरमा भन्दा गाउँमा बढी रत्याउन सक्नुपर्दछ । चारवटा ‘ज’को महत्व त व्यापक छन् तर गाउँलाई सहर बनाउन यिनीहरूको सीमित प्रयोग कसरी गर्न सकिएला ?

जल : मिनरलयुक्त पानी हरेक मानवको अधिकार हो । पाचन प्रक्रिया या पेट सम्बन्धीका धेरै रोगहरू फोहोर पिउने पानी र पानीको अभावका कारण सरसफाइको कमीले हुने गर्दछ । पिउने सफा पानी किन्‍नुपर्छ । सरसफाइका लागि शौचालय नि:शुल्क छैन । सुदृढ पैदलमार्ग पनि छैन, हामी कस्तो पर्यटन उद्योगबारे सोच्दै छौँ ? जनता तथा पर्यटक सबैलाई नि:शुल्क प्रदान गर्ने स्तरमा पुग्नुपर्छ, पुर्याउनुपर्छ । पर्यटकलाई धुलाम्य र असुरक्षित सडक होइन । बरु हिँड्नै परे पनि सफा र धुलो नहुने पदमार्ग रुचाउँछन् । सम्भव भएको ठाउँमा कृत्रिम ताल निर्माण गरी माछापालन गर्नु जरुरी छ । पर्यटक आफैँ पनि माछा मारेर मनोरञ्जन लिन सक्छन् ।

जमिन : हाम्रो जमिनको बनावट हिमाल, जङ्गल, हरिया पहाड, खोल्साखाल्सी नदीनाला हुन् । हाम्रो भूमिमा फल्ने हुर्कने फलफूल, अन्‍नबालीलाई नै भोजन बनाउनुपर्दछ । आलुविना पनि तरकारी बन्‍न सक्छ । पकवान विज्ञानमा स्तरोन्‍नति गर्न सके हाम्रै जमिनले हामीलाई पुग्ने खाद्यान्‍न दिँदै आएको हो र अब पनि दिन्छ । जैविक खेती र जैविक उत्पादन । ताजा र शक्तिवर्धक खाना । दूधजन्य खानाको प्रवर्धन गर्ने । जैविक फलफूलको प्रवर्धन गर्ने । प्रशोधित खाना र पेय पदार्थलाई जरैसम्म निर्मूल पार्ने ।

जङ्गल : समथर भू–भाग जस्तै पहाडी जङ्गलहरू सफारीका लागि त उपयुक्त नहोला तर सीमित जङ्गली जन्तुको शिकार गर्ने अनुमति दिएर शिकार र जङ्गल भोजका लागि अर्थोपार्जन गर्न सकिन्छ । पहाडका जङ्गल अहिले अक्सिजन फ्याँक्नेभन्दा अरु कुनै काममा आउन छाडिसके बरु चितुवा र डमरूहरूले जङ्गलभित्र रहेका मानवबस्तीभित्र पसेर उल्टै मानव शिकार गरिरहेका छन् । विशेष नीति बनाएर त्यसै अनुरूप जनशक्ति तयार गरेर वनको विकास र विस्तार । वन्यजन्तु संरक्षण र शिकार गर्न सकिन्छ ।

जडिबुटी : हिमाली भेगमा पाइने यार्सागुम्बा बहुउपयोगी र धेरै महँगो हुने र व्यापक रूपमा खोजी हुने बताइन्छ र यसैका लागि हत्याहिंसा जस्ता आपराधिक क्रियाकलाप भएको पनि बेलाबेलामा सुनिन्छ । गम्भीर रूपमा अनुसन्धान र विकास गर्ने हो भने नेपाल प्राकृतिक चिकित्साको केन्द्र नै बन्‍न पनि सक्छ । यो दुनियाँ नै स्वास्थ्य समस्याको जरैदेखि समाधान खोजिरहेको बेलामा अनुसन्धानबाट पत्ता लगाइएका जडिबुटी प्रमाणित हुन सकेको खण्डमा हामीले वास्ता नगरेको जडिबुटीबाट नै हामी सम्पन्‍न हुन सक्छौँ ।

अन्त्यमा, मन्दविषको धेरथोर चर्चा गरियो । नेपालको सबैभन्दा ठूलो विष बोक्ने सर्पहरू त ‘भेनम’ ग्रन्थिमा बोकेर हिँडेका सर्पहरू । अवसरवादी भ्रष्ट नेता र कर्मचारीहरू नै हुन् जसले मन्दविषले लठ्ठ र मूर्र्छित भएका जनताहरूलाई मौका छोपी छोपी डसिरहेका छन् । जबसम्म उनीहरूबाट बेलाबेलाम भेनम निस्कासन गर्न सक्दैनौँ । तबसम्म हामी र हाम्रो मुलुक ती सर्पहरूबाट आतंकित भएर बाँच्ने मात्र हो । नत्र स्थायी मित्र बन्‍न सकिन्छ न त शत्रु नै । कुनै पनि सर्प देख्दा डर लाग्छ तर विशालु सर्प डसाइ र डसाइपछिको नतिजाबाट थाहा हुन्छ, याने कि उसको विषको प्रभावकारिताबाट मात्र चिनिन्छ । डसाइ पर्खने कि भेनम प्रत्येक नागरिक गरुड बनेर विनाको सर्प मात्र बाँकी राख्ने विवेक तपाईंको ।

नेपालभरिकै सहकारी विज्ञहरू एक ठाउँमा जम्मा भएर नेपालको हरेक गाउँमा बहुउद्देश्यीय सहकारी स्थापना गरी स्वालम्बनका अभियान चलाउने हो भने जात्रा गर्नै पर्दैन । योग्य र अनुभवी व्यक्तिलाई कानुनी दायराभित्र राखेर काम गर्न सके ३ करोड पुग नपुग जनसंख्यालाई समृद्ध बनाउन तीन तह आवश्यक छैन । जनताको आम्दानी कसरी बढाउने भन्‍ने महत्वपूर्ण हो, कर कसरी असुल्ने, आफू र आफ्नालाई जागिर दिलाउने । सजिलोसँग कटाउने भन्‍ने उद्देश्यले नै मुलुक तन्‍नम भएको र अन्तर्राष्ट्रिय चलखेल बाक्लो हुँदै गएको घाम जस्तै छर्लङ्गै छ । मुलुकलाई आफूभन्दा माया गर्ने नेता र जनता (वर्तमान परिप्रेक्ष्यमा शाषक र शासित) सबैजना मन्दविष सेवनबाट मुक्त भएर विशालु सर्पहरूका विरुद्ध गरुड बन्‍नु जरुरी छ ।



Author

थप समाचार
ad
x