खेलकुद

एसियाड अनिश्चित बनेपछि खेलाडी निराश

सञ्जीव शाह |
बैशाख २३, २०७९ शुक्रबार १८:३ बजे

काठमाडौँ -  १९ औँ एसियन गेम्स चीनमा सेप्टेम्बर १० देखि २५ तारिखसम्म हुने भनिएपछि ढिलो गरी नेपालले सहभागिता जनाउने २३ खेलका लागि तयारी तथा खेलाडी छनोट धमाधम चलिरहेको थियो ।

तर ओलम्पिक काउन्सिल अफ एसियाले भने एसियन गेम्स यस वर्ष नहुने स्पष्ट पार्नुका साथै नयाँ मिति नतोकेपछि नेपाली खेलाडीमा अवसर गुमाउने डर बढेको छ । 


नेपालले मे महिनाको पहिलो साता नै २३ खेलकै प्रारम्भिक छनोट सम्पन्न गरी खेलाडीहरुको प्रारम्भिक सूची पठाउने तयारी रहेको थियो । जसका लागि अधिकांश खेलकुद संघहरुले प्रारम्भिक छनोट पनि पुरा गरी खेलाडीहरुको नाम टुंगो लगाइसकेका छन् । 

तर एसियन गेम्स हुनेबारे अनिश्चितता बढेसँगै खेलाडीमा भने अवसर गुमाउने तथा गरेको मेहनत खेर जाने हो कि भनेर चिन्ता बढेको छ । 

नेपाल जुडो संघले प्रारम्भिक चरणमा छनोट गरेका २८ खेलाडीहरु मध्यका एक हुन् सन्जित डंगोल । सन्जित ७३ केजीमुनिका लागि छनोट भएका छन् ।
तर एसियन गेम्स स्थगित भएपछि सन्जित भने निराश भएका छन् । उनका अनुसार खेलाडीहरुले अवसर गुमाउने सम्भावना रहन्छ । 

'तयारी चलिरहेको थियो । तर गेम्स नै सर्यो भनेपछि नराम्रो असर त परिहाल्छ । एसियन गेम्सलाई लक्षित गरेर तयारी गरिरहेका हुन्छौ तर खेल नै सर्यो भने हामीले गरेको मेहनत त्यतिकै खेर जाने भयो' सन्जितले इकागजलाई बताए । 

उनले खेलका अनिश्चित भएपछि खेलाडीहरुले उमेर अथवा तौलका कारण खेल्न नपाउने अवस्था आउन सक्छ । 

पछि उमेर र तौलका कारण पनि खेलाडीहरुले खेल्न नपाउने अवस्थामा आउन सक्छ । एसियन गेम्स खेल्ने सपना बोकिरहेका हुन्छन् तर समयमा खेल नभएपछि खेलाडीहरुको समय खेर जान्छ, उनीहरुमा नकारात्मक असर पर्छ' उनी बताउँछन् । सन्जितका अनुसार खेलाडीहरु अब केवल नवौँ राष्ट्रिय खेलकुदमै सिमित हुने अवस्था आउन सक्छ । 

यता नेपाल जुडो संघका अध्यक्ष दिपक हर्श बज्राचार्यले पनि यसले उमेर बढी भएका तथा सन्यासको पर्खाइमा रहेका खेलाडीहरुलाई असर पर्ने स्विकार्छन् ।

तर बज्राचार्यका अनुसार उनीहरुको स्थानमा नयाँ खेलाडीले मौका पाउने सम्भावना पनि हुने छ । अर्कोतर्फ बज्राचार्यले एसियन गेम्स नभएपछि नवौँ राष्ट्रिय खेलकुदका लागि भने खेलाडीहरुले तयारीको लागि पर्याप्त समय पाउनेमा भने दंग छन् ।
 


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x