खेलकुद

खेलकुद बुझाउन कलाको प्रयोग

सञ्जीव शाह |
बैशाख १६, २०७९ शुक्रबार १५:४१ बजे

काठमाडौँ -  ड्रयागनको आकृति, एसियन गेम्सको झल्को दिने ओलम्पिकको रिङ र संकेत तथा विभिन्न खेलका खेलाडीको प्रतिकात्मक चित्र । काठमाडौँ मैतीदेवीकी श्रेया गुरुङले सृजना गरेको कलामा उक्त चित्रहरु देख्न सकिन्छ ।

खासमा ड्रयागन चिनियाँ संस्कृतिमा शक्ति, शुभकामना र भाग्यको प्रतिकको रुपमा लिइन्छ । त्यसैगरी चीनले यसै वर्ष सेप्टेम्बर १० देखि २५ सम्म १९ औँ एसियन गेम्स आयोजना गर्दैछ । यिनै कुराहरुलाई समेट्दै जय सुर्य सेकेन्डरी बोर्डिङ स्कुलकी विद्यार्थी श्रेयाले कला सृजना गरेकी थीइन् ।


श्रेया जस्तै १३ वर्ष मुनीका ६० भन्दा बढी स्कुले विद्यार्थीहरुले एसियन गेम्स सम्बन्धी 'आर्ट' बनाएका थिए र यसका लागि अवसर प्रदान गरेको थियो नेपाल ओलम्पिक कमिटीले । 

नेपाल ओलम्पिक कमिटीले चीनको हाङचोउमा आयोजना एसियन गेम्सलाई लक्षित गरी एसियन गेम्स आर्ट फेस्टीभल आयोजना गरेको थियो । कुनै पनि ठूला खेलकुद महोत्सव अघि सहभागी देशहरुमा यस्ता महोत्सवको आयोजना गर्ने गरिन्छ । 

सोही अनुरुप नेपालमा पनि महोत्सवको आयोजना गरिएको थियो र विद्यार्थीहरुले बनाएका 'आर्ट' मंगलबार प्रदर्शनीमा राखिने छ । प्रदर्शनीको अर्को उदेश्य भनेको बालबालिकालाई कलाको माध्यमबाट खेलकुद बुझाउनु पनि थियो । सहभागी मध्येका एक विराज घिमिरेले प्रदर्शनीमा आएर आफूलाई रमाइलो भएको समेत बताए । 

'बालबालिकाहरुलाई कलाको माध्यमबाट खेलकुदलाई बुझाउने हाम्रो प्रयास हो,' प्रदर्शनीको संयोजन गरेका अल्पाइन स्की खेलाडी सफल राम श्रेष्ठले बताए । 

श्रेष्ठका अनुसा सहभागी हुनेमध्येबाट छात्रतर्फ ५ र छात्रातर्फ ५ उत्कृष्ट चयन गरि यसलाई ओलम्पिक काउन्सिल अफ एसियामा पठाइने छ । जसमध्ये दुई चित्र हाङचोउमा हुने प्रदर्शनमा राखिनेछ । 

प्रदर्शनअघि १३ औँ दक्षिण एसियाली खेलकुदमा दुई स्वर्ण विजेता कराँते खेलाडी मन्डेकाजी श्रेष्ठ र ११ औँ दक्षिण एसियाली खेलकुदमा कास्य जितेकी टेबल टेनिस खेलाडी मुना बासुकलाले चित्रमामार्फत आफ्नो खेल जीवनको अनुभवबारे बताएका थिए । 
 


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x