खेलकुद

#वेकअपक्यानः क्यानको अकर्मण्यता कि समर्थकको आरोप मात्रै ?

अनिष भट्टराई |
कात्तिक २८, २०७८ आइतबार १३:३२ बजे

काठमाडौं - कात्तिक २६ मा नेपाली महिला क्रिकेट टोली बंगलादेशमा श्रृंखला खेलेर बसमा नेपाल फर्कियो । कोभिड–१९ प्रोटोकल भन्दै महिला टोलीले विमान चढ्न पाएन। बसमै घर फर्कन बाध्य भयो । यसले नेपाली क्रिकेट समर्थकलाई आक्रोशित बनायो । 

यसरी राष्ट्रिय टिम अन्तर्राष्ट्रिय खेल खेलेर बसमा घर फर्कनु पर्दा, नेपाली क्रिकेट समर्थकले नेपाल क्रिकेट संघ (क्यान)को आलोचना गरेका छन् । क्यानको विरोध स्वरूप समर्थकले सामाजिक सञ्जालमा ‘वेकअप क्यान’ ह्यास ट्याग नै चलाएका छन् । यद्यपि यो ह्यास ट्याग चल्नुको कारण महिला क्रिकेट टोली बसमा फर्कनुमात्र होइन, अन्य विविध विषय पनि छन् । जस्तै, पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षक चयनमा ढिलाइ, पुरुष टिमको अभ्यासको टुंगो नलाग्नु, क्यान अध्यक्ष चतुरबहादुर चन्दले क्यानको क्रियाकलापभन्दा राजनीतिमा ध्यान दिनु आदि । यी विषयहरूका कारण, नेपाली क्रिकेट समर्थकमा चरम निराशा छाएको देखिन्छ ।


कसरी सुरु भयो ह्यास ट्याग ‘वेकअप क्यान’ ? 
नेपाली क्रिकेट टोलीले विश्व क्रिकेट लिग–२अन्तर्गत स्कटल्यान्ड र नामिबियासँग एकदिवसीय शृङ्खला खेल्दै छ । यसका साथै फेब्रुअरीमा टि–ट्वान्टी विश्वकपको ग्लोबल छनौटमा नेपालले प्रतिस्पर्धा गर्ने सम्भावना छ । नेपालले उक्त प्रतियोगितामा आयरल्यान्ड, ओमान, नेदरल्यान्डस्, जिम्बाब्वे जस्ता टिमसँग खेल्नेछ । 

तर यसका लागि अहिलेसम्म पनि क्यानले कुनै अभ्यास खेल नखेलाएको, प्रशिक्षण सुरु नगरेकोमा क्रिकेट समर्थक आक्रोशित छन् । साथै नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक पदबाट प्रशिक्षक डेभ वाट्मोरले राजीनामा दिएपछि, उनको स्थानमा को ल्याउने भन्ने टुंगो छैन । वा यो प्रक्रियाकै चरणमा छ । यस किसिमको ढिलाइप्रति क्रिकेट समर्थकले चित्त बुझाएका छैनन् । 

समर्थकले फेसबुक, ट्विटरमा सामाजिक सञ्जालमा क्यानको आलोचना गर्दै आफ्ना धारणा राख्ने क्रममा ‘वेकअप क्यान’ ह्यासट्याग चलाएका हुन् । अहिले यो ह्यासट्याग ट्रेन्डिङमा छ । क्यानले क्रिकेटका गतिविधिमा पर्याप्त चासो नदिएको आरोप क्रिकेट समर्थकको छ । साथै आसन्न नेपाली कांग्रेसको १४औं महाधिवेशनमा क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जिल्ला सभापतिमा उम्मेदवारी दिएपछि पनि समर्थकहरू आक्रोशित भएका हुन् । राष्ट्रिय टिमको मसख्य प्रशिक्षक छान्ने, राष्ट्रिय टिमका लागि अभ्यासको व्यवस्था गर्ने र क्रिकेटसँग सम्बन्धित गतिविधिमा सहभागी हुनुपर्ने क्यान नेतृत्वकर्ता राजनीतिमै व्यस्त भएपछि क्रिकेट समर्थकको आक्रोश चुलिएको हो ।

सामाजिक सञ्जालमा ट्रेन्डिङमा रहेको ह्यासट्यागबारे क्रिकेट खेलाडीहरू जानकार नै छन् । यस्तोमा राष्ट्रिय खेलाडीहरू चाहन्छन्, चाँडो भन्दा चाँडो अभ्यास होस् । खेलाडीहरू निरन्तर अभ्यासमा रहनु पर्नेमा, अन्तर्राष्ट्रिय खेल आउनै लाग्दा पनि यसको चाजोपाजो मिलाइएको छैन । राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल जतिसक्दो छिटो अभ्यास सुरु गराइनुपर्ने बताउँछन् । ‘हामी चाहन्छौँ, हामीलाई चाँडै अभ्यासमा बोलाइयोस् । सायद यही बुझेर समर्थकहरूले ह्यासट्याग चलाउनु भएको होला,’ कप्तान ज्ञानेन्द्रले भने ।

पूर्वकप्तान पारस खड्का भने सामाजिक सञ्जालमा चलेको ह्यासट्यागलाई नेपाली समर्थकहरूले आफ्ना गुनासालार्ई बाहिर ल्याउने माध्यम बनाएको मान्छन् । ‘सामाजिक सञ्जालमा नेपाली क्रिकेटको बलियो पक्ष समर्थक हुन् । अहिले अत्ती भयो भनेर समर्थकले ट्रेन्ड चलाएका हुन् । मैले भन्दा पनि क्यानका पदाधिकारीले समर्थकको आक्रोश बुझ्नुपर्ने हो,’ खड्काले भने ।

अरु एकदिवसीय टिमहरू योजना बनाइ अगाडि बढिरहँदा क्यान पनि योजनाका साथ अघि बढ्दा राम्रो हुने पारसको सुझाव छ । ‘अरु ओडीआई टिम आफ्नो प्लानमा अघि बढिरहेका छन् । नेपालको हकमा क्यानले जिम्मा लिनुपर्ने हो,’ पारसले थपे ।

खेलाडीलाई सोधियो स्पष्टीकरण 
क्यानले सार्वजनिक गरेको वर्गीकरणमा खेलाडीहरूको असन्तुष्टि बाहिरै आएको थियो । यसरी असन्तुष्टि जाहेर गर्ने खेलाडीहरूलाई क्यानले स्पष्टिकरण सोधेको बताइएको छ । नयाँ सम्झौतामा सोमपाल कामीलाई ‘बी’ ग्रेड मा राखिएको छ भने रोहितकुमार पौडेल वर्गीकरणमै परेका छैनन् । गुल्सन झा पनि वर्गीकरणमा छैनन् । उता कमलसिंह ऐरीले आफूलाई ‘सी’ ग्रेडमा राखिएपछि असन्तुष्टि जनाएका थिए । ‘खेलाडीहरूले असन्तुष्टि जनाएपछि क्यानले स्पष्टीकरण सोधेको छ । आफूहरूको गल्ती नहेर्ने, खेलाडीको मात्र गल्ती देख्ने ? स्पष्टीकरणमा मनपरी देखिन्छ,’ स्रोतले भन्यो । 


अभ्यासको मिति समर्थकले होइन, क्यानले तोक्ने होः क्यान
क्यान अध्यक्ष चतुरबहादुर चन्द भने क्यानले आफ्नो काम गरिरहेको बताउँछन् । मुख्य प्रशिक्षक छनौटको प्रक्रिया चलिरहेको र अभ्यास कहिले र कहाँ गराउने भन्नेबारे आईसीसीसँग कुरा भइरहेको चन्दले बताए । ‘अभ्यास कहिले गराउने भन्ने उनीहरू (समर्थक)लाई थाहा छैन,’ चन्दले भने, ‘कति दिनको अभ्यास गराउने, कहाँ गराउने, कसरी गर्ने भन्ने योजना हामीसँग छ । यही अनुसार हामी अघि बढ्छौँ । आज ढिलो भयो भन्लान्, भोलि छिटो भयो भन्लान्, हामी आफ्नै प्रक्रियामा चल्छौँ ।’

आफूले कांग्रेस महाधिवेशनमा जिल्ला सभापतिमा उम्मेदवारी दिनाले क्रिकेटलाई कुनै असर नपुग्ने पनि चन्दको दाबी छ । अरु खेल संघका कयौँ पदाधिकारीहरू पनि राजनीतिक दलका केन्द्रीय सदस्यसम्म रहेको भन्दै चन्दले भने,‘ यस्तो विषयमत क्रिकेटका समर्थकले अनावश्यक टिप्पणी गर्न मिल्दैन । हिजो रमेश सिलवाल, राखेप सदस्य सचिव हुँदा एमालेको केन्द्रीय सदस्य हुनुहुन्थेन र ? म चाहिँ किन महाधिवेशनमा उठ्न नपाउने ?’ उनले प्रश्न गरे ।

उता क्यान कोषाध्यक्ष रोशन सिंहले खेलाडीको अभ्यासका लागि पोखरामा मैदान तयार भइरहेको र अभ्यासका लागि चार महिना समय बाँकी रहेको बताए । ‘क्रिकेट घर, गल्लीमा खेलेर हुँदैन । यसका लागि मैदान चाहिन्छ । हामी पोखरामा मैदान तयार गरिरहेका छौँ । क्यानले प्रभावकारी रूपमा काम गरिरहेको छ, सामाजिक सञ्जालमा ५० जना कराएर हुँदैन,’ सिंहले भने । 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x