खेलकुद

एन्फा नेतृत्वको टकराब मैदानमा छताछुल्ल

धनबहादुर गुरुङ |
साउन ७, २०८० आइतबार २२:३ बजे

पोखरा- अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्व अहिले पंकजविक्रम नेम्वाङले सम्हालिरहेका छन् । उनले निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई पराजित गरी अघि बढेका हुन् । तर, नेम्वाङ र शेर्पाबिचको टकराब अझै सकिएको छैन । उनीहरूबीच निर्वाचन अघिदेखि नै झमेला सुरु भएको थियो ।

उनीहरूबीचको मतान्तर ६ थियो । पंकजले ४५ मत ल्याउँदा कर्माले ३९ मत ल्याएका थिए । उनको पक्षमा पनि समान हाराहारीमा मत रहेका कारण कर्मा अझै पनि नेपाली फुटबलमा हाबी नै छन् । यद्यपी नेतृत्व पंकजको हातमा छ । तर, समय/समयमा हुने किचलोले यिनीहरूबीचको विवाद सतहीमा आउँछ । कर्मा र पंकज टकराबको नमुना आइतबार पोखरा रंगशालामा देखियो । उनीहरूको बीचको टकराब मैदानमा छताछुल्ल भयो ।


भदौ १५ देखि भुटानमा साफ यू–१९ च्याम्पियनसिप हुदैछ । सोही प्रतियोगिताका लागि एन्फाले जिल्ला जिल्लाको छनोट सकिसकेको छ । अर्को चरण अन्तर्गत प्रदेशले खेलाडी छनोट गरेर केन्द्रलाई सिफारिस गर्ने कार्यक्रम छ । सोही अनुसार गण्डकी जिल्ला फुटबल संघ (एन्फा गण्डकी) ले तयारी सुरु गरेको छ । 

सोही तयारी अनुसार एन्फा गण्डकीले आइतबार र सोमबार पोखरा रंगशालामा छनोटको कार्यक्रम आयोजना गर्दैछ । आइतबार यसको प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले उद्घाटन गरे । करिब २ सय जना खेलाडी छनोटमा भाग लिए । तर, कास्की र गोरखाबाट छनोट भएका खेलाडी सहभागी भएनन् । कास्की जिल्ला फुटबल संघ (एन्फा) कास्कीले जानकारी गराउन नभ्याएका ४ जना खेलाडी भने व्याक्तिगत रूपमा सहभागी भएका थिए ।

कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्ज्वल रञ्जितले आफूहरू एन्फा गण्डकीले समन्वय नगरी छनोट खेल खेलाएको भन्दै आफ्ना खेलाडी सहभागी नगराएको बताए । उनले आफूहरूलाई खेलाडी सहभागिताका लागि पत्र आएपनि समन्वयका लागि कुनै पत्र नआएको भन्दै व्यक्तिगत इगो साँधेका बताएका छन् । आफूसँग हारेको मान्छे प्रदेशको महासचिव भएपछि जिल्लालाई नटेरेको उनको भनाइ थियो ।

एन्फा गण्डकी गठन गर्ने समयमा कास्की र गोरखा सहभागी भएको थिएन् । गण्डकीमा कर्मा हाबी छन् । सोही कारण पनि अधिवेशनमा सहभागी नभएको आंकलन गर्न सकिन्छ । यहाँ एन्फासँग सम्बन्धीत ८ जिल्ला छन् । जसमा ६ जिल्ला अध्यक्षहरू कर्मा फेवरका छन् । भने कास्की र गोरखाका अध्यक्ष पंकज नजिकका हुन् । सोही कारण पनि एन्फा गण्डकी गठनमा कर्मा पक्ष हाबी भएको हो । 

गण्डकी प्रदेश फुटबल संघमा कास्की फुटबल संघमा रञ्जितसँग हारेका विनोद गुरुङ महानसचिव छन् । आफैँसँग हारेको व्यक्तिले भनेको मान्नुपर्ने कारण इगो देखाएको एक पदाधिकारीले बताए । उता उज्वलले भने निर्वाचनदेखीको इगो देखाउँदै आफूहरूसँग समन्वय नगरेको बताए ।

गण्डकीका महासचिव विनोद गुरुङले आफूहरूले सबै जिल्लालाई नै पत्राचार गरेर बोलाएको बताए । ‘हामी फुटबल खेल विकासका लागि नै भनेर लागेका छौं । पत्र पठाएकै हो,’ उनले भने, ‘जिल्लाले नै पठाउँदैन भने हाम्रो के लाग्छ र हामीले बच्चाहरू आए छनोटमा राख्छौं ।’

यता, एन्फा कास्कीका अध्यक्ष रञ्जित भने आफ्नै जिल्लामा भएको छनोटमा आफूहरूसँग समन्वय नगरेपछि सिधै केन्द्रमा लैजाने बताउँछन् । केन्द्रमा आफैँ भोट हालेर जिताएका अध्यक्ष भएका कारण उनी पनि केन्द्रले कास्कीका खेलाडीहरूलाई सिधै छनोट चरण राख्नेमा उनी ढुक्क छन् । 

कर्मा फेवरका मिलन गुरुङ अहिले एन्फा प्रदेशका वरिष्ठ उपाध्यक्ष छन् । उनी नै प्रदेश छनोटको संयोजक हुन् । जिल्लाबाट प्रदेश अनि केन्द्रमा जाने नियम भएका कारण सिधै केन्द्रमा लैजान्छु भन्नु खेलाडीहरूको भविष्य माथि खेलबाड हुने संयोजक गुरुङले बताए । 

विवादका विषयमा प्रदेश खेलकुद परिषद् गण्डकी सदस्य सचिव श्रीधर शर्माले विवाद मिलाईसकेको बताउँछन् । व्याक्तिगत टकराबका कारण खेलाडीहरूको भविष्यमाथि खेलबाड गर्न नहुने भन्दै सोमबारदेखि एन्फा कास्कीले छनोट चरणमा खेलाडी सहभागी गराउने सहमति भएको उनले बताए । तर, एन्फा कास्कीका अध्यक्ष रञ्जित भने खेलाडी मैदानमा लगे पनि सहभागी गराउने नगराउने भन्ने विषयमा केन्द्रको फोन कुरिरहेको बताउँछन् । 
 


Author

थप समाचार
x