खेलकुद

यी चर्चित खेलाडी जसले कतार विश्वकप गुमाउँदैछन्

इकागज |
कात्तिक १८, २०७९ शुक्रबार १२:४१ बजे

काठमाडौँ- फुटबल खेलाडीका लागि आफ्नो क्षमता प्रदर्शन गर्ने सबै भन्दा ठूलो स्थान भनेको फिफा विश्वकप हाे । चर्चित खेलाडीहरुले आफ्ना टिमलाई नयाँ उचाइमा पुर्‍याउने तथा समर्थकहरुलाई खुसी तुल्याउने गर्छन् ।

तर फुटबलका चर्चित खेलाडीहरुले कतारमा नोभेम्बर २० बाट सुरु हुने फिफा विश्वकप गुमाउने भएका छन् । २ सय ११ फिफा सदस्यमध्ये केवल ३२ टिमले विश्वकपमा सहभागिता जनाउँदैछन् । जसका कारण चर्चित खेलाडीहरुले विश्वकप गुमाउनु पर्ने भएको छ ।


अर्लिङ हालान्ड

अर्लिङ हालान्डले १९ वर्षकै उमेरमा नर्वेका लागि अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरे । उनले २३ खेलमा २१ गोल समेत गरिसकेका छन् ।

तर फिफा विश्वकप छनोटका क्रममा उनले केवल ५ गोल गरे । नर्वेले समूह चरणमा १० खेलबाट १८ अंक जोड्दै तेस्रो भएपछि विश्वकपमा स्थान बनाउन सकेन ।

जसका कारण म्यानचेस्टर सिटीका २२ वर्षीय स्ट्राइकर हालान्डले विश्वकप गुमाउने भएका छन् ।

मोहमद सालाह

इजिप्टका कप्तान तथा फरवार्ड मोहमद सालाहले पनि यस वर्षको विश्वकप गुमाउने भएका छन् । विश्वकप छनोटका क्रममा प्लेअफमा सेनेगलसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि इजिप्ट विश्वकपमा छनोट हुन सकेन जसका कारण लिभरपुलका चर्चित खेलाडी सालाहले विश्वकप खेल्न पाउने छैनन् ।

डेभिड अलाबा

विगत एक दशकमा अस्ट्रियाका सबै भन्दा चर्चित र उत्कृष्ट खेलाडी रहेका डेभिड अलाबाले पनि विश्वकप गुमाउने भएका छन् । सन् १९९८ पछि अस्ट्रियाले विश्वकपमा स्थान बनाउन नसकेपछि स्पेनिस क्लब रियर मड्रिडका डिफेन्डर डेभिडले विश्वकप खेल्न नपाउने भएका हुन् ।

छनोटको दोस्रो चरणमा वेल्ससँग पराजित भएपछि अस्ट्रियाले विश्वकपमा स्थान बनाउन सकेन । डेभिडले अस्ट्रियाका लागि ९६ खेल खेल्दै १४ गोल समेत गरेका छन् ।

रियाद महरेज

अल्जेरियालाई सन् २०१६ मा अफ्रिका कप अफ नेसन्सको उपाधि दिलाएका तथा विभिन्न दुई क्लबलाई इंग्लिस प्रिमियर लिगको उपाधि दिलाएका रियाद महरेज अफ्रिकाका एक उत्कृष्ट खेलाडीमा पर्छन् ।

सन् २०१४ मा अल्जेरियाका लागि विश्वकप खेलेका रियादले खासै प्रभाव छाड्न सकेनन् । त्यसपछि सन् २०१८ मा विश्वकपमा स्थान बनाउन नसकेको अल्जेरियाले कतार विश्वकपका लागि भएको प्लेअफमा क्यामेरुनसँग पराजित भयो ।

मार्टिन ओडेगार्ड

२३ वर्षीय नर्वेजियन मिडफिल्डर मार्टिन ओडेगार्डले १५ वर्षकै उमेर व्यावसायिक फुटबल खेल्न सुरु गरेका थिए । साथै मार्टिन नर्वेको घरेलु लिगमा सबै भन्दा कम उमेरमा गोल गर्ने खेलाडी पनि बने ।

तर अर्सनलका अट्याकिङ मिडफिल्डर मार्टिनले पनि कतारमा हुने विश्वकप गुमाउँदैछन् । विश्वकप छनोटको समूह चरणमा तेस्रो भएपछि नर्वेले विश्वकपमा स्थान बनाउन नसक्दा मार्टिनले पनि विश्वकप खेल्नबाट बन्चित भए ।

(श्रोत: अलजजिरा)


Author

थप समाचार
x