विशेष रिपोर्ट

गर्भवती–सुत्केरीको मन बिमार हुन सक्छ भन्ने कहिले सोच्छौँ ?

सृजना खड्का |
फागुन ३०, २०७९ मगलवार १९:५९ बजे

काठमाडाैं । गत वर्ष फागुनमै सुत्केरी भइन्, अधिवक्ता सुवेक्षा पोखरेल (फ्रिडम) । सुत्केरी हुँदा उनको शरीरको निकै स्याहार भयो । अपरेसनको घाउ नबल्झियोस् भनेर निकै ध्यान पुर्‍याइयो । तगडा बनाउन ज्यानमा तेल दलियो । दिनमा तीन–चार पटक पोसिला खानेकुरा खुवाइयो । तर पनि सुवेक्षाको मन भने बेचैन थियो । आमा बनेपछि उनी थप उकुसमुकुस अनुभव गर्न थालेकी थिइन् । 

स्कुलमा आमाबारे निबन्ध लेख्नुपर्दा उनी लेख्थिन्– आमा आदर्श हुन् । ‘भगवान्’ हुन्  । 


तर, आफैँ आमा बनिसकेपछि भने उनलाई कसैले आदर्श वा ‘भगवान्’ भनेको मन परेन । त्यसबेला बल्ल उनले आमालाई ‘भगवान्’ बनाइनु पछाडिको कारण पत्तो पाइन् । ‘भगवान् बनाएपछि त न दुख्यो भन्न पाइयो, न पोल्यो, न रुन पाइयो, न कराउन,’ उनले भनिन्, ‘मैले पनि आमा बनेको केही महिना भगवान् बन्ने दौडमा दौडिएँ । त्यो दौडमा म झन्डै मान्छे नै हुन बिर्सें ।’

सुवेक्षा जब गर्भवती भइन्, नसोचेको गाह्रो भयो । सात महिना त बेड रेस्ट नै गर्नुपर्‍यो । बान्तामै रगत आउँथ्यो । उठेर यताउति गर्नसमेत समस्या हुन्थ्यो । उनको अवस्थालाई मध्यनजर गरेर डाक्टरले केही औषधि दिएकी थिइन् । तर, गर्भावस्थामा जे पायो त्यही औषधि खानुहुँदैन भनेर उनलाई मानिसहरूले तर्साउन थाले । गर्भावस्थामा औषधि खायो भने बच्चा बाङ्गो, हात खुट्टै नभएको जन्मिन्छ भन्नसम्म भ्याए । त्यतिबेला डरले उनलाई डाक्टरको पनि विश्वास लागेन । ‘बच्चा नजन्माउँदै मलाई आदर्श आमा बन्ने प्रेसर सुरु हुन थाल्यो,’ उनले सुनाइन्, ‘प्रेग्नेन्ट हुनेबित्तिकै आफ्नोभन्दा बच्चाको हेल्थ प्राथमिकतामा पर्न थाल्यो ।’

आमा बनेपछि सुवेक्षालाई २४ घण्टाका लागि ‘अब्जरभेसन युनिट’मा राखियो । त्यसपछि ह्विलचियरमा क्याबिनतर्फ सारियो । त्यो समयको पीडा उनी शब्दमा बयान गर्न सक्दिनन् । अपरेसनको घाउ दुखिरहेको थियो । उनी एकदमै कामिरहेकी थिइन् । थकानले होला क्याबिनमा पुग्नेबित्तिकै उनी निदाइन् । बिउझिँदा श्रीमान् र आफन्तहरू उनलाई कुरिरहेका थिए ।

सुवेक्षा बिउँझिनेबित्तिकै श्रीमान्‌ले भने, ‘तिमी त क्याबिनमा आउनेबित्तिकै निदायौ । बच्चालाई हेर्नै खोजेनौ, किन ?’

सुवेक्षा झसंग भइन् । सोचिन्, ए साँच्चै हो त, मैले किन बच्चालाई हेर्न खोजिनँ ? धेरै दिनसम्म यो प्रश्न उनी वरिपरि घुमिरह्यो । तर, जवाफ उनीसँगै थिएन । 

अस्पतालबाट घरमा आउनेबित्तिकै थुप्रै आफन्तहरू उनलाई भेट्न आए । अपरेसन गरेर बच्चा जन्माएकै कारण थुप्रै डायलग सुनाए । ‘हाम्रो समाजले अपरेसन गरेर बच्चा जन्माएकी आमालाई आमा नै नमान्ने रहेछ,’ उनले भनिन्, ‘कोही आजकालका केटीहरूलाई कत्ति सजिलो, अपरेसन गर्‍याे , फुत्त बच्चा निकाल्यो भन्थे । कसैले अपरेसन गरेर निकालेको बच्चासँग आफैँले जन्माएको जस्तो बन्डिङ हुँदैन है भन्थे ।’ 

बच्चा जन्मिसकेपछि उनको दूध खासै आएन । दूध नआउँदा के खुवाउने भन्ने चिन्ता उनलाई सधैँ हुन्थ्यो । त्यो बेला पनि उनलाई दूध नखुवाउँदा बच्चासँग बन्डिङ हुँदैन भनेर भेटघाट गर्न आउनेले तर्साए । यी सबै कुराले उनको मानसिक स्वास्थ्यमा निकै ठूलो असर गर्‍यो । ‘बन्डिङ नहोला भनेर दूध जसरी पनि खुवाउनैपर्छ भन्ने प्रेसर भयो,’ उनले सुनाइन्, ‘बट्टाको दूध खुवाउन डर लाग्यो । जति बेलै बच्चा भोको छ जस्तो लाग्थ्यो । म यतिसम्म भइसकेको थिएँ कि राति उठेर बच्चा ज्यूँदो छ कि छैन भनेर छामिरहन्थेँ ।’ 

यी सबै समस्याको सामना गरिरहँदा उनी मनमनै सोच्थिन्– जर्बजस्ती ज्यान गुमाएर भए पनि बरु नर्मल नै बच्चा जन्माउनुपर्ने रहेछ । 

तर, मनका कुरा उनी कसैलाई सेयर गर्न सक्दिनथिन् । सेयर गर्दा हाँसेरै उडाइदिन्छन् भन्ने सोच्थिन् । ‘त्यो बेला न मैले कसैलाई आफ्नो कुरा सेयर गरेँ न कसैले मलाई चिन्ता गर्नुपर्दैन भनेर ढाडस नै दिए,’ उनले भनिन् ।

बिस्तारै मानसिक रूपले उनी कमजोर हुँदै गइन् । न खान मन लाग्थ्यो, न कसैसँग कुरा गर्न । यतिसम्म हुन थाल्यो, बच्चा रुँदा उनी बच्चासँगसँगै रुन थालिन् । बच्चा रुँदासमेत बच्चाको मतलब हुन छाड्यो । कतिपय अवस्थामा त उनी बच्चा छ भन्नेसम्म भुल्न थालिन् । ‘बच्चाले दिसा–पिसाब गर्दा पनि किन गरेको होला जस्तो लाग्थ्यो,’ उनले सुनाइन्, ‘एक दिन त बच्चाले दिसा गर्‍यो भनेर रुन थालेँ । आफ्नो ज्यानलाई बिसन्चो हुँदा पनि म बच्चालाई नै दोष दिन थाल्ने भएकी थिएँ ।’ 

अति नै भएपछि एकदिन उनले गुगलमा ‘ह्वाइ एम आइ नट एबल टु बन्ड विथ माई चाइल्ड’ भनेर सर्च गरिन् । त्यहीँबाट हो, उनले ‘पोस्टपार्टम डिप्रेसन’, ‘पोस्टपार्टम ब्लुज’बारे थाहा पाएको । सुत्केरीपछि महिलामा देखिने उदासीपनबारे उनले यसअघि सुनेकी थिइनन् । गुगल गरेरै उनले नेपालमा मात्रै नभएर विकसित देशका महिलाहरू समेत यस्तो समस्याबाट गुज्रिएको थाहा पाइन् । ‘अमेरिकामै १० जना महिलामा दुई–तीनजनालाई मलाई जस्तै हुने रहेछ,’ उनले भनिन्, ‘नेपालमा त झन् आर्थिक, सामाजिक र धार्मिक कारणले थुप्रै सुत्केरी महिला मानसिक स्वास्थ्यको समस्याबाट गुज्रिएका होलान् भन्ने लाग्यो । सायद उनीहरूले पनि मैले जस्तै भन्न मात्रै पो नसकेका हुन् कि जस्तो लाग्यो ।’ 

त्यसपछि भने सुवेक्षाले थुप्रै कन्फेसन र न्यूज आर्टिकल पढ्न थालिन् । टेड टकका स्टोरी हेर्न थालिन् । विदेशमा भएका मेडिकल प्रोफेसनल साथीसँग मनका कुरा सुनाउने निधो गरिन् । ‘उनीहरूले ‘टेक योर टाइम’ भनेर सम्झाए,’ उनले सुनाइन्, ‘अपरेसन गरेर बच्चा जन्माउँदैमा, दूध नखुवाउँदैमा आमाको माया कम हुँदैन भनेर साथीहरूले सान्त्वना दिए । त्यसपछि बल्ल मन हलुका भयो ।’ श्रीमान्‌सँग पनि उनले मनका कुरा र काम दुवै बाँड्न थालिन् । उनी ‘पर्फेक्ट’ आमा होइन, ‘ह्याप्पी’ आमा बन्ने कोसिस गर्न थालिन् ।

यो विषयमा बहस हुनुपर्छ भनेर सुवेक्षाले अहिले इन्स्टाग्राममा गर्भवती/सुत्केरी महिलाहरूको ग्रुप बनाएकी छिन् । त्यहाँ धेरैभन्दा धेरै महिलाहरूले उनीसँग आफ्नो भोगाइ सुनाउँछन् । ‘मैले खुलेर बोल्न थालेपछि धेरै महिलाहरू अगाडि आउन थालेका छन्,’ उनले भनिन्, ‘कतिपय पुरुष साथीहरूले पनि मेसेज गरेर श्रीमतीको मानसिक स्वास्थ्यमा ध्यान दिन्छौँ भन्न थालेका छन् ।’

नेपालमा मातृ मानसिक स्वास्थ्यको विषयमा अध्ययन नहुँदा थुप्रै महिलाहरूले ज्यान गुमाउनुपरेको उनको गुनासो छ । ‘अध्ययन नभएसम्म यस्ता विषय बाहिर आउँदैनन्, बाहिर नआएसम्म यो विषय नीतिगत रूपमा अघि बढ्न सक्दैन,’ उनले भनिन् ।

सुवेक्षा गर्भावस्थाको नौ महिनामा १८ पटक जति अस्पताल पुगिन् । त्यहाँ उनको शारीरिक चेकजाँच हुन्थ्यो । तर, कहिल्यै उनलाई ‘तिम्रो मानसिक अवस्था कस्तो छ ?’ भनेर सोधिएन । तर, स्वयम् आफैँ यो समस्याबाट गुज्रिसकेपछि भने गर्भवती/सुत्केरीको शारीरिकसँगै मानसिक स्वास्थ्यको पनि स्क्रिनिङको व्यवस्था हुनुपर्ने महसुस उनले गरिन् । ‘हाम्रोमा सुरक्षित मातृत्वको कुरा गर्दा महिलाको शारीरिक स्वास्थ्यको मात्र कुरा हुन्छ, मानसिक स्वास्थ्यको कुरै हुँदैन,’ उनले भनिन्, ‘सामान्य अवस्थामा त मानसिक स्वास्थ्यको कुरा गरिँदैन । महिला त्यसमा पनि गर्भवती/सुत्केरीको मानिसक स्वास्थ्यबारे झन् कसलाई चासो र ?’

आफ्नो भोगाइ इकागजलाई सुनाइरहँदा सुवेक्षाले दूरदराजका गर्भवती/सुत्केरीलाई सम्झिइन् । ‘म सहरमा बस्ने, प्रिभिलेज परिवारको मान्छेलाई त के भएको हो भनेर थाहा पाउन यस्तो गाह्रो भयो भने गाउँघरका सुत्केरीहरूको के हालत होला ?,’ उनले दुखेसो पोख्दै भनिन्, ‘यसका लागि तत्कालै कुनै कार्यक्रम ल्याएर भए पनि जनचेतना फैलाउने काम गर्नुपर्छ । नत्र हरेक महिलाले आमा बनेको बेकार ठान्नेछन् । बिनाकारण आफैँलाई धिक्कार्नेछन् ।’ 

त्यस्तै, सुत्केरीलाई भेट्न जाँदा उनीहरूलाई अनावश्यक सर–सल्लाह नथोपर्न सुवेक्षा सुझाउँछिन् । ‘भेट्न आउनेलाई आफूले बोलेको कुरा सामान्य लाग्न सक्छ तर, सुन्नेको मानसिक स्वास्थ्यमा नराम्रो असर गरिरहेको हुन सक्छ,’ उनले भनिन्, ‘अझ त्यो बेला हाम्रो पालामा यस्तो र त्यस्तो भन्ने कुराले झनै दिक्क बनाउँछ । त्यसैले, सुत्केरीलाई स्पेस पनि दिनुपर्छ ।’ 

उनले पनि सुत्केरी हुँदा ‘हाम्रो पालामा खेतमै बच्चा जन्माएको’, ‘बच्चाको न्वारान नै नगरी घरखेतको काम गरेको’ आदि कुराहरू सुनिन् । सुनाउनेले यी कुरा निकै गर्वसाथ सुनाइरहेका हुन्थे । ‘हाम्रा आमा हजुरआमाहरूलाई आदर्श बनाउन यस्तो कुरामा गर्व गर्न सिकाइयो,’ उनले भनिन्, ‘तर, खेतमा बच्चा पाउँदा, सुत्केरीमै घरखेतको काम गर्दा उनीहरूले के कति जोखिम मोल्नुपर्‍यो। उनीहरूको शरीर कति कमजोर भयो भन्ने विषयमा बहस नै भएन । आमाहरूलाई आदर्श मात्र बनाइयो ।’ 

आमालाई आदर्श बनाउने नाममा उनीहरूभित्रको मान्छेलाई मारिरहेको सुवेक्षाको तर्क छ । ‘किनभने, आदर्श आमाले बच्चा नहुर्काउन पाउँदिनन्, बच्चालाई नखुवाउन पाउँदिनन्, माया गर्दिनँ, हेरचाह र स्याहार गर्दिनँ भन्न पाउँदिनन्,’ उनले भनिन्, ‘तर, आमालाई आदर्श बनाउने समाजले बुवालाई केवल बुवा बन्न कहिल्यै सिकाएन, सुझाएन ।’

सुवेक्षा समाचारमा सुत्केरी महिलाले आफ्नै सन्तानको हत्या गरेर आत्महत्या गरेको समाचार देख्छिन् । ती समाचारका कमेन्टमा उनका आँखा पुगिहाल्छन् । जहाँ तिनै महिलालाई विभिन्न आक्षेप लगाइएको हुन्छ । लेखिएको हुन्छ, ‘पापिनी आमा !’, ‘आमाको नाममा कलंक’, ‘हुर्काउन नसक्नेले किन जन्माउनु’...आदि ।
ती सबैलाई सुवेक्षाको प्रश्न छ– के ती महिलाहरू मानसिक उतारचढावबाट गुज्रिएको बेला तिमीहरूले ‘तिमी एक्लै छैनौ’ भनेका छौ ? 

उनी थप्छिन्, ‘छैन भने उनीहरूलाई यस्ता लान्छना लगाउने अधिकार तिमीहरूलाई छैन ।’
 


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x