समाज

शिक्षक नै बलात्कारी, चार वर्षमा ८० जना पीडक

सृजना खड्का |
चैत १४, २०७८ सोमबार २०:११ बजे

मोरङको लेटाङ नगरपालिका–५ खेरुवास्थित शिक्षा विकास माविका एक शिक्षकले आफ्नै विद्यालयकी १३ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको घटना केही दिनअघि मात्रै बाहिर आयो । आरोप लागेका शिक्षकमाथि यसअघि पनि विद्यालयकै अरु छात्राहरूमाथि यौन दुर्व्यवहारको आरोप लागेको थियो । तर, उनलाई गल्ती नदोहोर्‍याउने सर्तमा छोडिंदै आएको थियो ।

१५ वर्षीया नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चितवन प्रहरीले एक शिक्षकलाई पक्राउ गर्‍यो । प्रहरीले माडी नगरपालिका–१ बरुवास्थित सोमेश्वर उच्च माविका शिक्षक ३७ वर्षीय शिक्षकलाई पक्राउ गरेको थियो । कक्षा ९ मा अध्ययनरत नाबालिकालाई ती शिक्षकले २९ फागुनमा यौन दुर्व्यवहार गरेको भनी जिल्ला प्रहरी कार्यालय चितवनमा लिखित जाहेरी परेको थियो । 


प्रारम्भिक बाल विकास विशेषज्ञ डा. मीनाक्षी दाहालले दुर्व्यवहारका यस्तै घटना बढ्दै गएर शिक्षकद्वारा बालिकाहरू बलात्कारको सिकार हुने बताउँछिन् । ‘यौन दुर्व्यवहारको घटनामा हामीले ‘जेरो टलरेन्स’ अर्थात् शून्य सहनशीलता नीति कार्यान्यवनमा ल्याउनुपर्छ,’ उनी भन्छिन्, ‘यो सहनै नहुने कुरा हो भनेर विद्यालय प्रशासननले अभ्यास गर्नुपर्छ । यस्ता कुरालाई बेवास्ता गर्दा त्यसले पीडकलाई थप उत्प्रेरित गर्छ । त्यसैले हामीले घटनाको परिणामभन्दा त्यसको सुरुवात कसरी हुन्छ भनेर घटनाको पृष्ठभूमिमा जानुपर्छ ।’ 

विद्यालयमा हुने यौन दुर्व्यवहारका घटना बाहिर आए पनि पछि यत्तिकै सेलाएर जाने डा. दाहाल बताउँछिन् । ‘यौन दुर्व्यवहारको घटनामा मुछिएका धेरै शिक्षक अहिले पनि सम्मानजनक तरिकाले त्यही स्कुलमा पढाइरहेका छन्’ उनी भन्छिन्, ‘यौन दुर्व्यवहारका घटनालाई बेवास्ता यसरी बेवास्ता गर्दा ती घटना बलात्कारसम्म पुग्न कति पनि बेर लाग्दैन ।’ 

साढे चार वर्षमा ८० जना शिक्षक बलात्कारका पीडक 
प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार साढे चार वर्षमा ८० जना शिक्षक बलात्कारका पीडक छन् । तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ मा पाँच जना शिक्षक बलात्कारको पीडक भएको पाइएको छ । आव ०७५/७६ मा ११ जना शिक्षक बलात्कारको पीडक भएको देखिन्छ । 

आव ०७६/७७ मा ४५ पाँचजना शिक्षक बलात्कारको पीडक भएको तथ्यांकले देखाउँछ । आव ०७७/७८ मा १५ जना शिक्षक बलात्कारको पीडक भएको तथ्यांकले देखाउँछ । चालु आर्थिक वर्षको माघसम्मको तथ्यांकले चारजना शिक्षक बलात्कारको पीडक भएको देखिन्छ । 

शिक्षाविद्, प्रा.डा विद्यानाथ कोइराला यौनजन्य अपराध गर्नेलाई सजाय दिनेबाहेक अरु केही उपाय नभएको बताउँछन् । हरेक विद्यालयमा विद्यार्थीलाई शिक्षकले कस्तो व्यवहार गर्न पाउने/कस्तो व्यवहार गर्न नपाउने भन्‍ने मापदण्ड बनाउनुपर्ने उनको तर्क छ । ‘शिक्षकहरूलाई यो विषयमा व्यापक ओरियन्टेसनको जरुरी देखियो,’ उनी भन्छन्, ‘बालबालिकालाई पनि आफूमाथि के भइरहेको छ भन्‍नेबारे जानकारी दिनुपर्छ । छात्राहरूको हकमा मात्रै होइन छात्रहरूको हकमा पनि यस्ता कुरा लागू हुन्छन् । छात्रहरूलाई पनि शिक्षकले जथाभावी छोएको, चलाएको मन नपर्न सक्छ ।’

समाधान के ?
डा.दाहाल कतिपय दुर्व्यवहार छुवाइले मात्र नभई हेराइले पनि हुने बताउँछिन् । ‘आफ्ना विद्यार्थीले आफूसँग सहज/असहज के अनुभव गरिहेका छन् त्यो शिक्षकले ख्याल राख्नुपर्छ,’ उनी भन्छिन्, ‘शिक्षक भनेको एउटा मानिस मात्रै होइन, ऊ कसैको लागि रोलमोडल हो । तर, शिक्षकबाटै यस्ता जघन्य अपराध हुनु दुःखलाग्दो कुरा हो ।’

विद्यालयले कुनै शिक्षक नियुुक्त गर्नुभन्दा पहिला धेरै कुरामा ध्यान दिनुपर्ने उनी बताउँछिन् । ‘आफ्नो विद्यालयमा कुनै शिक्षक राख्नुभन्दा पहिला ऊ शिक्षक हुन योग्य छ/छैन भन्‍ने विचार पुर्‍याउनुपर्छ । तर, शिक्षण पेसामा आउनुभन्दा अगाडि उनीहरूमा यस्ता कुरा कसले मापन गर्ने ?’

उनका अनुसार प्रायः विद्यालयले क्लबहरूका लागि फोकल टिचर राखेको हुन्छ । उनीहरू धेरैजसो समय बालबालिकासँग घुलमिल हुन्छन् । बाल क्लबदेखि म्युजिक क्लबमा सहभागी हुँदा उनीहरूले शिक्षकसँग बसेर गाउने, नाच्ने, खेल्ने गर्नुपर्ने हुन्छ । ‘स्कुलको कुनै कार्यक्रमका लागि बिहानदेखि साँझसम्म तयारी गर्नुपर्ने हुन्छ,’ उनी भन्छिन्, ‘विद्यालयले यस्ता ठाउँहरूलाई प्राइभेट होइन, पब्लिक गराउनुपर्छ । स्कुलले बालबालिकालाई कस्ता क्रियाकलापमा सहभागी गराउँदैछ, अभिभावकलाई समेत जानकारी दिनुपर्छ ।’ 

त्यस्तै, यस विषयमा अभिभावक पनि उत्तिकै चनाखो हुनुपर्ने उनको सुझाव छ । अभिभावकले बालबालिकामा आएको परिवर्तन मात्रै याद गर्ने हो भने सुरुमै धेरै समस्याको समाधान हुने उनी बताउँछिन् । ‘आफूलाई केही हुनेबित्तिकै सबैभन्दा पहिला बालबालिकाले अभिभावकलाई भन्छन्,’ उनी भन्छिन्, ‘तर, हाम्रा धेरै अभिभावक बच्चाको कुरा सुन्‍न चाहँदैनन् । घरमा उनीहरूको कुरा सुन्‍ने र भन्‍ने वातावरणको निर्माण गर्नुपर्छ ।’
 


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x