समाज

डाक्टरमाथि डाक्टरकै ‘खेलाँची’

सृजना खड्का |
कात्तिक १८, २०७७ मंगलबार १४:१४ बजे

काठमाडौं ः हाडजोर्नी विशेषज्ञ प्रा.डा ज्ञानेश्वरप्रसाद सिंह (५६) गत वर्ष भदौ १० गते एउटा पार्टीमा गएका थिए । बेलुकीको पार्टीमा श्रीमती बिना पनि उनीसँगै थिइन् । खाना खाँदा डा. सिंहको घाँटीमा मासुको हड्डी अड्कियो । यो राति नौ बजेतिरको घटना हो । अत्तालिँदै बिनाले हत्तपत्त एम्बुलेन्स बोलाइन् । श्रीमान्ले नै काम गर्ने युनिभर्सल मेडिकल कलेज भैरहवा पुर्‍याइन् । 

उक्त अस्पतालमा डा. सिंह हाडजोर्नी विभागका प्रमुख थिए । प्रमुखका रुपमा झण्डै १० वर्ष उनले आफ्नो जिम्मेवारी सम्हालिसकेका थिए । उनका छोरी प्रज्ञा र छोरा प्रज्ज्वल डाक्टर पढ्न बंगलादेश गएका थिए ।


बिनाले श्रीमान्लाई अस्पताल पु¥याउँदा रात छिप्पिँदै थियो । अस्पतालले राति अपरेसन गर्ने छाँटकाँट देखाएन । डा. सिहंलाई पेन किलर दिएर राख्यो । अर्को दिन बिहान ९ बजे अपरेसन हुने भयो । डा. सिंहकै सहकर्मी डा. विश्व तुलाचन, डा. सन्तोष शाह र डा. लक्ष्मी पाठकको टोलीले उनको अप्रेसन गर्‍यो । 

उनीहरूले आधा हड्डी निकालिएको र आधा पेटमा धकेलिएको कुरा बिनालाई बताए । श्रीमान्का सहकर्मीले भनको कुरामा बिनाले शंका गर्ने कुरै भएन । अप्रेसन सफल भएको भन्दै उनलाई झोलिलो खानेकुरा खान पनि डाक्टर टोलीले सुझायो । तर, डा. सिंहको घाँटीको अप्ठ्यारो भने रत्तिभर कम भएको थिएन । 
डाक्टरले राउन्डमा आउँदा झोलिलो कुरा खुवाउँदा हुने भनेपछि बिनाले दूध ल्याएर खुवाइन् । खाएलगत्तै डा. सिंहले बान्ता गरे । त्यतिबेला उनलाई ज्वरो पनि आएको थियो । 

उपचारपछि पनि अवस्था नसुध्रिएपछि भने बिनाको मनमा केही शंका उत्पन्न भयो । उनीलगायत उनको परिवारले ‘सिटी स्क्यान गरेर घाँटीको हड्डी पूरै निकालिएको छ कि छैन हेर्छाैँ’ भनेर जोड गरे । सिटी स्क्यानको रिपोर्ट हेर्नेबित्तिकै डाक्टरहरूले लगत्तै काठमाडौँ लैजान सुझाए । 

त्यसपछि भदौ १५ गते डा. सिंहलाई भैरहवाबाट हेलिकप्टरमा राखेर काठमाडौँ ल्याइयो । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उनको उपचार थालियो । उपचारका क्रममा डा. सिंहको खाना खाने नली च्यातिएको र त्यसको इन्फेक्सनले छातीमा समेत असर परेको देखियो । लामो समयसम्म अप्रेसन गरेर हड्डी निकालियो । तर, स्वास्थ्य अवस्था भने झन्–झन् नाजुक बन्दै गयो ।

उपचारमा डाक्टरले लापरबाही गरेको भन्दै बिनाले युनिभर्सल अस्पतालका डाक्टरमाथि नेपाल मेडिकल काउन्सिलमा उजुरी दिइन् । बुबाको अवस्था नाजुक बन्दै गएको थाहा पाएपछि बंगलादेशमा एमबीबीएस पढिरहेका प्रज्ञा र प्रज्जवल अत्तालिँदै नेपाल आए ।

‘हामी आउँदा बाबाको अवस्था निकै नाजुक भइसकेको थियो,’ प्रज्ज्वलले भने, ‘हड्डीकै विषयमा पढाउने र उपचार गर्ने बाबाको त्यो अवस्थामा पुग्नुहोला भनेर सपनामा पनि सोचेका थिएनौँ । आफ्नै अस्पतालका डाक्टरले त्यो हदसम्मको लापरबाही गर्लान् भनेर त झन् कल्पनासमेत गरेका थिएनौँ ।’माघ २ गते अर्थात् प्रज्ज्वल फर्किएको केही दिनपछि उनका बुबा डा. सिंहको मृत्यु भयो । यसलाई प्रज्ज्वल सरासर उपचारमा संलग्न डाक्टरहरूको लापरबाही ठान्छन् ।

बुबाको मृत्युपछि बिना, प्रज्ज्वल र प्रज्ञा न्यायको ढोका ढकढकाउँदै विभिन्न ठाउँमा पुगे । नेपाल मेडिकल काउन्सिल, स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय, मानव अधिकार आयोग, मधेसी आयोग जताततै भाँैतारिए । तर, कतैबाट केही सहयोग नपाएको प्रज्ज्वलको गुनासो छ । 

उपचारका लागि ५० देखि ६० लाख रुपैयाँ खर्च भएको उनले बताए । ‘उपचारमा ५० देखि ६० लाख खर्च भएको छ,’ प्रज्ज्वलले भने ‘अस्पतालले एकपटक एक लाख रुपैयाँ दिएको थियो, त्यसबाहेक कुनै सहयोग पाएको छैन । अहिले हामी ऋणमा छौँ । दिदी र मेरो पढाइ पनि अपूरै छ ।’

प्रज्ज्वलको प्रश्न छ, ‘हाडजोर्नी विभागका प्रमुखमाथि यो हदसम्मको लापरबाही हुन्छ भने सामान्य नागरिकले अस्पताल र डाक्टरबाट के आश गर्ने ?’ आफैँ कार्यरत अस्पतालका डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै पीडित परिवारले रुपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दायर गरेका छन् ।
बिनाले आइतबार अर्थात् कातिक १६ गते जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता गरेकी हुन् । 

युनिर्भसल कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ हस्पिटलमा कार्यरत डा. विश्व तुलाचन, डा. लक्ष्मी पाठक र डा. सन्तोष शाहलाई विपक्षी बनाएर मुद्दा दर्ता भएको छ । पीडित परिवारले उपचार खर्चसहित कुल १२ करोड ५० लाख रुपैयाँ क्षतिपूर्तिको माग गरेका छन् । 

युनिभर्सल कलेजका प्रबन्ध निर्देशक खुमा अर्यालले अस्पतालले कुनै पनि हालतमा क्षतिपूर्ति दिन नसक्ने बताए । ‘डेढ वर्ष पुराना मुद्दाको विषयमा के कुरा गर्ने र खै,’ इकागजसँगको टेलिफोन सम्पर्कमा उनले भने, ‘उहाँहरूले अझै कति ठाउँमा मुद्दा हाल्ने हो र ? जहाँ मुद्दा हाले पनि अस्पतालले कहाँबाट ल्याएर दिन्छ क्षतिपूर्ति ?’
लापरबाही भएको हो वा होइन भन्ने विषयमा पनि मेडिकल काउन्सिलले नै हेर्ने उनले बताए । ‘मेडिकल काउन्सिलले टिमै बनाएर अध्ययन गरिसक्योे, निर्णय पनि आइसक्यो,’ उनले भने, ‘अस्पतालको मुद्दा हेर्ने काम मेडिकल काउन्सिलको हो । मेडिकल काउन्सिलले केस छिनोफानो गरेसँगै यो मुद्दा सक्किसक्यो ।’

यता मेडिकल काउन्सिलले भने तीनजना डाक्टरमध्ये डा. विश्वलाई एक वर्षका लागि इन्डोस्कोपी गर्न नपाउने र डा. सन्तोषको धेरै संलग्नता नभएका कारण माफी दिएको छ । डा. लक्ष्मी भने भारतमा फेलोसिपमा गएका हुनाले उनीमाथि अनुसन्धान बाँकी रहेको प्रज्ज्वलले बताए । ‘यो निर्णयबाट हामी कत्ति पनि खुसी छैनौँ,’ प्रज्ज्वलले आफ्नो असन्तुष्टि व्यक्त गरे । 

मेडिकल काउन्सिलका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीले सबैलाई कारबाही भइसकेको बताए । ‘डा. लक्ष्मीलाई सचेत गराउने कुरा भएको छ,’ उनले भने, ‘बाँकीलाई कारबाही गरिसकिएको छ । निर्णयमा चित्त नबुझेको भए अदालतको बाटो खुला छ । मुद्दा हाल्न आवश्यक कागज हामी उपलब्ध गराउँछाँै । यसबाहेक अब हामी केही गर्न सक्दैनौँ ।’


 


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x