समाज

माटोको भाँडा फुटाएर हनुमानढोकामा चाँगुनारायणको स्वागत (फोटो फिचरसहित)

सुनीता साखकर्मी |
माघ १५, २०७७ बिहीबार १८:५ बजे

काठमाडौँ : वर्षमा दुई पटक भक्तपुरका चाँगुनारायण देउता काठमाडौँ आउँछन् । एकपटक जनैपूर्णिमाको चार दिनअघि र अर्काे पौष शुक्ल पूर्णिमाको दिन । आएर हनुमानढोकास्थित तलेजुमा विराजमान हुन्छन् । तर पौष शुक्ल पूर्णिमाको दिन चाँगुनारायण आउँदा काठमाडौंका स्थानीयले माटोको भाँडा फुटाएर उनलाई अपसगुन देखाउँछन् । 


यसलाई स्थानीयहरू ‘चाँगुनारायण तथा माटोको भाँडा फुटाउने जात्रा’का रुपमा मनाउँछन् । परापूर्वकालदेखि चलिआएको मानिने यो जात्रा बिहीबार पनि हनुमानढोकामा सञ्चालन भयो । चाँगुनारायणबाट आएका देउतालाई माटाका भाँडा फुटाएर स्वागत गरे । 

तारिणी मखन क्लबका अध्यक्ष राजन महर्जनका अनुसार यो जात्रा सञ्चालनसम्बन्धी स्थानीय नेवार समुदायमा रोचक किंवदन्ती प्रचलित छ । ‘परापूर्वकालमा चाँगुनारायण देउता घुम्न निस्किए । त्यसपछि उनलाई एक तान्त्रिक देख्छन् । देउता भाग्न लागेपछि देशमा अनिष्ट हुने भयो भनेर देउताको अगाडि भाँडा फुटाउन थाले । त्यसपछि देउतालाई कहाँ जाने कहाँ जाने भएपछि देउता तलेजुभित्र पसे,’ उनी भन्छन्, ‘त्यसपछि चाँगुनारायण देउता जान खोजे, तर उनलाई जान दिइएन । पछि चाँगुनारायणले वर्षको दुईचोटी यहाँ आउने बाचा गरेपछि उनलाई जान दिइयो । त्यसैले हरेक वर्ष जनैपूर्णिमाको चार दिन अघि र पौष शुक्ल पूर्णिमाको दिन दुईपटक हनुमान ढोकामा आउँछन् ।’ 

अहिले चांगुनारायणमा विशेष पुजा गरीको नारायण, लक्ष्मी र सरस्वतीको प्रतिक स्वरुप तीनवटा चाँदीको कशललाई रानीपोखरीको उत्तर पश्चिम जमल स्थित पाटीमा राख्ने गरिन्छ । त्यहाँ विशेष पूजा गरी पाँच तोपको सलामी दिँदै गुर्जु पल्टनले जमलबाट कमलाक्षि, असन, केलत्वाः, बालकुमारी, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन हुँदै हनुमानढोकामा ल्याइन्छ । हनुमानढोकामा महेन्द्रेश्वर महादेव अगाडी जम्मा गरिराखेको माटाका भाँडाकुँडाहरू फुटाएर अपसगुन देखाउने परम्परा रहेको छ । 


अध्यक्ष महर्जनका अनुसार यो जात्रा पहिले उपत्यकाका विभिन्न ठाउँमा हुन्थ्यो । तर साढे तीनदशकदेखि लोप हुँदै गएको छ । चाँगु डाँडाबाट चाँगुनारायणसहित लक्ष्मी र सरस्वती यात्रामा निस्कँदा सूर्यविनायक, ठिमी, कोटेश्वर, तिनकुने, नयाँ बानेश्वर, जमल, असन, बालकुमारी, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन हुँदै हनुमानढोकामा माटोको भाँडा फुटाउने चलन थियो । अहिले यो चलन हनुमानढोकामा मात्रै बाँकी छ । 

माटोको भाँडा फुटाएर देखाइसकेपछि देउतालाई तलेजुभित्र सुनको आशनमा विराजमान गराइन्छ । पूजा सम्पन्न भएपछि पहिले तीवटै कलशलाई राजालाई दर्शन गर्न लगिने चलन थियो । तर अहिले भने राष्ट्रपतिलाई दर्शनको लागि लगिन्छ । यसपछि तीनवटै कलशमा रहेको जल शोभा भगवती नजिकैको भचाखुसी(नदी)मा बिसर्जन गरिन्छ ।

 

तस्बिरहरू : सुजल बज्राचार्य


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x