समाज

अपराध

हत्यापछि आत्महत्या : कतातिर जाँदैछ समाज ?

यसो भन्‍छन् मनोचिकित्सक र समाजशास्त्री

सृजना खड्का |
माघ ८, २०७७ बिहीबार १३:२८ बजे

काठमाडौँ : हालै ललितपुरको महालक्ष्मी नगरपालिका-७ चाँगाथलीमा एक दम्पती मृत भेटिए । उनीहरूसँगै घटनास्थलमा भेटियो विषादिको बट्टा पनि । उनीहरू थिए, राजविराजका ३२ वर्षीय सागर पोखरेल र २२ वर्षीया निर्मला पोखरेल ।

घटनास्थलमा प्रहरी पुग्दा भित्रबाट ढोका चुकुल लगाइएकोे थियो । पाँच महिनाअघि मात्रै वैवाहिक सम्बन्धमा बाँधिएका उनीहरू चाँगागलीमा डेरा गरी बस्थे । प्रहरीको प्रारम्भिक अनुसन्धानले उनीहरूले आत्महत्या गरेको हुन सक्ने बताएको छ । दुबै शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ ।


०००
पुस २५ गते टोखामा उमेश केसी र उनकी श्रीमती सुदीक्षा गिरी मृत भेटिएका थिए । टोखास्थित ग्रिन भिल्ला कोलोनीमा उनीहरूलाई प्रहरीले मृत फेला पारेको थियो । घटनास्थलमा प्रहरी पुग्दा उमेशको शव ओछ्यानमा पल्टिरहेको थियो भने पत्नी सुदीक्षा झुण्डिरहेको अवस्थामा फेला परेकी थिइन् ।

घटनास्थल नजिकै रगत लत्पतिएको सिलौटा बरामद भएको थियो । त्यही सिलौटा प्रहार गरी उमेशको हत्या भएको हुनसक्ने अनुसन्धानले देखाएको थियो । उमेश अमेरिका बस्थे । तीन महिनाअघि मात्रै नेपाल आएका उनी फेरि अमेरिका फर्किने तयारीमा थिए ।

उमेशको मृत्यु भएको अर्कोदिन मात्रै सुदीक्षाले आत्महत्या गरेको पोस्टमार्टम रिपोर्टले देखाएको थियो । अनुसन्धानमा सुदीक्षाले श्रीमानको हत्या गरी आत्महत्या गरेको देखिएको थियो । उनीहरूले ६ वर्षअघि प्रेम विवाह गरेका थिए । रिपोर्टअनुसार सुदीक्षा दुई महिनाकी गर्भवती समेत रहेकी थिइन् । यसै विषयमा उनीहरूबीच झगडा भएको हुन सक्ने निष्कर्ष प्रहरीले निकालेको थियो ।

०००
केही महिनाअघि मध्यपुर थिमि नगरपालिका-९ निकोसेरास्थित एक घरमा तीनजना मृत फेला परेका थिए । ३६ वर्षीय सुदीप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारी मृत अवस्थामा भेटिएका थिए ।

उनीहरूसँगै घरमा पालेको कुकुर पनि मृत फेला परेको थियो । प्रहरीले घरको दोस्रो तलामा कुकुर, तेस्रो तलामा सम्झना र चौथो तलामा सुशान्तको मृत शरीर फेला परको थियो । मृतक सुदीपका भाइ सुनिल दाजुको घरमा मासु पुर्‍याउन जाँदा दाजुको सबै परिवार मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए  ।

सुदीपले श्रीमती र छोराको हत्या गरेको केही दिनपछि विष सेवनबाट आत्महत्या गरेको अनुसन्धानमा खुलेको थियो । किनभने, सम्झना र शुशान्तलाई धारिलो हतियारको प्रहार गरिएको थियो । प्रहरीले तीनवटै शव हेर्दा एकै दिन मृत्यु नभएको निष्कर्ष निकालेको थियो । सम्झना र सुशान्तको केही दिनअघि र सुदीपको केही दिनपछि मृत्यु भएको थियो । सम्झना र सुशान्तको टाउकोमा गहिरो चोट थियो । शबसँगै धारिलो हतियार भेटिएको थियो । 

के भन्‍छन् मनोचिकित्सक र समाजशास्त्री ?
समाजशास्त्री डा. मीना उप्रेती पारिवारिक व्यवस्थापनमा समस्या आएपछि यस्ता घटना घट्ने बताउँछिन् । ‘पहिला परिवारमा पुँजीवाद भित्रिएको थिएन,’ उनी भन्‍छिन्, ‘कृषिमा आधारित जीवनशैली थियो । संयुक्त परिवार थियो । एकले अर्कालाई आँड, भरोसा, सहयोग गर्थे । तर, बिस्तारै पैसालले परिवारलाई तहसनहस गर्दैछ ।’ परिवारको इच्छा, चाहना र आवश्यकता बढेर यो समस्या आएको उनी बताउँछिन् ।  भन्‍छिन्, ‘पैसा कमाउने चक्करमा शारीरिक र मानसिक तनाबका कारण परिवार धराशायी बन्दै गइरहेको छ ।’

उप्रेतीका अनुसार यस्ता केसमा कसैले मिलेमतोमै ज्यान फ्याक्छन् । कसैले भने हत्यापछि आत्महत्या गर्छन् । सामाजिक संरचनामा आएको परिवर्तनले पारिवारिक संरचनामा प्रभाव परेको उनी बताउँछिन् । ‘पहिलाको समाज पुरुषमा आश्रित थियो,’ उनी भन्‍छिन्, ‘तर, अहिले महिलाहरू पनि आत्मनिर्भर हुन थालेका छन् । जसको कारण महिलाले भनेको कुरा पुरुषलाई पुरुषले भनेको कुरालाई चित्त नबुझेर पनि सम्बन्धमा दरार आउन थालेका छन् । हत्या हिंसा हुन थालेका छन् ।’ 

मानसिक रोग विशेषज्ञ रितेश थापाले यस विषयमा विश्वमै विभिन्‍न अध्ययन भएको बताउँछन् । ‘हत्यापछिको आत्महत्यालाई लिएर धेरै अध्ययन भएको छ,’ उनी भन्‍छन्, ‘ति अध्ययनमा आर्थिक, पारिवारिक र मानसिक अवस्थाले मुख्य भूमिका खलेको देखिन्‍छ । ‘सुसाइट अटप्सी’ गर्दा कतिमा डिप्रेशन पनि पाइएको अध्ययनले देखाएको छ ।’

सम्बन्धका उतार चडाब, आवेग, बदलाको भाव आदिका कारण यस्तो घटना घट्ने उनी बताउँछन् । ‘धेरैजसो मानिसहरू आवेगमा आएर रिसको झोकमा हत्या गर्छन्,’ उनी भन्‍छन्, ‘पछि आफ्नो रिस शान्त भएपछि पछुताएर आत्महत्या गर्छन् । जसमा धेरैजसो परिवारभित्रकै मान्‍छे पर्छन् ।’

आफ्नै परिवारका सदस्यको हत्या गरेपछि समाज मुख देखाउने लाजले र कानुनको डरले मानिसले आत्महत्या गर्ने गरेको उनी बताउँछन् । ‘भोलिको दिनमा समाजमा कसरी मुख देखाउने भन्‍ने हुन्‍छ,’ उनी भन्‍छन्, ‘कानुनी सजाय भोग्‍ने डरले पनि धेरैले आत्महत्याको बाटो रोज्छ ।’

समाजशास्त्री डा. उप्रेती पनि यस्ता घटनाको पछाडि मुख्य तीन कारण रहेको बताउँछिन् । ति हुन् आर्थिक, सामाजिक र मानसिक । ‘परिवार आफ्नै कारण ध्वस्त हुँदैन, अन्त्य हुँदैन,’ उनी भन्‍छिन्, ‘बाहिरका तŒवहरूले यसमा मुख्य भूमिका खेलेको हुन्‍छ । त्यसमा आर्थिक, सामाजिक र मानसिक कारण पर्दछन् । जसको कारण कहिलेकाहीँ नाबालकहरू पनि मारिन्‍छन् ।’

पारिवारिक संरचनामा सेवा, सहयोग, माया, दया करुणाभन्दा प्रतिश्पर्धाका कुराहरू धेरै आएकाले यस्ता घटना घटेको उनी बताउँछिन् । ‘पारिवारिक सम्बन्धमा आगो र पानीको कुरा आउथ्यो,’ उनी भन्‍छिन्, ‘एउटा रिसाए अर्को नरिसाउने हुन्थ्यो । अहिले मानिसमा धेर्य र सहनसिलता छैन । आरोप प्रत्यारोप गर्ने मात्र बानी छ । जसले मानिस बिस्तारै अराजक बन्दै गइरहेको छ ।’


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x