समाज

कमलपोखरी पनि छाडेनन् भूमाफियाले

सुनीता साखकर्मी |
पुस २७, २०७७ सोमबार १६:३७ बजे

काठमाडौं : कात्तिक २८ गते काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कमलपोखरी पुगे । केही बेर उभिएपछि उनले कमलपोखरी वरिपरि दृष्य नियाले । त्यहाँ पोखरी पुनः निर्माणको काम हुँदै थियो । त्यहीँ उभिएर मेयर शाक्यले काममा ढिलासुस्ती भएको भन्दै चाँडै काम सकाउन निर्देशन दिए ।

त्यसको केही समयपछि उही ठाउँमा उभिएर सम्पदा बचाउ अभियानका अभियान्ताहरू ‘यो काम जति सक्दो चाँडो रोकिनुपर्छ’ भन्दै विरोध जनाउन थालेका थिए ।  
अभियन्ता आलोकसिद्धि तुलाधर भन्छन्, ‘हामी पुनः निर्माणको विरोधमा होइनौँ । तर पुनः निर्माणको नाममा यो पोखरीको साइज घटाइँदै छ । जथाभावी क्रंकिट प्रयोग गरिँदै छ । यो गलत हो, त्यसैले विरोध गरिरहेका छौँ ।’


काठमाडौं महानगरपालिकाले २०७६ असार १९ गते पोखरी पुनः निर्माणको लागि शिलान्यास गरेको थियो । निर्माणको लागि जय धनन्जय/कँडेल जे.भी. कम्पनीलाई जिम्मा दिएको थियो । त्यस्तै लागतको स्टिमेट भ्याट सहित ९ करोड ४६ लाख, ९९ हजार पाँच सय २ रुपैँया रहेको छ । 

महानगरले पारित गरेको नक्सामा पोखरीको डिलमा थुप्रै पार्क र खेलकुद क्षेत्र बनाउने योजना राखेको छ । जसको लागि पोखरीको साइज घटाएर बनाउनुपर्छ । र, अहिले कमलपोखरीमा पोखरीको पानी सुकाएर पोखरी घटाउन पर्खाल कंक्रिटको पर्खाल लगाउने काम भइरहेको छ । यसैको विरोधमा अभियान्ताहरु आवाज उठाइरहेका छन् । 

पोखरी अतिक्रमणको इतिहास 

यो पोखरीको कुनै ठोस अनुसन्धान भएको छैन । तर स्थानीयहरुका अनुसार यो पहिले यो पोखरी ४२ रोपनीमा फैलिएको अभियन्ता तुलाधरले जनाए । तर विभिन्न कालखण्डमा पोखरी अतिक्रमण हुँदै जाने क्रम बढेपछि अहिले २२ रोपनीमा सीमित हुन पुगेको उनले बताए । 

त्यस्तै २०३४ सालतिर पनि पोखरी अतिक्रमण भएको गुनासो आएको थियो । तत्कालीन नापी अधिकृत राजेन्द्रप्रसाद मराठाले बताए । त्यतिबेला उनले नै उक्त पोखरीको नापी गरेका थिए । साथै उक्त पोखरी अतिक्रमण गर्नेलाई पोखरीको जग्गा फिर्ता गर्न निर्देशन दिएका थिए । तर उक्त पोखरीको बारे कसैले कुनै कदम नचालेको उनले बताए । 

‘यो पोखरीको दुईपटक नापी भएको छ, एउटा २००१ सालमा र अर्काे मेरो पालामा । त्यतिबेला अतिक्रमणमा परेको गुनासो आएपछि मैले नै नापी गरेको थिएँ,’ उनले भने, ‘तर अतिक्रमित भाग फर्काउन सकिनँ ।’ 

त्यसपछि त यो पोखरी झनै खुम्चिँदै जान थाल्यो । सार्वजनिक जग्गा मिचिएको गुनासो बढेपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले २०४९ साल पुस १६ गते ‘सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग’ गठन गर्‍यो । 

पूर्वसचिव रामबहादुर रावलको अध्यक्षतामा गठित आयोगले दुई वर्ष लगाएर प्रतिवेदन बुझायो । जुन रावल आयोगको प्रतिवेदनका नामले चर्चित छ । 

उक्त प्रतिवेदनमा कमलपोखरीको पनि जग्गा अतिक्रमण भएको वा मिचिएको उल्लेख छ । खोज पत्रकारिता केन्द्रले गरेको एक खोजमा पनि यसबारे उल्लेख गरिएको छ । जस अनुसार, मालपोत कार्यालय काठमाडौंका अनुसार कित्ता नं. ४०४१ को १५ आना १ पैसा ३ दाम पदमकुमारी गुरुङ्ग र कित्ता नं. ४०४ को २ रोपनी १० आना १ पैसा १ दाम जग्गा मणिरत्न गुरुङ्गको नाममा देखिएको छ । 

कित्ता नं. १३४० को ४ आना सीता तामाङको नाममा र कित्ता नं. १८५१ को जग्गा कृष्णमाया भन्ने व्यक्तिको नाममा दर्ता छ । यी सबै कमलपोखरीको जग्गा हो । त्यस्तै कमलपोखरीकै कित्ता नम्बर १८५० र ३६८ मा १२ आना जग्गा मिचिएको देखिएको, तर मिच्ने व्यक्तिको नाम थाहा नभएको प्रतिवेदनमा उल्लेख छ ।

पोखरीको पुरानै शैली र स्वरुप जोगाउन संघर्ष गर्छौं : अभियन्ता 

कमलपोखरीको मौलिक स्वरुप नै मासिने गरी पुनः निर्माण गर्न थालेपछि अभियान्ताहरु क्रोधित छन् । 

अभियन्ता लिसा डंगोल भन्छिन्, ‘हामीलाई बाहिरबाट हेर्दा जे राम्रो लाग्छ, त्यो दीर्घकालीन र प्रकृतिका लागि राम्रो नहुन सक्छ । सिमेन्टको कमल फूल राम्रो त देखिएला, तर के हामीलाई त्यो साँच्चिकै चाहिन्छ त भनेर आफैंलाई प्रश्न गर्नुपर्छ ।’ 

अभियन्ता आलोकसिद्धि तुलाधरका अनुसार रानीपोखरीको पनि यस्तै समस्या थियो । तर पछि मिल्यो ।

‘प्रताप मल्लले निर्माण गरेको रानीपोखरी मौलिक स्वरुप फिर्ता पायो । मल्लकालमा शिखर शैलीमा निर्माण भएको रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर राणाकालमा गुम्बज शैलीमा पुनःनिर्माण भएको थियो,’ उनी भन्छन्, ‘त्यसरी नै यो कमलपोखरीको पनि इतिहास अध्ययन गरी पहिलेकै शैली र स्वरुपमा निर्माण गरिनुपर्छ ।’ 

कमल पोखरीको मिचिएका जग्गाको पहिचान गरी फिर्ता लिनुपर्ने उनले बताए । त्यसको लागि सरकारले मुआब्जा दिनुपरेपनि दिएर हटाउनुपर्ने उनले सुनाए । उनले भने, ‘कमलपोखरी प्राकृतिक सम्पदा हो । यो अमुल्य सम्पदामाथि प्रहार गर्न दिँदैनौँ । यसको मौलिक स्वरुप फिर्ता ल्याउन हामी संघर्ष गर्छौं।’  

सीमसार क्षेत्र कायमै रहने 

कमलपोखरी पुनः निर्माणका लागि प्राविधिक, पुरातत्व विभागलगायत विभिन्न संस्थासँग छलफल गरिएको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए । 

त्यस्तै काठमाडौं महानगरपालिकाका प्राविधिक प्रेम बहादुर श्रेष्ठले कमलपोखरीको प्राविधिक काम सम्हालिरहेका छन् । उनका अनुसार महानगरपालिकाले सीमसार क्षेत्र मास्दैन । यो पोखरीको प्राकृतिक सम्पदा नमासिने तरिकाले बनाउन लागेको हो ।

‘कमलपोखरीको पुनः निर्माण गरी व्युटिफिकेसन मात्रै गर्न लागेको हौँ,’ उनी भन्छन्, ‘हामीले सीमसार क्षेत्र मास्न लागेको आरोप गलत हो । यो पोखरी पहिले जत्रो थियो, त्यत्रै बन्छ ।’  
तस्बीरहरू :  सराेज बै‌ंजु


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x