समाज

कैलाली हत्या घटनाका थप एक आरोपी पक्राउ

दीपक उपाध्याय |
कात्तिक २८, २०७८ आइतबार १५:१२ बजे

कैलाली – प्रहरीले लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भुपेन्द्र बडुवालको हत्या घटनामा संलग्ताको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ । यसअघि, आठ जनालाई पक्राउ गरेको प्रहरीले अर्का आराेपी विकास खड्कालाई आइतबार बिहान पक्राउ गरेको हो । घटनापछि भागेर दैलेख पुगेका खड्कालाई लम्किचुहा ५ स्थित उनकै घरबाटै प्रहरीले पक्राउ गरेकाे हाे ।

योसँगै सो घटनामा संलग्नताको आरोपमा पक्राउ पर्नेको संख्या नौ पुगेको छ । सात जना अझै फरार रहेका इलाका प्रहरी टीकापुरका प्रहरी नायव उपरीक्षक (एसपी) प्रकाश सापकोटाले इकागजलाई जानकारी दिए ।


मंगलबार टीकापुर नगरपालिका–१ मा बडुवालको हत्या भएको थियो । उनको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले यसअघि आठ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–३ का २० वर्षीय आर्यन देवकोटा, २४ वर्षीय महेश रावल, २० वर्षीय धीरज शाही, लम्कीचुहा–१ का २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय निशान मल्ल रहेका छन् ।

यसैगरी, टीकापुर नगरपालिका–१ का २२ वर्षीय प्रविन रिमाल, २१ वर्षीय रोहित आले र २६ वर्षीय सोहन शाह पक्राउ परेका छन् । हत्याका मुख्य योजनाकार भनिएका नवीन रावल फरार रहेको प्रहरीले जनाएको छ । उनीसहित फरार रहेका सबैको खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ ।


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x