समाज

महाकाली नदीमा झण्डै शताब्दी यताकै ठूलो बाढी

दीपक उपाध्याय |
कात्तिक २, २०७८ मंगलबार १६:९ बजे

कैलाली - लगातारको वर्षाका कारण महाकालीमा जलस्तरको बहावले अहिलेसम्मकै रेकर्ड तोडेको छ । ९२ वर्ष यताकै ठूलो जलस्तर महाकाली नदीमा मापन गरिएको छ । मंगलबार दिउँसो २ बजे महाकाली नदिमा ५ लाख ४७ हजार २ सय २४ क्युसेक पानी मापन गरिएको छ । यसअघि सन् २०१३ मा ५ लाख ४४ हजार ४ सय ७६ क्युसेक बहाव पानी अहिलेसम्मकै उच्च थियो ।

नदीमा पानीको बहाव उच्च भएपछि ९२ बर्षअघि बनेको शारदा ब्यारेज ( वनबसा पुल) समेत जोखिममा परेको छ । पुलमा पैदल आवागमन समेत बन्द गरिएको छ ।


बृटिस भारत सरकारको पालामा महाकाली नदीमा सन् १९२३ मा पुल निर्माण सुरु गरिएको थियो । सन् १९२९ मा पुल निर्माण सम्पन्न भएको थियो । त्यही बेलादेखि महाकाली नदिमा जलस्तर मापन शुरु गरिएको हो । सन् २०२१ अक्टोबर १९ तारिख अर्थात २०७८ कात्तिक २ गतेको मापन ९२ बर्ष यताकै उच्च हो ।

शारदा ब्यारेजको रेकर्ड अनुसार सन् १९६६ मा ४ लाख ३७ हजार, सन् १९६९ मा ४ लाख ८० हजार ५९६, सन् १९७२ मा ४ लाख ९६ हजार एकसय, सन् २००८ मा ४ लाख ६१ हजार ७८८ र सन् २०१३ मा ५ लाख ४४ हजार ४७६ उच्च बहाव मापन गरिएको छ । अहिलेसम्मकै उच्च बहावका कारण शारदा ब्यारेजमा खतराको संकेत स्वरुप 'रातो बत्ती' बालिएको छ ।


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x