समाज

विद्युत् प्राधिकरणको चरम लापरबाही : 'चार्जिङ स्टेसन' मर्मत नहुँदा सेवाग्राही समस्यामा [तस्बिरसहित]

सुभद्रा धिताल |
जेठ ११, २०८१ शुक्रबार २०:४ बजे

काठमाडौँ- मधेश प्रदेशको सर्लाहीस्थित हरिवनमा रहेको विद्युतीय सवारी साधनको ‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही मर्कामा परेका छन् । झण्डै पन्ध्र दिनदेखि चार्जिङ स्टेसन बिग्रिएको हो । सञ्चालनमा आएको एक वर्ष नबित्दै चार्जिङ स्टेसनमा ‘चार्जिङ’ गर्ने ‘नोजल’ फुट्नुका साथै स्टेसनका दुई डिसी चार्जर बिग्रिएको छ ।

चार्जिङ स्टेसनमा ‘जीबीटी’ र ‘सीसीएस’ गरी दुई प्रकारका चार्जिङ मेसिन जडान गरिएको छ । ‘जीबीटी’ मेसिनबाट ठूला र व्यावसायिक गाडी तथा ‘सीसीएस’ मेसिनबाट साना गाडी चार्ज गर्न मिल्छ । यहाँ राखिएका दुइटै चार्जिङ स्टेसन बिग्रिएर समस्या उत्पन्न भएको छ । एउटा बीटीएको चार्जर बिग्रिएर १५/२० दिनपछि बनेको तर पनि चार्ज राम्रोसँग नहुने समस्या त थियो नै अहिले सिसिएसटुएको चार्जर पनि एक सातादेखि बिग्रिएको छ ।


गाडी चार्ज गर्न आएका सर्लाहीका स्थानीयवासी तथा सेवाग्राही ईश्वर महतले चार्जिङ स्टेसन बिग्रँदा हैरानी बेहोर्नुपरेको गुनासो गरेका छन् ।

उनले चार्ज गर्न आउँदा घन्टौं कुरेर पनि चार्ज गर्न नपाएको भन्दै गुनासो गरे । ‘पहिला पनि १५/२० दिन जति स्टेसन बिग्रिएको थियो । अहिले पनि सिसिएसटुको लिक्विड पूरै झरेर चार्ज नै हुँदैन,’ उनले भने, ‘चार्ज गर्ने स्टेसनको पाइपमा प्वाल परेर लिक्विड चुहिएको छ ।’

उनले सरकारले विद्युतीय सवारी साधन प्रयोगमा जोड दिए पनि थप चार्जिङ स्टेसन निर्माण र बिग्रिएका स्टेसनको समयमै निर्माण गर्ने कुरामा ध्यान नदिएको गुनासो गरे । उनले धेरै चार्जिङ स्टेसन नहुँदा भएका स्टेसनमा धेरै समय लाइन लगाएर मात्रै चार्ज गर्न पाइने गरेको जिकिर गरे । तर, आज त्यो पनि नभएको हुँदा दुखी छन् उनी ।

यसरी वर्षदिन पनि नबित्दै स्टेसनका उपकरणहरू बिग्रिँदै जानुले प्राधिकरणले खरिद गरेका उपकरणहरूको गुणस्तरीयतामा गम्भीर आशंका उत्पन्न भएको छ ।

 

सेवाग्राही महतका अनुसार चार्जिङ स्टेसनसँग सम्बन्धित व्यक्तिसँग कुरा गर्न खोज्दा चार्जिङ स्टेसनमा फेर्नुपर्ने सामान मगाइसकेको र एक/दुई दिनमै आउने आश्वासन दिएका थिए । उनले नेपाल विद्युत् प्राधिकरणका आयोजना प्रमुख सागरमणी ज्ञवालीलाई फोन गरेर समस्याबारे जानकारी पनि गराएका थिए । तर,  आयोजना प्रमुख ज्ञवालीले भने आफूहरूको कुरा नसुनी बेवास्ता गरेको महतको भनाइ छ ।

उनले आक्रोशित हुँदै भने , ‘उहाँले आजभन्दा १०/१२ दिन अगाडि फोन गरेको थिएँ । ठीक छ मलाई थाहा थिएन सबै हेर्ने मैले नै हो तर हामीले ठेक्का दिएको त्यसको आयल छैन म डाइरेक्ट गर्न लाइदिन्छु  भन्नुभयो त्यतिबेला । तर, आजभोलि भने फोन नै रिसिभ गर्नु हुन्न ।’

चार्जिङ स्टेसन बिग्रिएपछि बालबच्चा बोकेका यात्रुहरू अलपत्र परेका छन् । सयौँ सेवाग्रहीहरू चार्जिङ स्टेसनबाट चार्ज होला अनि आफ्नो गन्तव्यमा जान पाइएला भनेर स्टेसनमै कुरेर बसेका छन् । चर्को गर्मीमा बालबच्चा लिएर बिग्रिएको चार्जिङ स्टेसन बनि पो हाल्छ कि भनेर बिहानैदेखि सेवाग्राहीहरू बसेको महतले बताए ।

‘आज बिहानदेखि बालबालिकासहितका यात्रुहरू बिचल्ली भएर बसेका छन् । फोन गर्यो भने कुनै रेस्पोन्स छैन,’ उनले भने, ‘सागर सरले फोन नै नउठाइदिने खाली मेसेज मात्र गर्ने । उहाँले पठाएको नम्बरमा फोन गर्दा फोन लाग्दैन । कसैले रेस्पोन्स नगर्ने । प्राधिकरणको हेड अफिसमा फोन गर्दा सबै नम्बर बिजीका बिजी अब यहाँ पूरै बिचल्ली छ मान्छेहरूको ।’

यहाँको चार्जिङ स्टेसनमा सधैंजसो समस्या आइरहने भएकाले अहिले सार्वजनिक सवारी साधनहरू आउन छाडेका छन् । महतले भने, ‘बिग्रिएको धेरै दिन भएकाले पब्लिक गाडीहरू आउनै छाडे । थाहा भएकाहरू आउँदैनन् तर जो नयाँ छ त्यो आउँछ जस्तै प्राइभेट गाडीहरूलाई थाहा हुँदैन उनीहरू आउँछन् तर चार्ज हुँदैन र अलपत्र पर्छन् ।’

चार्ज गर्ने पाइपमा प्वाल परेका कारण लिक्विड चुहिएको छ । त्यसको मर्मत गर्नेतर्फ पनि प्राधिकरण र सम्बन्धित निकायको ध्यान जान नसकेको भन्दै यहाँका सेवाग्राहीहरू यतिबेला रुष्ट छन् ।

समस्या हरिवनको मात्र होइन चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिन बजारमा रहेको चार्जिङ स्टेसन पनि मर्मत नहुँदा सेवाग्राहीहरू मर्कामा छन् । त्यस्तै मकवानपुरको हेटौंडास्थित रातामाटेमा दुइटा चार्जिङ सेन्टर निर्माण भएका छन् । त्यहाँको समस्या पनि उस्तै हो ।

नेपाल विद्युत् प्राधिकरणले ५१ स्थानमा विद्युतीय सवारी साधन चार्जिङ स्टेसन सञ्चालन गरिरहेको छ । विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत अहिले सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरूका ५१ स्थानमा विद्युतीय सवारी साधन छिट्टो चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन निर्माण भएका हुन् ।

छोटो समयमा नै चार्जिङ स्टेसनहरूको अवस्था नाजुक बन्दै गएको छ । यसरी वर्षदिन पनि नबित्दै स्टेसनका उपकरणहरू बिग्रिँदै जानुले प्राधिकरणले खरिद गरेका उपकरणहरूको गुणस्तरीयतामा गम्भीर रूपले प्रश्न चिह्न खडा भएको छ ।

सधैं चार्जिङ स्टेसनका कारण दु:ख पाइरहने सेवाग्राही तथा यात्रुहरूको मर्म नेपाल विद्युत् प्राधिकरणले कहिले बुझ्ने ?

 

प्राधिकरणले यात्रु तथा सेवाग्राहीहरूको सहजताका लागि विद्युतीय चार्जिङ स्टेसनको निर्माण गरे पनि पछिल्लो समय यसैका कारण यात्रुहरूले तनावको स्थितिको सामना गरिरहनु परेको छ ।

कहिले स्टेसनहरूमा शौचालयको समस्या हुन्छ त कहिले चार्ज नै नहुने । समस्यै समस्या भएका कारण लाग्छ प्राधिकरण तथा सरोकारवाला निकायले काठमाडौँ उपत्यका बाहिरका चार्जिङ स्टेसन दीर्घकालीन चलाउन खासै चासो दिएनन् । उपत्यका बाहिरका अधिकांश चार्जिङ स्टेसनसम्म पुग्ने यात्रुहरूले सास्ती नै पाएका छन् ।

प्राधिकरणले विद्युतीय सवारी साधनको चार्जिङ स्टेसनको मापदण्ड पालना र दीर्घकालीन योजनाबिनै झारो टार्ने काम गरिरहेको जस्तो देखिएको छ ।

सरकारले २०३० सम्ममा पेट्रोलियमबाट चल्ने सवारीलाई विद्युतीय सवारीले विस्थापन गर्ने नीति अघि सारेको छ । त्यस्तै सन् २०२५ सम्ममा निजी विद्युतीय सवारी साधनको व्यापार २५ प्रतिशत र सार्वजनिक सवारी साधनको व्यापार २० प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । तर, अन्तर मन्त्रालय समन्वय हुन नसक्ने एवं विद्युतीय सवारीका लागि भरपर्दो पूर्वाधार विकास हुन नसक्दा सरकारी लक्ष्य प्रभावविहीन देखिएको छ । साथै चार्जिङ स्टेसन वरपरका स्थानहरूमा सरसफाइ गर्ने र वातावरणको सौन्दर्यता बढाउने कुनै पनि योजना प्राधिकरणसँग छ जस्तो देखिँदैन ।

यस्तै चार्जिङ स्टेसनमा यात्रुहरूको सुरक्षा पनि चुनौतीको विषय बनेको छ । यात्रुहरूले भोगेका सास्तीको जिम्मेवारी को ? भन्ने प्रश्नको जवाफ खोज्ने बेला आएको छ । प्राधिकरणले चार्जिङ स्टेसन बनाएर मात्र पन्छिन मिल्दैन ।

प्राधिकरणले चार्जिङ स्टेसन र त्यस वरपर रहेका पसल र शौचालयतिर पनि अनुगमन तथा निगरानी गर्नु आवश्यक छ । पूर्वाधार बनाएर मात्र विकासको काम भएको मानिँदैन जबसम्म त्यसलाई उपयोग गर्ने प्रयोगकर्ता तथा सेवाग्राहीलाई सहज र सुरक्षित महसुस हुँदैन । सधैं चार्जिङ स्टेसनका कारण दु:ख पाइरहने सेवाग्राही तथा यात्रुहरूको मर्म नेपाल विद्युत् प्राधिकरणले कहिले बुझ्ने ?

 

 

 

 

र, यो पनि

प्राधिकरणले बनाएको विद्युतीय चार्जिङ स्टेशनले बढायो दुर्गन्ध [तस्बिरसहित]

 


Author

थप समाचार
x