समाज

प्राधिकरणले बनाएको विद्युतीय चार्जिङ स्टेशनले बढायो दुर्गन्ध [तस्बिरसहित]

गाडी चार्ज हुन घन्टौँ समय लाग्ने, हैरानी खेप्दै यात्रु

सुभद्रा धिताल |
फागुन १६, २०८० बुधबार १९:७ बजे

मकवानपुरको हेटौंडास्थित रातामाटेमा निर्माण गरिएको चार्जिङ स्टेशन र त्यस वरपरका दृश्यहरू । तस्बिरहरू : इकागज

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले ५१ स्थानमा विद्युतीय सवारी साधन चार्जिङ स्टेशन सञ्चालन गरिरहेको छ । विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत अहिले सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरूका ५१ स्थानमा विद्युतीय सवारी साधन छिट्टो चार्ज गर्न मिल्ने चार्जिङ स्टेशन निर्माण भइरहेको हो ।

त्यसमध्ये २६ वटा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटा साना तथा ठूला कारहरू चार्ज गर्न मिल्ने प्राधिकरणले जनाएको छ । सोही क्रममा मकवानपुरको हेटौंडास्थित रातामाटेमा दुइटा चार्जिङ सेन्टर निर्माण भएको छ । यही बाटो प्रयोग गर्ने लामो तथा छोटो दूरीका विद्युतीय सवारी साधनहरूले यहाँको चार्जिङ स्टेशनमा चार्ज गर्छन् । सवारी चार्ज भइरहेका बेला लाग्ने समयका कारण यात्रुहरूलाई हैरानीको सामना गर्नु परेको यात्रुहरूले बताएका छन् ।


'हामी यही बाटो काठमाडौँ आउँछौं । छिटो पुगिन्छ भनेर घरबाट हिँड्छौं तर यही लाग्छ पौने एक घन्टा जति,' गाडी चार्ज हुँदा बखत लाग्ने समयमा हैरानी खेपिरहेका यात्रु टंक खत्रीले दुखेसो पाखे ।

चार्जिङ सेन्टर नजिक प्लाष्टिकले घेरेर बनाइएको पुरुष शौचालय ।

टंक जस्तै अर्का यात्रु सुनिता खत्री पनि लामो समय कुर्नु पर्दा तनाव हुने गरेको बताउँछिन् । पेसाले सिलाई कटाई गर्ने उनी उता नपाएका लुगाफाटाहरू लिन काठमाडौँको असन पुग्छिन् । काठमाडौँसम्म आउनका लागि सुनिताले यही बाटो प्रयोग गर्छिन् । 'पहिले पेट्रोलियम पदार्थले चल्ने गाडीमा हिँड्थेँ तर अहिले विद्युतीय सवारीमा हिँड्छु,' उनले भनिन्, 'यो गाडीमा हिँड्न त आरामै छ तर चार्ज गर्दा धेरै समय लाग्छ । समय त्यसै खेर गएको देखेर वाक्कै लाग्छ । ६/७ घन्टाको बाटोमा ३/४ घन्टा त गाडीलाई चार्ज हुँदासम्म कुर्नुपर्छ ।'

६/७ घन्टाको बाटोमा ३/४ घन्टा त गाडीलाई चार्ज गर्न मात्र लाग्छ । समय धेरै त लाग्छ नै यसो गाडीबाट ओर्लेर छेउछाउको वातावरण हेरौँ भन्दा पनि नाक थुन्ने अवस्था छ । प्राधिकरणले चार्जिङ स्टेशन त बनायो तर यसको वरपरको वातावरणलाई दूषित तुल्यायो । जंगलको बीचमा बनेको यो चार्जिङ स्टेशन नजिकका वन जंगलमा प्लाष्टिक, कागज, पानीका बोतलहरू छरपस्ट फालिएका छन् ।

चार्ज गर्नका लागि आफ्नो पालो कुर्न अव्यवस्थित रूपमा लाम लागेका गाडीहरू ।

यहाँको चार्जिङ स्टेशनको अवस्था देख्दा प्राधिकरण तथा सरोकारवाला निकायले काठमाडौँ उपत्यका बाहिरका चार्जिङ स्टेशन दीर्घकालीन चलाउन खासै चासो दिएको देखिँदैन । उपत्यका बाहिरका अधिकांश चार्जिङ स्टेशनसम्म पुग्ने यात्रुहरूले सास्ती नै पाएका छन् । रातामाटेमा निर्माण भएको चार्जिङ स्टेशनका कारण वातावरण झनै दूषित हुन पुगेको यात्रुहरूको भनाइ छ ।

भक्तपुरको बालकोट बस्ने बबिता बस्नेत आफ्ना साथीभाइहरूसँग हेटौंडा घुम्न पुग्छिन् । उनी र उनका साथीहरूले जाँदा/आउँदा विद्युतीय गाडी नै चढे । वन जंगलको रमणीय दृष्य हेर्दै आएका उनीहरू चार्जिङ स्टेशनसम्म पुग्दा खपिनसक्नु गन्धले थलीए । गाडी चार्ज हुँदै गर्दा शौच जान भनेर हिँडेकी बबिता शौचालयको दयनीय अवस्था देखेर शौच नै नगरी गाडीमै बसिन् । 'गाडी चार्ज हुँदासम्म बाहिर निस्किम् भनेर निस्किएँ । सहनै नसक्ने गरी दुर्गन्ध आएर झण्डै मरिनँ म,' उनले सुनाइन् ।

चार्जिङ स्टेशन नजिक प्लास्टिकले घेरा हालेर महिला र पुरुषका लागि भनेर शौचालय बनाइएको छ । तर, शौचालयभित्र त के त्यसको नजिक पनि जान सक्ने अवस्था छैन । जसका कारण यात्रुहरू शौच गर्न बाहिर जंगलमा जाने क्रम बढेको छ । जसबाट प्राकृतिक सौन्दर्यतामा समेत ह्रास आएको छ ।  

प्राधिकरणले चार्जिङ स्टेशन त बनायो तर यस वरिपरि रहेका पसल व्यवसाय र शौचालयको उचित व्यवस्थापन भने गर्न सकेन । अझ भन्ने हो भने चार्ज गर्न आउने गाडी बस्ने लाइनको पनि ठेगान छैन । गाडीका चालकहरूले मनपर्दी रूपमा गाडीहरू रोक्ने गरेका यहाँ आउने जोकोहीले पनि देख्न सक्छन् ।

यसरी मनलाग्दी गाडीहरू सडकमै रोक्नाले सवारी दुर्घटनाको पनि उच्च जोखिम रहेको छ । प्राधिकरणले चार्जिङ स्टेशन मात्र बनाएर यात्रुहरूले पाइरहेको सास्तीबारे अनभिज्ञ बनिरहेको जस्तो देखिन्छ ।  प्राधिकरणले विद्युतीय सवारी साधनको चार्जिङ स्टेशनको मापदण्ड पालना नगरेर झारो टार्ने काम गरिरहेको यात्रु खत्रीले बताए । यस्तै चार्जिङ स्टेशन नजिक राखिएका पसलमा गुणस्तर नभएका खानेकुराहरू बिक्री भइरहेको उनले बताए । 'भोक लागेर केही खाम् न भनेर गाको खानेकुराबाट गन्ध आए जस्तो लागेर त्यसै फर्किएँ,' उनले भने । 

सरकारले २०३० सम्ममा पेट्रोलियमबाट चल्ने सवारीलाई विद्युतीय सवारीले विस्थापन गर्ने नीति अघि सारेको छ । त्यस्तै सन् २०२५ सम्ममा निजी विद्युतीय सवारी साधनको व्यापार २५ प्रतिशत र सार्वजनिक सवारी साधनको व्यापार २० प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । तर, अन्तर मन्त्रालय समन्वय हुन नसक्ने एवं विद्युतीय सवारीका लागि भरपर्दो पूर्वाधार विकास हुन नसक्दा सरकारी लक्ष्य प्रभावविहीन देखिएको छ । साथै चार्जिङ स्टेशन वरपरका स्थानहरूमा सरसफाइ गर्ने र वातावरणको सौन्दर्यता बढाउने कुनै पनि योजना प्राधिकरणसँग छ जस्तो देखिँदैन ।

यस्तै चार्जिङ स्टेशनमा यात्रुहरूको सुरक्षा पनि चुनौतीको विषय बनेको छ । यात्रुहरूले भोगेका सास्तीको जिम्मेवारी को ? भन्ने प्रश्नको जवाफ खोज्ने बेला आएको छ । प्राधिकरणले चार्जिङ स्टेशन बनाएर मात्र पन्छिन नमिल्ने यात्रुहरू बताउँछन् । प्राधिकरणले चार्जिङ स्टेशन र त्यस वरपर रहेका पसल र शौचालयतिर पनि अनुगमन तथा निगरानी गर्नु आवश्यक छ । पूर्वाधार बनाएर मात्र विकासको काम भएको मानिँदैन जबसम्म त्यसलाई उपयोग गर्ने प्रयोगकर्ता तथा सेवाग्राहीलाई सहज र सुरक्षित महसुस हुँदैन ।


Author

थप समाचार
x