समाज

महानगर नै बनाउँछ मापदण्ड विपरीतका शौचालय, भत्काएको दुई वर्षपछि बल्ल बन्यो

इकागज |
बैशाख २७, २०८१ बिहीबार १४:४१ बजे

काठमाडौँ- धोबीखोलाको करिडोरमा मापदण्ड विपरीत सार्वजनिक शौचालय बनाएपछि काठमाडौँ महानगरपालिकाको २९ वडाले दुई वर्षमा निर्माण सम्पन्न गरेको छ । धोबीखोला करिडोरको ९ मिटर भित्र निर्माण गरिएकाले आधा संरचना हटाएर पुनः निर्माण गर्दा बल्ल दुई कोठाको शौचालय निर्माण सम्पन्न गरेको हो ।

गत आर्थिक वर्षदेखि सुरु गरिएको शौचालय यसपालि सम्पन्न गरिएको वडाका इन्जिनियर दीपक पण्डितले जानकारी दिए । उनका अनुसार धोबी खोलाको किनारमा शौचालय निर्माण भएको थियो । धोबीखोलाको करिडोर र बागमती एकीकृत सभ्यताको मापदण्ड विपरीत शौचालय बनेको थियो ।


‘धोबीखोलाको किनारबाट ९ मिटर दुरीमा बनाएको संरचनालाई  बागमती एकीकृत सभ्यतालाई मान्यता दिएन,’ उनले भने,’ धोबीखोलाको सडकको भाग रहेकाले पनि मापदण्ड विपरीत बनाएको थियो ।‘

इन्जिनियर पण्डितका अनुसार धोबीखोला करिडोरको मापदण्ड पुरा भएपछि मात्र कामको प्रक्रिया अगाडि बढाइएको हो । ९ मिटर भित्रको दुरीमा शौचालय बनेको थियो । मापदण्डको नियम सिकाउने महानगरले आफैँ मापदण्ड मिचेर बनाउन नहुने भनेर भत्काएर पुनः नयाँ बनाएको उनले बताए ।

९ मिटर दुरीभित्र पर्ने निश्चित संरचना हटाएर शौचालय निर्माण गर्दा केही समय ढिला भएको उनको भनाइ छ । धोबीखोला र बागमती एकीकृत सभ्यताको मापदण्ड पुरा गरिसकेपछि बाँकी कामहरू अगाडि बढाएर निर्माण सम्पन्न गरिएको पण्डितले बताए ।

अन्डरग्राउन्ड गरिएका तारहरूको कनेक्सनले असर गर्छ भन्न थालियो भने काठमाडौँका सबै घरहरू भत्काउनु पर्ने उनको भनाइ छ । धेरै भवन अगाडि विद्युतका कनेक्सन मिटर राखिएको उनले उल्लेख गरे । तारहरूले असर गर्छ भनेर अण्डरग्राउण्ड गरेर संरचना निर्माण गरिएको पण्डितले बताए ।

शौचालय निर्माणको लागि ८ लाख रुपैयाँ लागेको उनले जानकारी दिए । शौचालय निर्माणमा महानगरको वडा कार्यालयले खर्च गरेको उनको भनाइ छ । पण्डितका अनुसार शौचालयमा चाहिने आवश्यक सरसफाइदेखि पानीको सम्पूर्ण व्यवस्था गरिएको छ ।

पण्डितले शौचालयमा १ हजार लिटरको दुई वटा कालो टयांकी राखिएको बताए । शौचालयका लागि बोरिङ गरेर पानीको व्यवस्था गरिएको छ । दुई कोठाको शौचालयमा एउटा कोठामा पिसाब र अर्कोमा दिशा गर्ने बनाइएको छ । शौचालयको फोहोर ढलको मुख्य मंगललाइनमा जाने व्यवस्था गरिएको उनले बताए ।

शौचालय सञ्चालनमा आइसकेको उनले जानकारी दिए । निश्चित शुल्क लिएर सेवा प्रवाह सुरु भइसकेको उनले बताए । दिशा गरेको १० रुपैयाँ र पिसाबको ५ रुपैयाँ लिने गरेको छ ।

शौचालय बनाउने स्थान त्यहाँ नभए पनि यस वडाका सबै जनप्रतिनिधिको सल्लाहमा यस स्थानमा शौचालय बनाइएको उनले जानकारी दिए ।

मानिसहरूको आवतजावत गर्ने समयमा खुला रहन्छ । साँझसम्म खुला हुन्छ,’ उनले भने,’ जनप्रतिनिधिले सेवाग्राहीलाई अनुकूल समयसम्म खुला गर्ने निर्णय गर्छन् ।‘

सोही स्थानमा अर्को शौचालय भएको नभएको आफूलाई थाहा नपाएको उनले बताए । यस वडामा इन्जिनियर भएर आउँदा आधा संरचना बनिसकेको थियो,’ उनले अगाडि थपे ।  

त्यसैगरी सोही वडाका अध्यक्ष कुश ढकालले धोबीखोलाको पुल छेउमा बनाइएको शौचालय विधिवत् रुपमा केही दिनमा उद्घाटन गरिने जानकारी दिए ।


Author

थप समाचार
x