समाज

सन्दिप लामिछाने प्रकरण

गौशाला-२६ को जन्मदर्ताको प्रमाणपत्र झिकाउन आदेश

इकागज |
बैशाख ३, २०८१ सोमबार १८:५६ बजे

काठमाडौँ- उच्च अदालत पाटनले गौशाला-२६ को जन्मदर्ताको प्रमाणित प्रतिलिपि र उनले प्रमाणपत्रको प्रतिलिपि प्राप्त गर्नको लागि दिएको निवेदनको सक्कल प्रति माग गरेको छ ।

सन्दिप लामिछाने बलात्कारसम्बन्धी मुद्दामा न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले गौशाला-२६ का जन्मदर्ता प्रमाणपत्र मगाउन आदेश गरेको हो ।


गौशाला-२६ को बलात्कार गरेको अभियोगमा दोषी ठहर भएका सन्दिपलाई अधिकतम सजायको माग गर्दै उच्च सरकारी वकिलको कार्यालयले र आफूले सफाइ पाउनुपर्ने जिकिर गर्दै सन्दिपले दिएको पुनरावेदन मुद्दामा उच्च अदालत पाटनले आजदेखि सुनुवाइ थालेको हो ।

गएको पुस १३ गते जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिर ढकालले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो । पुस २५ गते सोही इजलासले उनलाई ८ वर्ष कैद सजाय, तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश गरेको थियो । तर, जिल्ला अदालतले लामिछानेलाई सजाय कम दिएको भन्दै उच्च सरकारी वकिल कार्यालयले उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो । त्यसअघि सन्दिप लामिछानेले पनि जिल्ला अदालतले आफूलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको विरुद्धमा उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए । 

उच्च अदालत पाटनले दुवै पक्षको पुनरावेदनलाई एउटै मुद्दामा राखेर सुनुवाइ थालेको छ । मुद्दाको पुनरावेदन प्रक्रियामा रहेकाले सन्दिपले हाल थुना बाहिर बस्ने सुविधा पाएका छन् ।


Author

थप समाचार
x