समाज

मन्थली-लुक्ला उडान सुरु

इकागज |
चैत ११, २०८० आइतबार १४:४९ बजे

फाइल तस्बिर

रामेछाप- पदयात्रा र हिमाल आरोहणको मौसम सुरु भएसँगै रामेछापको मन्थली विमानस्थलबाट लुक्लाका लागि दैनिक उडान सुरु भएको छ । तारा, समिट र सीता एयरले आजदेखि सोलुखुम्बुको लुक्लासम्म नियमित उडान भर्न थालेपछि पर्यटकका लागि सहज हुने ठानिएको छ ।     

पर्यटकीय मौसमको बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यस्त हुने भएकाले ट्राफिक जाम नहोस् भनी एयरलाइन्सहरूले पर्यटकलाई मन्थलीसम्म गाडीमा ल्याएर लुक्लाको लागि उडान भर्ने गरेका छन् । 


पदयात्रा र आरोहणका लागि वर्षको दुई पटक पर्यटक यहाँ आउने गर्छन् । यसअघि असोजको पहिलो सातादेखि मङ्सिरको पहिलो सातासम्म खुम्बु क्षेत्र घुम्न जाने पर्यटक धेरै हुने गर्दथे । यस वर्ष चैतदेखि जेठभित्र घुम्न आउने पर्यटकको सङ्ख्या धेरै भएको तारा एयरका रामेछाप इन्चार्ज प्रवीण सुवेदीले बताए । शुक्रबारदेखि उडान सुरु गरे पनि मौसमले साथ नदिएको उनको भनाइ छ ।

आजदेखि मौसम खुलेसँगै नियमित उडान सुरु गरिएको नागरिक उड्डयन प्राधिकरण रामेछापकी निमित्त कार्यालय प्रमुख पुजा थापाले बताइन् । मन्थलीमा हवाई इन्धनसहितको व्यवस्था गरिएको छ ।


Author

थप समाचार
x