समाज

६ महिनापछि हिउँदे वर्षा, किसान खुसी

इकागज |
चैत ९, २०८० शुक्रबार १५:३१ बजे

फाइल तस्बिर

भोजपुर- लामो समयपछि हिउँदे बर्सात भएपछि भोजपुरका किसान खुसी भएका छन् । लामो खडेरीको मारमा परेका किसान बर्सात भएसँगै हिउँदे बाली सप्रने भन्दै खुसी भएका हुन् ।

बर्सातले फलफूलका बिरुवा, तरकारी तथा अन्य हिउँदे बालीको उत्पादनमा वृद्धि हुने अपेक्षा लिइएको स्थानीय रुपनारायण फुयालले बताए । खडेरीले हावाहुरीसँगै आगलागीका घटना बढिरहेको अवस्थामा बर्सातले केही राहत मिलेको उनको भनाइ छ । 'लामो समयदेखि हिउँदे बर्सात भएको थिएन,' फुयालले भने, 'पानी नपर्दा हिउँदे बाली बारीमा नै सुकिसकेका थिए । ढिलै भए पनि पानी परेसँगै दिउँदे बालीको उत्पादन बढ्नेमा आशावादी छौँ ।'


समयमा हिउँदे वर्षा नहुँदा बालीनाली सुकेका भन्दै बर्सातले किसानलाई लाभ पुगेको तिवारीभञ्याङका टीकाराम तिवारीले बताए । गहुँ, जौ, तोरी, आलु, गोलभेँडालगायत नगदे बालीलाई बर्सातले फाइदा पुगेको उनको भनाइ छ । जिल्लाका सबै भू-भागमा बुधबारदेखि निरन्तर वर्षा भइरहेको छ । यहाँ छ महिनादेखि पानी पर्न सकेको थिएन ।


Author

थप समाचार
x