समाज

तीन जनाको हत्यापछि हरिसिद्धीको जंगलमा झुन्डिएको अवस्थामा भेटिए काजी

इकागज |
फागुन ९, २०८० बुधबार १४:६ बजे

काठमाडौँ- काठमाडौँको स्वयम्भूमा आमा र दुई छोरीको हत्यापछि श्रीमान्‌ले आत्महत्या गरेका छन् । नागार्जुन नगरपालिका-६ स्थित एउटा घरमा बुधबार बिहान आमा र दुई छोरीको हत्यापछि श्रीमान्‌ले आत्महत्या गरेको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ ।

हत्या भएको ठाउँदेखि करिब दुई किलोमिटर टाढा जंगलमा श्रीमान् झुन्डिएको अवस्थामा मृत फेला परेको वृत्त प्रमुख डिएसपी पूर्णिमा चन्दले बताइन् ।


ओखलढुंगा घर भई उक्त घरमा डेरा गरी बस्ने ३९ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षीया छोरी शिवानी श्रेष्ठको हत्या भएको थियो । हत्यापछि काजी विश्वकर्मा भनिने राजु घिमिरेले आत्महत्या गरेको चन्दले बताइन् ।

‘हत्यापछि श्रीमान् हरिसिद्धीस्थित जंगलमा झुन्डिएको अवस्थामा फेला परेका छन्,’ उनले भनिन् ।

घिमिरे घर बनाउने काम गर्थे । हत्यापछि उनले ससुरालाई फोन गरेर आत्महत्या गर्न लागेको बताएका थिए ।

हत्याको कारण खुलिसकेको छैन ।  शव घटनास्थलबाट पोस्टमार्टमका लागि पठाइएको छ । 

र, यो पनि


Author

थप समाचार
x