समाज

सीआइबीले भन्यो : विनोद चौधरीको भाइ अरुणमाथि किर्ते कागज र ठगी मुद्दा चलाइन्छ

इकागज |
माघ १९, २०८० शुक्रबार १५:० बजे

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले च्याम्पियन फुटवेयरमा बाँसबारी छाला उद्योगको २५ प्रतिशत शेयर अरुण चौधरीले खरिद गरेको जनाएको छ ।

शुक्रबार सीआइबीद्वारा आयोजित पत्रकार सम्मेलनमा २०५२ सालमा च्याम्पियन फुटवेयरको २५ प्रतिशत शेयर अरुणले किनेपछि २०५४ पुस ४ गते प्राइभेट कम्पनीमा लगिएको जानकारी दिएको हो ।


बाँसबारी छाला उद्योगले दिएको १० रोपनी जग्गामा सञ्चालन हुने भनिएको च्याम्पियन फुटवेयरमा प्रारम्भिक रूपमा चौधरी समूहको ५१ प्रतिशत, बाँसबारी छाला उद्योगको २५ प्रतिशत र २४ प्रतिशत शेयर सर्वसाधारणको रहने भनिएको थियो । बाँसबारी छाला उद्योगले आफ्नो नाममा रहेको १८ रोपनी ३ आना २ पैसा जग्गामध्ये १० रोपनी जग्गा च्याम्पियन फुटवेयरलाई दिएको थियो । 

प्रतिरोपनी २ लाख ५० हजारको दरले बाँसबारी छाला उद्योगले कुल २६ लाख लगानी गरेको देखिएको र च्याम्पियन फुटवेयरको चुक्ता पुँजी ५० लाखमात्र देखिएको सीआइबीको दाबी छ ।

२५ प्रतिशत शेयरको मूल्य साढे १२ लाख रुपैयाँ मात्र पर्ने भए पनि बाँसबारीले २६ लाख रुपैयाँ मूल्य बराबरको १० रोपनी जग्गा दिएको सीआइबीको भनाइ छ ।

'चुक्ता पुँजीलाई ५० लाखबाट एक करोड पुर्याइएपछि बाँकी अरू पक्षबाट ७४ लाख रुपैयाँ लगानी हुनुपर्नेमा जम्मा ८ लाख मात्र लगानी भएको पाइयो । त्यसमा पनि कम्पनीले ३ वर्षसम्म उत्पादन गरेको देखिन्छ,' सीआइबीका एसएसपी दिनेश आचार्यले भने ।

उनले लामो समयसम्म अनुसन्धान गरेर आफू निष्कर्षमा पुगेको भन्दै शंका नगर्न आग्रह गरे ।

अनुसन्धानका क्रममा चौधरी समूहका अन्य सदस्यलाई अनुसन्धान गर्न सकिने उनले बताए । उनका अनुसार मुलुकी ऐन २०२० को किर्ते कागज र ठगीको महलमा मुद्दा चलाइन्छ ।

बिहीबार सिआईबीले अरुणकुमार चौधरी, अजित नारायण सिंह र संजय ठाकुरलाई पक्राउ गरेको थियो ।


Author

थप समाचार
x