समाज

स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष जोशीको निधन, आज सार्वजनिक बिदा

इकागज |
माघ ४, २०८० बिहीबार १०:३८ बजे

काठमाडौँ- बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको निधन भएको छ । गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले उपाध्यक्ष जोशीको ५० वर्षको उमेरमा बिहीबार बिहान करिब ४ बजे आफ्नै घरमा निधन भएको जानकारी दिए ।

उनका अनुसार उपाध्यक्ष जोशी लामो समयदेखि क्यान्सरबाट पीडित थिइन् । काठमाडौँको त्रिवि शिक्षण अस्पताल, नर्भिक अस्पतालमा उपचार गरिएको थियो । अन्तिम पटक किष्ट अस्पतालमा उपचार गराएर घर लगिएको उनले बताए । 


‘सुरुमा उपाध्यक्षमा किड्नीमा समस्या थियो । किड्नीको ट्रान्सप्लान्ट भएको थियो पछि उनलाई क्यान्सर भएको थियो,’ अध्यक्ष रोकायाले इकागजसँग भने,’ शरीरका अन्य भागमा सरेकाले पछि उपचार सम्भव नभएपछि घरमा राखिएको थियो ।‘

जोशीको परिवारमा दुई छोरा, दुई छोरी र श्रीमान छन् । उनी वडा ४ का स्थायी बासिन्दा थिइन् ।

उनको आजै अन्त्येष्टि गरिने अध्यक्ष रोकायाले जानकारी दिए । ‘आज एक दिन कार्तिक स्वामी गाउँपालिका भरका सम्पूर्ण सार्वजनिक कार्यालयमा सार्वजनिक बिदा दिइनेछ । तीन दिनसम्म राष्ट्रिय झण्डा झुकाइने निर्णय भएको छ,’ उनले अगाडि थपे ।

२०७९ वैशाखमा भएको स्थानीय तह चुनावमा जोशी नेपाली कांग्रेसबाट उम्मेदवार भई उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।

 


Author

थप समाचार
x