समाज

[भिडियो/तस्बिरसहित]

मर्न हिँडेका 'अलच्छिना' को काखमा हुर्किरहेका ५७ बालबालिका

सुभद्रा धिताल |
पुस २८, २०८० शनिबार १८:१४ बजे

काठमाडौँ- नौ वर्षको उमेरमा मर्न हिँडेका तिलबहादुर कार्की अहिले ५७ जना बालबालिकाहरूको पिता बनेका छन् । काठमाडौँको गोकर्णमा ज्वाइन्ट डीसएवल युनिटी आवाज सेन्टरमा उनले ५७ बालबालिकालाई आश्रय दिइरहेका छन् ।

उनी आफैँ एक अपाङ्गता भएका व्यक्ति हुन् । उनको घुँडाभन्दा तल सुकेको छ । दुई पैतलाहरू विपरीत दिशातिर फर्किएका छन् । पैतलाले भुईँ टेक्न सक्दैनन् । खुट्टा र हातमा १२-१२ वटा औँला छन् ।


'खाने मुखलाई जुँगाले छेक्दैन' भन्‍ने नेपाली उखान झैँ तिलबहादुरको आँट र साहसलाई अपाङ्गताले न रोक्यो न छेक्यो । उनी १६ वर्षदेखि अभिभावकविहीन बच्चाका बुबाआमा बनेका छन् । अनाथ बालबालिकाले उनलाई ‘बा’ भन्दा भावुक हुन्छन् ।

खुट्टा खोच्याउँदै मोरङबाट काठमाडौँ उक्लिएका तिलबहादुरले आजको दिन सोचेकै थिएनन् । उनी भन्छन्, 'जहाँसम्म आइपुगेँ, त्यहाँसम्मका यात्रा सम्झँदा विश्वास नै लाग्दैन । यहाँसम्म पुग्छु भन्‍ने लागेकै थिएन ।'

तिलबहादुरको जन्म भएदेखि नै समाजले उनकी आमालाई 'अलच्छिना' को बात लगायो । उनी र उनकी आमाले घरमा पनि बास पाएनन् । घरमा बस्‍न नपाएपछि उनीहरूले कयौँ रात गोठमा गाईभैँसीसँगै बिताएको तिलबहादुरलाई हिजोअस्ति जस्तै लाग्छ ।

'हामीलाई गाउँलेले यो अलच्छिनाका आमाछोरालाई गाउँ कटाउनुपर्छ भने । मेरो कारण आमालाई धेरै दु:ख भएपछि म सुटुक्क गाउँ छाडेर काठमाडौँ उक्लिएँ' तिलबहादुर ति कहालीलाग्दो दिनतिर फर्किँन्छन्, 'त्यति बेला मर्न नहिँडेको भए कहाँ सहाराविहीनको सहारा बन्‍न सक्थे र !'

यहाँ हरेक मानिस सपना देख्छन् । कतिको सपना पूरा हुन्छ भने कतिको त्यसै तुहिन्छ । तिलबहादुर पनि त्यही सपना बुन्‍नेमध्ये पर्छन्, जो १८ वर्षअघि देखेको सपना बिस्तारै विपनातिर परिणत गराउँदै गएका छन् । उनले एउटा सपना देखे- आफू जस्तै असहाय बालबालिकालाई आश्रय दिने । अनि जन्म भयो ज्वाइन्ट डीसएवल युनिटी आवाज सेन्टर । कपनबाट आश्रय दिन सुरु गरेका उनको संस्था अहिले गोकर्णमा छ । बालबालिकासँगै उनी पनि टीनले छाएको घरमा बस्छन् ।

उनको सबथोक यही घर हो, जहाँ उनले सुखभन्दा बढी दु:खका सास फेरेका छन् ।

उक्त घरको गेटबाट भित्र पसेपछिको पहिलो कोठा आउँछ जुन उनले सुन्दर सपना देख्ने बेडरुम हो । कोठासँगै टाँसिएको सेन्टरको अफिसका भित्ता र टेबुलहरू पुरस्कार र सम्मानपत्रले भरिएका छन् । पुरस्कार र सम्मानपत्रले उनको मन त बेलाबखत भरिन्छ तर यी र यस्तैहरूले भने पेट भर्न गाह्रो छ ।

'यी पुरस्कार तथा सम्मानपत्रले भोको पेट भर्दैन रहेछ,' भित्तातिर देखाउँदै उनले भने ।

उनलाई भेट्ने जो कोहीले पनि उनको मुहारमा पीर र चिन्ता प्रष्टै देख्न सक्छन् । 'म मरेर गएँ भने मेरा नानीबाबुहरू त सडकमै जान्छन्,' उनले आँखाभरि आँसु पारेर भने, 'आफू मरेपछि अनाथ बालबालिकाको भविष्य के होला भन्ने चिन्ताले बेस्सरी खाइरहेको छ ।'

उनी आफैँ दीर्घरोगी छन् । लामो समयदेखि मधुमेह र उच्च रक्तचापको औषधि खाइरहेका छन् । यति हुँदा पनि बालबालिकाको भविष्यका लागि उनी सबैसामु हारगुहार गरिरहेका छन् । कति पटक तिलबहादुरले ज्यान फाल्ने दुस्साहस गरे । 'मर्छु भन्दै धेरै पटक विष पनि सेवन गरेँ । काल नआएकाले होला म त्यस बेला मरिनँ,' उनले भावुक हुँदै भने ।

यस्तो थियो तिलबहादुरको बाल्यकाल

२०२९ सालमा झापामा जन्मिएका उनी जन्मँदा नै अपाङ्गता भएर जन्मिए । उनी आफै हिँड्न सक्दैनथे । कसैले अड्याइ दिनुपर्थ्यो । खुट्टाले टेक्नै नसक्ने थिए उनी । यसमा उनको के दोष थियो र ? तर, पनि उनले र उनकी आमा हर्कमायाले समाजबाट अपहेलना सहनुपर्‍यो । समाजले पनि दोषजति उनकी आमामाथि नै थोपर्‍यो ।

तिलबहादुर झापाको दुर्गा माध्यमिक विद्यालयमा पढ्थे । त्यहाँ उनलाई साथीभाइहरूले धेरै नै गिज्याउँथे, मजाकमा उडाउँथे । कति पटक त साथीहरूले उनको खाजा खोसिदिन्थे भने कहिलेकाहीँ त साथीहरूले उनकै जिउमै पिसाब फेरिदिन्थे । उस बेलादेखि नै उनको मनमा नानाथरिका कुरा खेल्न थाले । कहाँसम्म पुगिन्छ उनलाई केही थाहा थिएन । तर, पनि उनी अघि बढी रहे ।

‘मेरी आमाले कति दुःख पाउनुभयो । गाउँलेले हामीलाई देख्‍न सहेनन् । योभन्दा त मै मरेपछि मेरी आमालाई सुख होला भनेर म मर्न हिँडेँ,’ पीडाको सास फेर्दै उनी विगततिर फर्किए ।

जब तिलबहादुर घर छाडेर निस्किए उनका परिवारले उनी मरिसकेको सोचे । र, तिलबहादुरको काजकिरिया गरिदिए । उनलाई घर र गाउँ छोडेर हिँड्न सहज भने थिएन । हिँड्‌दा-हिँड्दै खुट्टाभरि घाउ भए । र, पनि उनको पाइला रोकिएनन् । कहिले घर नै भेटिँदैनथ्यो, जंगलै जंगल हिँड्थे । उनले बस्ने बास र खाने गाँसको टुंगो थिएन ।

कति दिन भोकै रहेर पनि उनी बल्लतल्ल गर्दै झापाको दमक आइपुगे । दमक आइपुगेपछि उनले एउटा यात्रुवाहक बस देखे । मान्छेहरू भन्थे, 'राजाको गाउँ जाने बस ।’ उनीहरूको कुरा सुनेपछि तिलबहादुरलाई पनि राजाको गाउँ जाने हुटहुटी चल्यो । बस रोकेको बेला उनी पछाडिबाट सिधै छतमा लुकेर सुटुक्क चढे र त्रिपालमुनि लुकेर बसे । भोकै प्यासै उनी काठमाडौँ आइपुगे । त्यस बेला उनको कानमा एउटा आवाज आयो, 'पुरानो बसपार्क रत्नपार्क, पुरानो बसपार्क रत्नपार्क ।'

सबैजना गाडीबाट ओर्लिए र उनी पनि सकिनसकि भुईँमा झरे । तिलबहादुर २०३८ सालमा राजा गाउँको अर्थात् काठमाडौँमा पहिलो पटक आइपुगे । उनलाई काठमाडौँसम्म आइपुग्दा भोकले असह्य भइसकेको थियो । त्यस बेलासम्म उनी बानेश्वर पुगेका थिए । बानेश्वरमा एउटा सानो होटेल देखे र त्यहाँ छिरेर भने, 'अलिकति खान दिनुस् न ।' जवाफमा साहुजीले ढोकाबाटै भने, 'केही काम गर्न सक्छस् जस्तो लागेन । छैन खाना ।'


 
यसरी जन्मियो संस्था

बानेश्वर पुग्दा उनले पशुपतिको नाम सुनेका रहेछन् । त्यसपछि उनी त्यही नामको खोजीमा लागे । उनले नजिकै खोलाको किनार देखे । र, त्यहाँ मान्छे पोलिरहेका थिए । उनले धेरै मानिसहरू पशुपति मन्दिरअघि माग्न बसेको देखे । उनले पनि खुट्टा देखाए र घरबाट लिएको बोरा थापेर माग्न बसे ।

मान्छेहरू आउँदै बोरामा पैसा खसाल्न थाले । दुई दिनमै दुई सय ५५ रुपैयाँ उनको बोरामा पर्‍यो । राति आर्यघाटको छेउमा सुतेका थिए । सुतेका बखत साथीहरूले सबै पैसा खोसिदिएको उनले सुनाए । दिनदिनै पैसा चोरी भएपछि तिलबहादुरले एक रात १२ बजे जयबागेश्वरीको जंगलमा पुगे र खुकुरीले खाल्डो खन्‍न थाले । उनले धेरै दिन लगाएर गहिरो खाल्डो खने, अनि बोरा र पैसा त्यही खाल्डोमा राखे ।

समय बित्दै जाँदा उनको माग्ने शैली पनि बिस्तारै परिवर्तन हुन थाल्यो । उनी पशुपतिको पुलपारी मन्दिरमा बस्‍न थालेका थिए । मागेर जम्मा भएको सबै पैसा लिएर फेरि आफूले खनेको खाल्डोमै पुग्थे र त्यहीँ राख्थे । मानौँ उनको लागि यो खाल्डो एक सुरक्षित बैंकजस्तै भयो । यसरी पैसा माग्दा उनका खुट्टा गलेर फत्रक्कै हुन्थे । तर, उनी आफ्नो काम भने छाड्दैनथे ।

यसैगरी उनले माग्न थालेको निकै समय भइसकेको रहेछ । एक दिन उनलाई आफूले जम्मा गरेको पैसा निकाल्ने सोच आयो । र, उनी गौशालास्थित प्रहरी कार्यालयमा पुगेर भने, ‘मैले मागेको पैसा खाल्डोमा गाडेको छु । म एक्लै निकाल्न सक्दिनँ, तपाईँहरूले निकाल्दिनुपर्‍यो । त्यो पैसाले मजस्तै मान्छेलाई आश्रय दिने काम गर्छु ।’

प्रहरी खाल्डोमा पुग्यो र पैसा निकाल्न थाल्यो । अनि प्रहरी कार्यालयमा ल्याएर गन्‍न थाल्यो । तिलबहादुरका अनुसार एक र दुई रुपैयाँका नोटजति कुहिसकेका थिए भने गाई पैसा, एक र दुई रुपैयाँका ढ्याक थिए । त्यो पूरै पैसा गन्‍न प्रहरीलाई तीन दिन लागेको उनले सुनाए ।

सो पश्चात् तिलबहादुर माग्नेबाट एकैपटक लखपति बने । त्यसरी गनेको पैसा पाँच लाख ५१ हजार २५ रुपैयाँ थियो । 'मैले त्यो बेलाको पैसाले आफ्नो लागि गरेको भए म ३/४ वटा घरको मालिक भएर बस्थेँ । तर, होइन मैले असहाय बालबालिकाको लागि सहारा बन्छु भनेर लागेँ,' उनले बीचमै बोले ।

प्रहरीले बैंकबाट पैसा साटेर ल्यायो र तिलबहादुरका अगाडि राखिदियो । जब तिलबहादुरले त्यो बिटो देखे, सिधै ढले । उनको आँखा त्रिवि शिक्षण अस्पतालको बेडमा खुल्यो । उनलाई पूरै निको हुन सात दिन लागेको उनले बताए ।

अब के गर्ने ? बैंकमा राखौँ, नागरिकता छैन । संस्था स्थापना गर्नका लागि पनि त नागरिकता चाहियो । उनले चिनेजानेका मान्छेको सहयोगमा नागरिकता पनि बनाए । अब लखपति बनेका तिलबहादुरले आफूजस्तैलाई आश्रय दिने सोच बनाए । त्यसका लागि उनले एउटा संस्था खोल्नुपर्ने थियो ।

त्यसपछि उनले २०६३ मा संस्था जन्माए 'ज्वाइन्ट डिसएवल युनिटी आवाज सेन्टर ।' यहाँ उनले अपाङ्गता भएका, द्वन्द्व पीडित, कारागारका बच्चा र ७२ सालको भूकम्पमा अभिभावक गुमाएका बालबालिकाहरू राखेका छन् । कर्मचारीहरू पाँच जना छन् । उनीहरूले बालबालिकालाई बिहानबेलुका आएर पढाउने गर्छन् । सुरुमा उनले त्यो पैसाले कपनमा फ्ल्याट भाडामा लिए । बेड, ओड्ने ओच्छ्याउने, भाँडाकुँडा र ग्यास चुल्हो किने । 

त्यसपछि असहाय बालबालिका खोज्नका लागि कालिकोट, हुम्ला, जुम्ला, अछाम, दैलेखसम्म पुगे । तिलबहादुरले बुबाआमा नभएका अनाथ ११ जना बालबालिकालाई लिएर काठमाडौँ आए । तिलबहादुर नै ती बच्चाका बुबाआमा बने ।

समय क्रमसँगै तिलबहादुर पत्रपत्रिका र टेलिभिजनमा छाउन थाले । टेलिभिजनमा छोरालाई देखेपछि छोरा जिउँदै रहेछ भन्‍ने थाहा पाए उनका बुबाआमाले । झण्डै २८ वर्षपछि बुबाआमा तिलबहादुरलाई भेट्न काठमाडौँ आइपुगे ।

त्यसपछि तिलबहादुर पनि बुबाआमासँगै घर हिँडे । तर, उनले घर प्रवेश गर्न भने पाएनन् । किनभने बुबाआमाले तिलबहादुरको पहिले नै काजकिरिया गरिसकेका थिए । त्यसपछि पण्डित ल्याएर आमाले जन्माएको मिति र समय हेरियो । तिलबहादुरलाई घ्याम्पो फुटाएर निकालियो । आमालाई नौ दिनसम्म सुत्केरी बनाएर कुनामा राखियो । त्यसपछि बल्ल तिलबहादुरलाई घरमा पस्न दिइयो ।

'म जिउँदै हुँदा काजकिरिया भइसकेको मान्छे हुँ । यो मेरो दोस्रो जन्म हो,' उनी भावुक हुँदै भने । संस्था स्थापना भएको केही महिना भएको थियो । उनीसँग भएका सबै रकम सकियो । उनी निकै अप्ठ्यारोमा परे । त्यसपछि उनले पसल-पसलमा मुठी दान अभियान चलाए ।

तिलबहादुर सम्झन्छन्, 'थुप्रै पसलमा मुठी दान अभियान चलाएँ । उठेको पैसाले बच्चाहरू पढाएँ ।' सो पश्चात् ठाउँ परिवर्तन गर्दै अहिले तिलबहादुर गोकर्ण पुगेका छन् । यहाँ १० वर्षका लागि ६ रोपनी जग्गा भाडामा लिएका छन् । बालबालिकालाई खुवाउनका लागि त्यसैमा कृषि फर्म खोलेका छन् । मासिक ५ लाख रूपैयाँ खर्च छ ।

अहिले देशविदेशबाट मान्छेहरू तिलबहादुरकहाँ जन्मदिन मनाउन आउँछन् । केहीले आफ्ना पितृका नाममा पनि खुवाउँछन् भने केहीले सहयोग गर्छन् । 'मनकारीहरू आएर लाउन, खान सहयोग गर्नुहुन्छ,' तिलबहादुर भन्छन्, 'तर पनि संस्थाका लागि जग्गा किन्‍न सकेँ भने म मरे पनि यी बालबालिका मर्ने थिएनन् ।'

अहिले १२ पास गरेर सात जना विद्यार्थी संस्थाबाट निस्किसकेका छन् । जसलाई तिलबहादुरले जागिर पनि लगाइदिएका छन् भने, एक जना कोरिया गएका छन् । बेला-बेला तीन पाँग्रे स्कुटर चढेर तिलबहादुर उनीहरूलाई भेट्न पुग्छन् ।

तिलबहादुर सीएनएन हिरोका लागि छनोटमा पनि परेका थिए । तर, विडम्बना भनौँ त्यस बखत कोरोना भाइरसको कारण सीएनएनको सबै कार्यक्रम स्थगित भयो । 'रुँदारुँदै आँसु पनि सुकिसकेको छ । बालबालिका, वृद्धवृद्धालाई सहयोग गर्छु भनेर लागेको म साह्रै गाह्रो भएको छ,' उनले न्याउरो अनुहार लगाएर भने ।

यो दु:खको घडीमा उनले राज्यको साथ र हौसला चाहेका छन् । ५२ वर्षीय उनी बालबालिका सडकमा जाने अवस्था आएको खण्डमा भाँडा माझ्न विदेश जाने दुखेसो पोख्छन् । 'सरकारले, राज्यले एउटा पनि सहयोग र हौसला दिएको छैन । म पछि बच्चाहरूको बिचल्ली हुन्छ,' उनले भने ।

'कुनै विकल्प नभए आफूले पाएका सम्मानपत्रहरू नै बेचेर नानीबाबुहरूलाई हुर्काउँछु । वडा कार्यालय, नगरपालिका र सरकारले अहिले कुनै वास्ता गरेको छैन तर म मरेपछि बालबालिकाहरू सडकमा पुग्दा कोही नआउनू,' उनले पीडाका पोको फुकाले, 'म मरेर गएँ पनि संस्था कहिले नमरोस् ।'

 

 

भिडियो:


Author

थप समाचार
x