समाज

महोत्तरीबाट सम्पर्कविहीन भएका पाँच किशोरीहरू धनुषामा भेटिए

सुभाष कर्ण |
कात्तिक २३, २०८० बिहीबार २०:२४ बजे

जनकपुरधाम- महोत्तरीबाट सम्पर्कविहीन भएकाे भनिएका किशोरीहरू दुई दिनपछि धनुषाको ढल्केबरमा फेला परेका छन् ।

घरबाट घुम्न जान्छु भनेर निस्किएका महोत्तरीको औरही नगरपालिका-२ फुलबरियाका पाँच जना किशोरीहरू मंगलबार दिउँसोदेखि सम्पर्कविहीन थिए । बिहीबार बिहान १० बजेतिर ती किशोरीहरू धनुषाको ढल्केबरस्थित चोकमा फेला परेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।


इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक राजकिशोर साहले पाँचै जना किशोरी ढल्केबरबाट सम्पर्कमा आएको बताए । जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दीपक गिरीका अनुसार किशोरीहरूले फोन गरी प्रहरीको सम्पर्कमा आए पनि आफू रहेको ठाउँ बताएका थिएनन् । ‘उनीहरू रहेको ठाउँ पत्ता लगाउन लोकेसन ट्रयाक गर्नुपरेको थियो,’ उनले भने ।

डिएसपी गिरीका अनुसार किशोरीहरू मंगलबार बिहान ११ बजे घरबाट घुम्न जान्छु भनेर हिँडेको र साँझ ५ बजेसम्म घर नफर्केपछि परिवारजनले प्रहरीलाई जानकारी गरेका थिए । सम्पर्कविहीन रहेका किशोरीहरूको खोजतलासका क्रममा ढल्केबरमा फेला परेपछि उनीहरूलाई इलाका प्रहरी कार्यालय गौशाला महोत्तरीलाई जिम्मा लगाइएको थियो । 

प्रहरीका अनुसार किशोरीहरू घरबाट अर्केस्ट्रामा काम गर्छु भनेर घरमा नभनी सिरहाको मिर्चैया पुगेका थिए । उनीहरूले घरको मोबाइलमा टिकटक हेर्दै अर्केस्ट्राको पोस्टर हेरेर त्यहाँबाट नम्बर लिई फोन गरेर घरबाट ढल्केबर पुगेर अर्केस्ट्राका व्यक्तिले ढल्केबरबाट उनीहरूलाई सिरहाको मिर्चैया पुर्याएकाे थियाे । तर, त्यहाँ पुगेपछि बुबाआमाको माया र याद आएपछि किशोरीहरू घर फर्किरहेका थिए र सोही क्रममा प्रहरीले ढल्केबरबाट नियन्त्रणमा लिएकाे थियाे ।

इप्रका ढल्केबरले सम्पर्कमा आएका किशोरीहरूलाई गौशलाका प्रहरी निरिक्षक मनोज यादवलगायत अधिकारकर्मी तथा संचारकर्मीहरूबीच काउन्सिलिङ गरी औरही नगरपालिकाका मेयर प्रदीप खड्कामार्फत् अभिभावकको जिम्मा लगाइ घर पठाएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x