समाज

असुरक्षित बन्दै धनगढी-अत्तरिया ६ लेन सडक

छाडा चौपायामा ठोक्किएर ज्यान गुमाउँदै यात्रु

दीपक उपाध्याय |
कात्तिक १७, २०८० शुक्रबार १५:२९ बजे

कैलाली- धनगढीको मोहनापुलदेखि अत्तरियासम्मको १४ दशमलव २ किलोमिटर सडक खण्ड ६ लेन बनिसक्यो । ६ लेन सडक जति चाक्लो भयो उत्ति नै दुर्घटनाको भय पनि बढेको छ । तीव्र गतिमा सवारी साधन गुड्दा छाडा चौपायाकै कारण ६ लेन सडक खण्डमा सवारी दुर्घटनामा परेर यात्रुले ज्यान गुमाउनु परेको छ । 

धनगढी–अत्तरिया १४ दशमलव २ किलोमिटर सडक खण्डमा गत आर्थिक वर्षमा मात्रै २४ वटा सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका थिए । ती मध्ये ९ जना मानिसको त छाडा गाई गोरुमा सवारी साधन ठोक्किएर ज्यान गएको हो । यस्तै चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ३ वटा सडक दुर्घटना भएका छन् । जसमा १ जनाको छाडा गाईसँग ठोक्किएर दुर्घटनामा परेर घाइते भएका छन् । 


छाडा चौपाया दिनभर यता उति गए पनि बेलुकीको समयमा भने ६ लेन सडक खण्डमा आउने गरेका कारण बेलुकी तथा रातिको समयमा सडक दुर्घटनाका घटना घट्ने गरेका छन् । ६ लेन सडकसँग जोडिएको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाले छाडा चौपाया व्यवस्थापन गर्न नसक्दा सडकमा गाई गोरुले गर्दा सडक दुर्घटना बढ्दै गएको स्थानीय महेश जोशी बताउँछन् ।

‘रातिको समयमा ६ लेन सडकमा मोटरसाइकलमा यात्रा गर्दा झन कालो रंगको गाई गोरु देखिँदैन र सडक दुर्घटनाका घटना घट्ने गरेका छन्,’ उनले भने, ‘सडकमा बसेका गाई गोरुकै कारण सबैभन्दा बढी मोटरसाइकल चालकलाई समस्या भइरहेको छ ।’ सडक दुर्घटना चालक र यात्रु दुवैको लापरबाहीका कारण हुने गरेको भए पनि छाडा चौपायाले बाटो काटिदिँदा तथा रातिको समयमा सडकमा बसेका चौपाया नदेखिँदा ठोक्किएर बढी दुर्घटना भएको स्थानीय बताउँछन् । 

सो सडक क्षेत्रमा दुर्घटनाको अवस्था हेर्दा सबैभन्दा बढी मोटरसाइकल दुर्घटनामा पर्ने गरेको उनी बताउँछन् । ‘सबैभन्दा बढी मोटरसाइकल नै दुर्घटनामा पर्ने गरेका छन्,’ उनले भने,‘मादक पदार्थ सेवन गरेर अर्कालाई ठोक्ने र आफै पनि पल्टने मात्रै नभई गाई गोरुसँग ठोक्किएर पनि मर्ने तथा घाइते हुनेको संख्या बढ्दो छ ।’ 

गाई गोरुको घाँटी र सिङमा रेडियम

६ लेन सडक खण्डमा अत्यधिक सडक दुर्घटना हुन थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जुक्ति निकालेको छ । ट्राफिकले ६ लेन सडक खण्डमा देखिएका छाडा गाई गोरुको घाँटी तथा सिङमा रेडियम लगाउने गरेको हो । जसले गर्दा रातिको समयमा टाढैबाट गाई गोरुको घाँटी तथा सिङमा लगाइएको रेडियम चम्किने भएकाले सडक दुर्घटनाका घटना कम हुने निर्क्यौल निकाल्दै त्यस्तो गरेको जनाएको छ । 

धनगढी–अत्तरिया ६ लेन सडकमा भेटिने छाडा चौपायाको सिङ तथा घाँटीमा रेडियम (रिफ्लेक्टिक स्टिकर) लगाउने अभियान थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक दीपक मल्लले बताए । उनले सडक खण्डमा रातिको समयमा सवारी चालकको सहजताको लागि छाडा चौपायामा रेडियम लगाउन लागिएको बताए ।

रेडियम लगाउनुका साथै गाई गोरुलाई सडकबाट धपाउने कार्य पनि गरिरहेको बताउँदै प्रहरी निरीक्षक मल्लले छाडा गाई गोरुको घाँटी तथा सिङमा रेडियम बाँध्ने गरेको बताए । 

दिनमा भन्दा रातिको समयमा झन सडकमा बढी चौपाया हुँदा समस्या भएको चालकले गुनासो गरेका कारण आफूहरूले रेडियम बाँध्ने गरेको उनले बताए । छाडा चौपाया र चालकको सुरक्षाका लागि रेडियम बाँध्ने कार्य धनगढी उपमहानगरपालिकाको सहकार्यमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले थालेको हो ।


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x