समाज

महानगरका कारण चोकबाट गल्लीमा आइपुगेका एक कमलेश

अतिन आचार्य |
असोज २५, २०८० बिहीबार १७:२० बजे

काठमाडौँ- कमलेश दास कुवेत गएको एक वर्ष नपुग्दै फर्किए । अरबको मरुभूमिलाई बिदा गर्दै आठ महिनाअघि स्वदेशको आँगन टेक्न आइपुगे ।

कुवेत उनले सोचे जस्तो पाएनन् । तातो हावा र गर्मी अनि नेपालमा भोगेको अभावको तातोले झन् पिरोल्यो उनलाई  ।


अर्थ स्मार्ट ह्युमन रिसोर्सबाट कमलेश वैदेशिक रोजगारीका लागि त्यहाँ पुगेका थिए । सेक्युरिटी गार्डमा गए पनि उनले सम्झौता अनुसार काम र तलब पाएनन् । ८ घण्टाको १ सय २५ केडीको सम्झौता गरेका थिए उनले ।

'आठ घण्टाको १२५ केडी पाउने सर्तमा पुगे पनि दैनिक १६ घण्टा काम गर्नुपर्थ्यो,' उनले भने, 'सेक्युरिटी गार्डको काममा लगेको थियो तर, क्लिनरको काम गर्नुपर्यो ।'

उनको यो पीडा वैदेशिक रोजगारमा रहँदाको थियो । तर, अहिले पनि उनको व्यथा  ज्यूँका त्यूँ छन् । अहिलेको पीडा गरिबी र राज्यले दिएको सास्ती सडकमा बसेर बिताउँदै आएका छन् ।

समय फेरिए, उमेर बढे, स्थान बदलिए तर उनको दुःख र संघर्ष गर्ने शैली र मैदान बदलिएन । परिवार र जीवनको अभाव हटाउने आशामा विदेशिए पनि त्यही नियति पुनः उनको जीवनमा दोहोरियो ।

नियतिले कुवेत पुगे पनि अन्ततः स्वदेशको सडकमा आइपुगेका छन् । सडकमा व्यापार गरी हिँड्ने हिजोआज कमलेशको दैनिकी र समय फेरिएको छ ।

सर्लाही बरहथवा-३ का २४ वर्षीय कमलेश हिजोआज साँझ सडकमै भेटिन्छन् । काठमाडौँ महानगरले फुटपाथमा व्यापार व्यवसाय गर्न प्रतिबन्ध लगाएपछि उनी पैदल व्यापारी बनेका छन् । पैदललै काठमाडौँका चोक-चोक नाप्ने गरेका छन् ।

फुटपाथमा व्यापार गर्न महानगरले अवरोध गरेपछि काठमाडौँका गल्ली गल्लीमा व्यापार गर्नु परिरहेको उनी बताउँछन् ।

'महानगरको कारणले हामीलाई धेरै गाह्रो बनाएको छ । घरमा मासिक रूपमा पैसा पठाउने फुटपाथमा व्यापार गर्न नपाएपछि पैसा पठाउन सकेको छैन,' ठमेलको नरसिंहको चोकमा भेटिएका उनले भने, 'कहिले कहाँ पुगिन्छ कहिले कहाँ केही थाहा हुँदैन । दैनिक उभिएर गर्ने स्थान बदलिने गरेको छ ।'

महानगरले फुटपाथ व्यापारीलाई व्यवस्थित गरेमा साना व्यापारीले पैदलै व्यापार गर्न जानु नपर्ने उनको भनाइ छ । फुटपाथमा बसेर पनि व्यापार गर्न सक्ने व्यवस्था मिलाए केही दुःख कम हुने उनको बुझाइ छ । नगर प्रहरीले उनलाई पनि दुःख दिएको अनुभव सुनाए ।

साना लगानीकर्ताले व्यवसाय गर्न पाए हामी जस्ता व्यापारीलाई  जीवन धान्न सहज हुने उनी बताउँछन् । महानगरले फुटपाथ व्यवस्थित गर्ने नाममा साना व्यापारीको गाँस खोसेको उनले व्यथा पोखे ।

'दुई पटकसम्म महानगरका प्रहरीले सामान खोसेर लगेको थियो,' नगर प्रहरीले कुदाइ कुदाइ सामान खोसेको दिन सम्झँदै भन्छन्, 'एक पटक २ हजार र अर्को पटक २५ सयको सामान खोसेको थियो । सामान खोसेर लगेपछि प्रहरीले दिँदैनन् । जरिवाना तिर्छु भन्दा पनि दिँदैनन् ।'

उनले नगर प्रहरीबाट मात्र नभई अन्य व्यक्तिबाट सास्ती खेपेका छन् । बाटामा हिँडिरहेका केही व्यक्तिले गाली गरेर सामान खोस्ने र सामानको पैसा नतिर्ने गरेको तीतो अनुभव पनि उनीसँग छ । उनीहरूले मागेको सामान नदिए उल्टै कुटपिट गर्ने त्रास रहेको उनले बताए ।

'देशभित्र आफ्नै दाजुभाइले ठग्छन् । काम गरेर खानेलाई काम गर्न दिनुपर्छ,' सामान लुट्दाको क्षण सम्झँदै उनी भन्छन्, 'म दुःख गर्ने मानिस हुँ । काम नपाएर काम गर्न आएको मानिस हुँ ।'

व्यापार गर्नका लागि उनले दैनिक २० देखि २५ किलो मिटरसम्म पैताला सार्छन् । कलंकी, कालीमाटी, दरबार मार्ग र नयाँ बसपार्कसम्म हिँडेर पुग्छन् । उनको व्यापारिक थलो सडक बनेको छ ।

कमलेश सडक व्यापारी बन्न साँझ ६ बजेदेखि निस्कन्छन् । सडकमै ओहोरदोहोर गरेर ९ बजेसम्म बसेर व्यापार गर्छन् । क्षेत्रपाटीमा चार जना साथीसँग उनी बस्छन् । कोठाभाडा ६ हजार तिर्छन् र कोठाभाडा तिर्ने पैसा कमाइ हुन छाडिसकेको उनले बताए ।

उनका साथी पनि कमलेश जस्तै व्यापार गर्छन् । कमलेश सडकमा बेलुन बिक्री गर्छन् । एउटा बेलुनको दुई सय रुपैयाँ पर्ने उनले जानकारी दिए । पर्यटकीय क्षेत्रमा बसेर बिक्री गरे पनि उनका ग्राहक नेपाली हुन् ।

विभिन्न रंगका बेलुन बिक्री गरेर दैनिक ५ देखि ६ सय रुपैयाँ कमाइ हुने गरेको उनले बताए ।

कक्षा १० सम्म पढेका कमलेशले किशोरवयमा आर्थिक अवस्था कमजोर हुँदा पढाइ छोडे । बाध्यताले पढाइ पूरा गर्न नसकेकोमा उनी पछुतो मान्छन् ।

'पढेर इञ्जिनियर बन्न मन थियो । पढ्न नसकेकाले मानिस र सरकारको हेपाइ खाएर बस्नुपरेको छ,' उनले मलिन अनुहार बनाएर भने, 'गरिबलाई घर र सडकमा सुख छैन भनेको सायद यहीँ रहेछ ।'

त्यसो त उनले काठमाडौँ प्रवेश गरेदेखि संघर्षका दिन बिताएका छन् । तीन वर्षअघि काठमाडौँ टेकेका उनले । सुरुवातीदेखि संघर्षका पाइला चालेका छन् ।

उनले सार्वजनिक यातायातमा पानी र पुष्टकारी बेच्ने पनि काम गरे । 'पानी र पुष्टकारी बेचेरै घरमा मासिक ८ देखि १० हजार घरमा पठाउँथे,' विगत सम्झँदै उनले सुनाए, 'कालीमाटीको कपडा पसलमा ७ हजार तलबमा पनि काम गरेको थिएँ ।'


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x