समाज

कोशीटप्पु आइपुगे पुष्पा र अञ्जली, एक महिनासम्म खोरमा राखेर आरक्षमा छाडिने

बाबुराम भण्डारी |
असोज १०, २०८० बुधबार १२:५९ बजे

विराटनगर । १३ वटा अर्ना पठाएको साटोमा चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएका दुई गैंडा ‘पुष्पा’ र ‘अञ्जली’ कोशी टप्पु वन्यजन्तु आरक्षमा ओर्लिएका छन् । दुई पोथी गैंडा अर्थात केटीहरुलाई कोशीटप्पु आरक्षको सप्तरीस्थित पथरी सेक्टरमा तयार पारिएको खोर (इन्क्लोजर) भित्र बस्ने व्यवस्था मिलाइएको छ ।

पुष्पा र अञ्जलीलाई मंगलबार बेलुका चितवन राष्ट्रिय निकुञ्जबाट अलग–अलग खोरमा राखेर बुधबार बिहान कोशी टप्पु वन्यजन्तु आरक्षमा बनाइएको इन्क्लोजरमा उतारिएको हो ।


दुवैलाई केही दिन आरक्षकै निगरानीमा राखेर घुलमिल गराएर आरक्षको खुल्ला वातावरणमा छाडिने तयारी रहेको छ । पुष्पा र अञ्जलीलाई लिएर चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुन र बरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठ नेतृत्वको टोली समेत आरक्ष आइपुगेको जनाइएको छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षका निमित्त संरक्षण अधिकृत रमेश यादवका अनुसार दुवै गैंडालाई एक महिनासम्म खोरमा संरक्षण गरेर वातावरणीय प्रभावको अध्ययन गरिने जानकारी दिए । त्यसपछि मात्रै आरक्षको खुल्ला वातावरणमा छाडिने बताए ।

पुष्पाको उमेर ३ वर्ष ९ महिना तथा अञ्जलीको उमेर साढे २ वर्ष रहेको छ । चितवन राष्ट्रिय निकुञ्जले टुहुरो अवस्थामा उद्दार गरेका उनीहरु मान्छेसँग नजिकिएर हुर्किएका थिए ।

कोशी टप्पु आरक्ष गैंडाको बासस्थानका लागि उपयुक्त देखिएको प्रतिवेदनका आधारमा पहिलो चरणमा दुईवटा पोथी गैंडा ल्याइएका हुन् । उनीहरुलाई आरक्षको वातावरणमा हुर्किनका लागि आरक्षकै सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले समेत निगरानीमा राख्ने जनाइएको छ ।

नेपालमा ७५२ वटा एकसिंगे गैडा रहेका छन् । गैंडाको अधिकतम् उमेर ७० वर्षसम्म हुने गरेको संरक्षणविद्हरुको भनाई छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x