समाज

काठमाडौँ महानगरमा भोलिदेखि पठनपाठन सुचारु हुने

इकागज |
असोज ३, २०८० बुधबार १६:५३ बजे

फाइल तस्बिर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका विद्यालयमा भोलिदेखि नियमित रूपमा पठनपाठन हुने भएको छ । काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले महानगरभित्रका विद्यालयमा भोलि बिहीबारदेखि पढाइ सुचारु हुने बताएका हुन् ।

नेपाल शिक्षक महासङ्घको नेतृत्वमा काठमाडौँ केन्द्रित आन्दोलन सुरु भएपछि महानगरभित्रका विद्यालयमा पठनपाठनमा अवरुद्ध भएको थियाे । उक्त आन्दोलन पश्चात् पनि विद्यालयमा विद्यार्थीले पढ्न पाउनु पर्ने माग प्रवक्ता मानन्धरकाे छ ।


विद्यालय बन्द नगर्न र विद्यार्थीको पढ्न पाउने हक अधिकार हनन नगर्न महानगरले आफ्नो मातहतका विद्यालयका शिक्षकलाई आग्रह गरिसकेको मानन्धरको भनाइ छ ।  

'विद्यालय बन्द गरेर विद्यार्थीको पढ्ने अधिकार हनन गर्न पाइँदैन । विद्यालय खुल्छन् । महानगरपालिका मातहतका विद्यालय भोलि सबै खुला गर्न आग्रह गरिएको छ,' उनले भने ।

महानगरपालिकाले शिक्षक कर्मचारीलाई बन्द हडताल नगर्न चेतावनी दिँदै आएको थियो । विद्यालय शान्ति क्षेत्र भएकाले विद्यालयका शिक्षक कर्मचारी बन्द हडतालमा उत्रिएको खण्डमा सेवाबाट बर्खास्त गर्ने चेतावनी यसअघि पनि दिइएको थियो ।

बुधबार शिक्षक महासंघले माइतीघरदेखि बानेश्वरसम्म शिक्षकले आन्दोलन गरेका थिए । आन्दोलनमा देशभरका शिक्षक सहभागी भएका थिए ।

 


Author

थप समाचार
x