समाज

पत्थरीको शल्यक्रियाका क्रममा बिरामीको मृत्यु भएपछि कैलालीको स्वस्तिक अस्पतालमा तनाव

इकागज |
भदौ ११, २०८० सोमबार १५:१२ बजे

कैलाली- कैलालीको धनगढीस्थित स्वस्तिक कार्डियो एन्ड मल्टिस्पेसियालिटी अस्पतालमा तनावको स्थिति सृजना भएको छ । पत्थरीको शल्यक्रियाका क्रममा बिरामीको मृत्यु भएपछि ​अस्पतालमा तनावको स्थिति सृजना भएको हाे । मृतकका आफन्तहरूले डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भन्दै शव नबुझ्ने बताएका छन् ।

अस्पताल प्रशासनले भने लापरबाहीका कारण नभइ ‘दुर्घटनावश’ बिरामीको मृत्यु भएको बताउँदै आएको छ ।


दुई पक्षीय सहमतिका लागि अस्पतालमा छलफल भने जारी छ । मृतकका आफन्त र अस्पताल प्रशासन बीच छलफल भइरहेको छ ।

घटना विवरण 

दुवै मिर्गौलामा ११ र ९ एमएमका दुई पत्थरी देखिएका कञ्चनपुरको बेलौरी नगरपालिका–१०, शिवनगरका ५७ वर्षीय ऐजनलाल चौधरीलाई शनिबार दिउँसो अस्पतालमा भर्ना गरिएको थियो ।

शनिबार दिउँसो नै उनको पीसीएनएल विधिबाट बायाँ मिर्गौलामा रहेको पत्थरी झिकिएको थियो । तर, साँझ ८ बजे चौधरी बेहोस भएको र निरन्तर रक्तस्राव भएको मृतकका आफन्तले बताएका छन् । मिर्गौलाको नशा काटिएर रक्तस्राव भइ पेट फुलेको आफन्तको भनाइ छ ।

रक्तस्राव नरोकिएपछि चिकित्सकले बायाँ मिर्गौला शल्यक्रिया गरी झिकेका थिए । त्यसपछि अवस्था जटिल भएका चौधरीको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा आइतबार बिहान ९ बजेतिर उनको  मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । 

अस्पतालका अध्यक्ष महेश जोशीले लापरबाहीका कारण नभइ दुर्घटनावश बिरामीको मृत्यु भएको बताए ।  उनले अत्यधिक रक्तस्राव भएपछि मिर्गौला निकाल्नुको विकल्प नरहेको बताउँदै अस्पतालको लापरबाहीले नभएर उनको उपचारकै क्रममा मृत्यु भएको बताए ।


Author

थप समाचार
x