समाज

शहीदनगर नगरपालिकाका दुई कर्मचारी घुससहित पक्राउ

सुभाष कर्ण |
साउन २८, २०८० आइतबार १८:१२ बजे

फाइल तस्बिर

जनकपुरधाम- धनुषाको मिथिला बिहारी नगरपालिकामा छापामारी गरेकै दिन आइतबार नै दिउँसो शहीदनगर नगरपालिकाका दुई कर्मचारीलाई अख्तियारको टोलीले घुससहित पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटेको अनुसन्धान अधिकृतले शहिदनगर नगरपालिकाका इन्जिनियरसहित दुई जना कर्मचारीलाई दुई लाख रुपैयाँ घुससहित पक्राउ गरेको हाे ।


अख्तियारको टोलीले विशेष सूचनाका आधारमा उक्त पालिकाका इन्जिनियर रमेशकुमार चौधरी र सहयोगी गरुदेव यादवलाई पक्राउ गरेको अख्तियारका बर्दिबासका कार्यालय प्रमुख रामबहादुर कुरुवाङ्गले जनाएका छन् ।

गोठकोयलपुरका विद्यालयको पर्खाल निर्माण बापत ठेकेदारसँग पटक पटक रकम माग गर्दै आएकोमा इन्जिनियर चौधरीले १ लाख नगद र सोही बराबरको चेक लिएको अवस्थामा अख्तियारका टोलीले पक्राउ गर्नमा सफल भएको अख्तियार बर्दिबास कार्यालय प्रमुख कुरुवाङ्गले जानकारी दिएका छन् । 

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि टोलीले सम्बन्धित कागजातसहित आफ्नो साथमा लगेको बताइएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x