समाज

ल्हारक्याल लामाले लुम्बिनीमा गरे पदभार ग्रहण

उनले भने : बदनाम हुने कुनै काम गर्ने छैन

इकागज |
साउन २५, २०८० बिहीबार १८:३६ बजे

बुटवल- नवनियुक्त लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ)ले बिहीबार पदभार ग्रहण गरेका छन् । बुद्ध जन्मस्थल लुम्बिनीस्थित कोषको प्रधान कार्यालयमा नवनियुक्त उपाध्यक्ष लामाले पदभार ग्रहण गरी औपचारिक रूपमा कार्यभार सम्हालेका हुन् । चौतर्फी आलोचनाका बीच लामाको पदभार ग्रहणलाई महत्वका साथ हेरिएको छ ।

उनलाई कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई लगायतले खादा ओढाएर कार्यालयमा स्वागत गरे । उपाध्यक्ष लामाले बुद्ध जन्मस्थल लुम्बिनीबाट ७ किलोमिटर दक्षिण निपनियास्थित दानव नदी किनारमा बाढीको जोखिममा रहेको कुषाणकालिन इट्टाले बनेको इनारको उद्धार संरक्षण उत्खनन गर्ने निर्णय सदर गरेका छन् ।


पदभार ग्रहण अघि कोषका तर्फबाट आयोजित स्वागत कार्यक्रममा बोल्दै लुम्बिनीको गरिमालाई उँचो राख्दै काम गर्ने प्रतिबद्धता जनाए । उनले गौतमबुद्ध र मायादेवीलाई साक्षी राखेर लुम्बिनी जस्तो पवित्र ठाउँको बदनाम नगर्ने बताए ।

उनले आफू लामो समयदेखि बुद्धमार्गमा हिँड्दै बुद्धकै सन्देश फैलाउने काम गरेको बताउँदै उपाध्यक्षको भूमिकामा रहँदा लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरसम्म प्रचार गर्ने जिकिर गरे । उनले बुद्ध जन्मस्थललाई विश्वले नै श्रद्धाका साथ हेर्ने थलो भएकाले यसको गरिमा बढाउने गरी काम गर्न आफू पदाधिकारी, कर्मचारी र स्थानीयहरूसँग हातेमालो गरेर अगाडि बढ्ने बताए ।

उनले आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म कुनै पनि प्रकारको गलत काम नगर्ने प्रतिबद्धता सकेत व्यक्त गरे । ‘मान्छे हो, कहिलेकाहीँ बुझाइमा समस्या हुन सक्ला तर, मेरो बुद्धि विवेकले भ्याएसम्म लुम्बिनीको इज्जत जाने कुनै काम गर्ने छैन, व्यक्तिगत लाभ लिने काम गर्ने छैन,’ उनले भने । 

उपाध्यक्ष लामाले विश्वमा मानव रहँदासम्म बुद्ध र लुम्बिनीको महत्व रहने बताउँदै विश्वभरका पर्यटकलाई लुम्बिनी ल्याउने वातावरणका लागि आफूले हालसम्म प्राप्त गरेको अनुभवहरू प्रयोग गर्ने बताए । 

यसअघिका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेश त्रिपाठी)को कार्यकाल साउन ९ गते सकिएपछि पुष्मकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले साउन १६ गते  डा.लामालाई उपाध्यक्षका रूपमा नियुक्त गरेको हो ।


Author

थप समाचार
x