समाज

अनुहारको विकृति सम्बन्धी समस्याको नि:शुल्क उपचार जनकपुरधाममा सुरु

सुभाष कर्ण |
साउन २०, २०८० शनिबार १७:३७ बजे

 जनकपुरधाम- नेपालमै पहिलो पटक अनुहारका विकृति सम्बन्धी उपचारको जनकपुरधाममा अस्पताल स्थापना हुने भएको छ । शनिबार जनकपुरधाममा आयोजित एक समारोहका बीच स्थापना हुने अस्पतालको मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले शिलान्यास गरेका छन् । अस्पतालको शिलान्याससँगै उपचार सेवा पनि शनिबारदेखि नै सुरु भएको छ । 

आम नागरिकलाई निःशुल्क उपचार सेवा दिने उद्देश्यले विश्वविख्यात क्रेनियोफेसियल प्रा.डा. हर्मन सेलरद्वारा स्थापित क्लेफ्ट चिल्ड्रेन इन्टरनेसनलको फ्रेन्चाइजीका रूपमा  नेपालमा  पनि  पहिलो  पटक  नेसनल  इन्स्टिच्युट  अफ क्रेनियोफेसियल सर्जरी  स्थापना भएको हो । जसको शाखा जनकपुरधाममा स्थापना गरिएको हो । 


अन्तर्राष्ट्रिय संस्था क्लेफ्ट चिल्ड्रेन इन्टरनेसनलको आर्थिक सहयोगमा सञ्चालमा आएको अनुहारको विकृति सम्बन्धी उपचार सेवा क्रेनियोफेसियल सर्जन डा. सुमित सिंहको पहलमा नेपालमै पहिलो रहेको छ । यो उपचारको नि:शुल्क सेवा नेपालसँगै भारत र अफ्रिकामा पनि सञ्चालनमा छ । ३१८ जनाको ठाउँमा ३२४ जनाको उपचार सेवा काठमाडौँमा दिइरहेकोमा ७२ जना जनकपुरधाम क्षेत्रकै रहेकाले उनीहरूलाई सेवा दिन जनकपुरधाममा सेवा विस्तार गरिएको जनाइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रमुख हरिशंकर मिश्रले अनुहारको विकृति सम्बन्धी समस्याको नि:शुल्क उपचारले मधेश प्रदेशका जनताको सुखद क्षण रहेकाले यसको फाइदा उठाउन सबैसँग आग्रह गरे ।

त्यस्तै विशिष्ट अतिथि प्रदेश सरकारका बिनाविभागीय मन्त्री सुरिता साहले लाखौं रुपैयाँ खर्चेर पनि यस किसिमको समस्याको उपचार नहुने भएको अवस्थामा नि:शुल्क उपचार सेवा पाउन’ मधेश प्रदेशका लागि यो सौभाग्यको कुरा हो । यस्ता परोपकारी कामका लागि प्रदेश सरकारबाट हुने सहयोग आफू गर्न तयार रहेको प्रतिबद्धता जनाइन् ।

शिलान्यास कार्यक्रममा अर्का विशिष्ट अतिथि वरिष्ठ चिकित्सक डा. विजयकुमार सिंहले चिकित्सा क्षेत्रमा विकृति रहेको अवस्थामा अनुहारको विकृति सम्बन्धी समस्याको नि:शुल्क उपचारको सेवाले यहाँका जनताका लागि अति नै खुसीको खबर रहेकाले यसमा सबैले सहयोग गर्न आवश्यक रहेको बताए ।

नेपालमा हरेक आठ सयमा एक जनामा खुँडोपना तथा अनुहारको विभिन्न विकृतिसम्बन्धी समस्या हेको बताउँदै डा. सिंहले सोको उपचारका आफ्नै अगुवाइमा हुने जनकपुरधाममा आफ्नै आर्थिक लगानीमा सुविधासम्पन्न अस्पताल निर्माणको काम पनि उपचारसँगै सुरु हुने जानकारी दिए । साथै करिब डेढ वर्षभित्र नक्खुमा सञ्चालनमा आउने र बसुन्धरास्थित केडीसी जेनरल हस्पिटलका अध्यक्ष डा. बुस्थिमान श्रेष्ठको सहकार्यमा नि:शुल्क उपचार सेवा यसै सातादेखि सञ्चालन हुने जानकारी समेत दिए । 

सिंहका अनुसार पहिलो चरणमा प्रत्येक वर्ष ५ सय जनालाई नि:शुल्क सेवा दिने र अस्पताल पूर्ण रूपमा सञ्चालनमा आएपछि वार्षिक एक हजार ५ सय जनालाई सेवा दिने योजना रहेको बताए । उनका अनुसार यस किसिमका समस्याका बिरामीको उपचार पूरा गर्न ६ चरण पार गर्नपर्छ । उपचार पूरा नहुन्जेलसम्म बिरामीको साथमा आउने एक जना कुरुवाको समेत यातायात, खाना, खाजाको खर्च समेत व्यहोर्ने उनले बताए । 

बिरामीको अवस्था हेरी एक व्यक्तिको २० हजारदेखि २० लाखसम्म खर्च लाग्ने उनले बताए । खुँडाेपन तथा अनुहारका हड्डीहरूको गडबडीबाट समस्या भोगिरहेका व्यक्तिलाई उच्च स्तरीय उपचार पद्धतिबाट उपचार गरी उनीहरूको जीवनस्तरमा सुधार ल्याउनु आफ्नो प्रमुख उद्देश्य रहेको उनले बताए ।

अनुहारमा विकृति सम्बन्धीको उपचार नि:शुल्क उपलब्ध गरे पनि सोही छातामुनि नेशनल सेन्टर फर टिएमजे डिसअर्डर, फेसियल प्लास्टिक एण्ड एस्थेटिक्स, नेशनल फर क्रेनियो मेक्सिलो फेसियल ट्रमा, नेसनल सेन्टर फर इम्पालन्टोलोजी लगायतका विभाग अन्तर्गत अन्य विभिन्न सेवा तथा उपचारहरू सशुल्क प्रदान गरिने उनले बताए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x